नेपालमा बाढीबाट ९० अमेरिकी प्रभावित भएको अमेरिकी विदेश मन्त्रालयको भनाइ
अमेरिकी विदेश मन्त्रालय । (आधिकारिक विदेश मन्त्रालयको तस्बिर लिन्डा डी एपस्टाइन)
अमेरिकी विदेश मन्त्रालयले नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीबाट करिब ९० जना अमेरिकी प्रभावित भएको हुन सक्ने जनाएको छ। मन्त्रालयले नेपालमा तीन जना अमेरिकी नागरिकलाई सुरक्षित रूपमा उद्धार गरिएको पुष्टि गर्दै हालसम्म कुनै अमेरिकी नागरिकको मृत्यु भएको जानकारी प्राप्त नभएको जनाएको छ।
खसोखासको जिज्ञासाको जवाफ दिँदै अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले बिहीबार बिहान ८ बजेसम्म अमेरिकी नागरिकको मृत्यु भएको कुनै जानकारी प्राप्त नभएको बताएका हुन्।
“अगस्ट २७ बिहान ८ बजेसम्म विदेश मन्त्रालय नेपाल–चीन सीमापार क्षेत्रमा आएको बाढीबाट करिब ९० जना अमेरिकी प्रभावित हुन सक्ने विषयमा जानकार छ र अवस्थालाई नजिकबाट निगरानी गरिरहेको छ। नेपालमा तीन जना अमेरिकी नागरिकलाई सुरक्षित रूपमा उद्धार गरिएको हामी पुष्टि गर्न सक्छौँ। यस समयसम्म कुनै अमेरिकी नागरिकको मृत्यु भएको जानकारी हामीसँग छैन,” प्रवक्ताले भने।
“अमेरिकीहरूको सुरक्षा र संरक्षणभन्दा ट्रम्प प्रशासनका लागि उच्च प्राथमिकताको विषय अर्को छैन,” प्रवक्ताले थपे।
अमेरिकी विदेश मन्त्रालयका अनुसार नेपाल र चीनस्थित अमेरिकी दूतावासहरूले स्थानीय अधिकारी तथा भ्रमण र ट्रेकिङ कम्पनीहरूसँग समन्वय गरी प्रभावित क्षेत्रमा रहेका अमेरिकीहरूलाई सहयोग गरिरहेका छन्। नेपालमा नेपाली नेतृत्वमा खोज तथा उद्धार अभियान जारी रहेको छ।
विदेश मन्त्रालयले विपद् प्रतिकार्यसम्बन्धी एक सल्लाहकारलाई प्रभावित क्षेत्रमा पठाएको जनाएको छ। साथै, क्याथोलिक रिलिफ सर्भिसेससँगको विश्वव्यापी सहयोगअन्तर्गत ५ लाख अमेरिकी डलर उपलब्ध गराउने भएको छ। उक्त रकम नेपालका बाढी प्रभावित समुदायमा आपत्कालीन आश्रय, राहत सामग्री तथा खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी सहयोगमा प्रयोग गरिने प्रवक्ताले बताए।
मन्त्रालयले प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकलाई स्थानीय आपत्कालीन निर्देशन पालना गर्न, स्थानीय समाचार निगरानी गर्न तथा आपत्कालीन सूचनाका लागि विदेश मन्त्रालयको स्मार्ट ट्राभलर इन्रोलमेन्ट प्रोग्राममा STEP.state.gov दर्ता हुन आग्रह गरेको छ।
नेपालको रसुवा वा अन्य प्रभावित क्षेत्रमा रहेका अथवा हालै त्यहाँबाट यात्रा गरेका अमेरिकीहरूले आफ्नो पूरा नाम, हालको स्थान, अवस्था तथा आफू आबद्ध भ्रमण वा ट्रेकिङ कम्पनीको नामसहित मा इमेल गर्न मन्त्रालयले आग्रह गरेको छ।
चीनको ग्यिरोङ काउन्टी, ग्यिरोङ बन्दरगाह वा अन्य प्रभावित क्षेत्रमा रहेका अमेरिकीहरूले सुरक्षित भएपछि बेइजिङस्थित अमेरिकी दूतावासको आपत्कालीन सहायता अनुरोध प्रणाली मार्फत सम्पर्क गर्न मन्त्रालयले भनेको छ। उनीहरूले आफ्नो नाम, स्थान र अवस्था खुलाउनुपर्नेछ।
नेपालमा रहेका आफन्तबारे जानकारी लिन चाहने अमेरिकी नागरिकले अमेरिका र क्यानडाबाट १–८८८–४०७–४७४७ तथा अन्य स्थानबाट १–२०२–५०१–४४४४ मा फोन गर्न सक्नेछन्। चीनमा रहेका आफन्तबारे जानकारी लिन चीनभित्रबाट ०१०–८५३१–४००० वा अमेरिकाबाट ०११–८६–१०–८५३१–४००० मा सम्पर्क गर्न सकिनेछ।
६५ अमेरिकी नागरिकको नाम सार्वजनिक
नेपाल प्रहरीले ६५ जना अमेरिकी नागरिकको नाम सार्वजनिक गरेको छ। भोटेकोशी नदी तथा अन्य विपद् प्रभावित क्षेत्रमा आएको विनाशकारी बाढीपछि उनीहरू सम्पर्कविहीन भएको जनाइएको छ। प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियान जारी छ।
