‘तपाईंहरू एक्लो हुनुहुन्न’: नेपालमा बाढीको विनाशपछि न्युयोर्कका मेयर ममदानीको समवेदना सन्देश


प्रकाशित मिति : ११ भदौ २०८३, बिहिबार

नेपाल-तिब्बत सीमा क्षेत्रमा गएको भीषण पहिरो र बाढीका कारण सयौँ मानिसको मृत्यु हुनुका साथै धेरै बेपत्ता भएपछि न्युयोर्क सहरका मेयर जोहरान क्वामे ममदानीले यहाँ बसोबास गर्ने नेपाली तथा तिब्बती समुदायप्रति समवेदना प्रकट गर्दै ऐक्यबद्धता जनाएका छन्।

“हजारौँ न्युयोर्कवासीहरूले हिजो घरबाट अत्यन्तै हृदयविदारक समाचार सुनेर बिहान बिताए,” मेयर ममदानीले बिहीबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, “नेपाल-तिब्बत सीमा क्षेत्रको बाढीले सयौँ मानिसको ज्यान लिएको छ र अझै पनि बेपत्ता भएकाहरूको खोजतलास जारी छ।”

तिब्बत क्षेत्रमा हिमनदी र बरफ-चट्टान खसेर आएको पहिरोका कारण भोटेकोशी र त्रिशूली नदीमा भीषण बाढी आएको थियो। उक्त बाढीले नेपालको रसुवा जिल्लाका सीमावर्ती बस्तीहरूमा ठूलो क्षति पुर्‍याउँदै नुवाकोट, धादिङ, गोरखा र चितवनसम्म विनाश फैलाएको छ।

नेपाल प्रहरीले बिहीबार अपराह्न सार्वजनिक गरेको अध्यावधिक विवरण अनुसार बाढीका कारण हालसम्म ३५९ जनाको शव फेला परेको छ। घटनामा २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन् भने उद्धार तथा राहत कार्यका लागि ८,३४८ जना प्रहरी परिचालन गरिएको छ। त्यस्तै, घाइते भएका ६३ जनाको काठमाडौँका विभिन्न अस्पतालहरू (त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र राष्ट्रिय ट्रमा सेन्टर लगायत) मा उपचार भइरहेको छ।

उत्तरी अमेरिकामा बसोबास गर्ने हिमाली समुदायको ठूलो हिस्सा न्युयोर्क सहरमा छ। विशेष गरी क्विन्सका ज्याक्सन हाइट्स, वुडसाइड र एल्महर्स्ट क्षेत्रमा नेपाली र तिब्बती समुदायको बाक्लो उपस्थिति रहेको छ।

प्राकृतिक विपत्तिका कारण सहरका पाँचवटै बरोमा बसोबास गर्ने प्रवासी परिवारहरूमा परेको गहिरो चोटलाई सम्बोधन गर्दै मेयरले सहर प्रशासन उनीहरूको साथमा रहेको प्रतिवद्धता व्यक्त गरे।

“हाम्रा नेपाली र तिब्बती छिमेकीहरू: आफूले छोडेर आएको तर अझै पनि आफ्नै घर मान्ने ठाउँका लागि शोक मनाउनुको पीडा यो सहरलाई राम्रोसँग थाहा छ,” ममदानीले लेखेका छन्, “तपाईंहरू यो पीडा सहन एक्लै हुनुहुन्न।। न्युयोर्क सहर तपाईंहरूको साथमा उभिएको छ।”

सञ्चार सम्पर्क पुनःस्थापित हुन थालेसँगै न्युयोर्कका स्थानीय सामाजिक संघ-संस्थाहरूले प्रभावित क्षेत्रका लागि आपत्कालीन राहत र सहयोग संकलनका प्रयासहरू सुरु गरिसकेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com