अमेरिकी विदेश मन्त्रालयले बाढीबाट करिब ९० जना अमेरिकी प्रभावित हुन सक्ने जनाएको छ। यो संख्या नेपाल प्रहरीले प्रारम्भिक रूपमा सार्वजनिक गरेको सम्पर्कविहीन ६५ अमेरिकी नागरिकको सूचीभन्दा फराकिलो हो। विदेश मन्त्रालयले बिहीबार बिहान ८ बजेसम्म नेपालमा तीन जना अमेरिकी नागरिकलाई सुरक्षित रूपमा उद्धार गरिएको पुष्टि गरेको तथा कुनै अमेरिकी नागरिकको मृत्यु भएको जानकारी नरहेको जनाएको छ।

नेपाल प्रहरीले ६४४ जना नेपाली तथा विदेशी नागरिक अझै सम्पर्कविहीन रहेको जनाएको छ। पछिल्लो प्रहरी विवरणअनुसार सम्पर्कविहीनमध्ये १७८ जना भारतीय, ६५ जना अमेरिकी, ५३ जना युक्रेनी, ३५ जना अस्ट्रेलियाली, ३३ जना बेलायती र १२७ जना नेपाली नागरिक रहेका छन्।
प्रहरीका अनुसार पुष्टि भएको मृत्यु हुनेको संख्या ३८९ पुगेको छ। चितवनमा १३७ शव फेला परेका छन्। त्यसपछि नवलपरासी पूर्वमा ८७, धादिङमा ३३, गोरखामा ३२, नुवाकोट र तनहुँमा २८–२८, नवलपरासी पश्चिममा २७ तथा रसुवामा १७ शव फेला परेका छन्।
खोज, उद्धार तथा शव व्यवस्थापनका लागि ८ हजार ३४८ जना प्रहरी परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरीका २८ जना अधिकारीसमेत अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ४६६ जनाको उद्धार वा घाइतेको उपचार गरिएको छ। तीमध्ये रसुवामा २८९, नुवाकोटमा ९०, काठमाडौंमा ८४ र धादिङमा तीन जना रहेका छन्।
नेपाल–तिब्बत सीमासहित प्रभावित क्षेत्रमा सञ्चार तथा यातायातका मार्गहरूमा गम्भीर अवरोध आएको छ। यसले सम्पर्कविहीन व्यक्तिको खोजी, सम्पर्क पुनःस्थापना र उनीहरूको अवस्थाको यकिन गर्न कठिनाइ थपेको छ।
सम्पर्कविहीन अमेरिकीमा न्युयोर्कका पनि
न्युयोर्ककी १४ वर्षीया रसी शशिधरन र उनकी आमा ५४ वर्षीया रेखा शशिधरन बुधबार विपद् सुरु भएयता नेपालमा सम्पर्कविहीन रहेको परिवारका एक सदस्यले बताएका छन्।
रसी र रेखा सँगै यात्रा गरिरहेका थिए। बाढी आउनुभन्दा एक घण्टाभन्दा केही बढीअघि बुधबार स्थानीय समयअनुसार बिहान करिब ७:३० बजे उनीहरूले परिवारसँग अन्तिमपटक कुराकानी गरेका थिए।
नेपयोर्कले नेपाल प्रहरीद्वारा सार्वजनिक गरिएको सूची समीक्षा गर्दा रसी र रेखा दुवै सम्पर्कविहीन अमेरिकी नागरिकको सूचीमा रहेको पाइएको छ।
प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियान जारी रहेकाले उनीहरूको अवस्थाबारे परिवारले जानकारीको खोजी गरिरहेको छ।

सम्पर्कविहीन अमेरिकी नागरिकको सूचीमा ६५ वर्षीय रमेश शर्मा र ६४ वर्षीया नीलमकुमारी शर्मा पनि रहेका छन्। उनीहरूकी छोरी राधिका शर्माले नेपाल–चीन सीमामा आएको बाढीपछि आफ्ना आमाबुवासँग सम्पर्क हुन नसकेको भन्दै सामाजिक सञ्जालमार्फत अपिल गरेकी छन्।
उनले नेपाल, तिब्बतको ग्यिरोङ, सम्बन्धित क्षेत्रका अस्पताल, उद्धार टोली, सरकारी निकाय तथा सञ्चारमाध्यममा सम्पर्क भएका व्यक्तिहरूलाई आफ्ना आमाबुवाबारे कुनै जानकारी भए उपलब्ध गराउन आग्रह गरेकी छन्।
नेपयोर्कले नेपाल प्रहरीले सार्वजनिक गरेको सूची समीक्षा गर्दा रमेश शर्मा र नीलमकुमारी शर्मा दुवै सम्पर्कविहीन अमेरिकी नागरिकको सूचीमा रहेको पुष्टि गरेको छ।
नेपाल प्रहरीले सम्पर्कविहीन व्यक्तिको संख्या प्रारम्भिक रहेको र उद्धार टोली दुर्गम तथा सम्पर्कविहीन समुदायसम्म पुग्दै जाँदा, सञ्चार सेवा पुनःस्थापित हुँदै जाँदा तथा मृतकको पहिचान हुँदै जाँदा यो संख्या परिवर्तन हुन सक्ने जनाएको छ।





