आयात १२.५% ले बढ्दा अमेरिकी आर्थिक वृद्धिमा गिरावट, उपभोक्ता खर्च ३.४% ले वृद्धि
Photo: Nathália Rosa/ Unsplash
अप्रिलदेखि जुनसम्मको दोस्रो त्रैमासिकमा अमेरिकी अर्थतन्त्र १.५ प्रतिशतको सुस्त गतिमा मात्र वृद्धि भएको छ। यद्यपि, यस अवधिमा उपभोक्ता खर्च भने बलियो अवस्थामै रहेको छ।
अमेरिकी वाणिज्य मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार, देशको कुल गृहस्थ उत्पादनको वृद्धि दर जनवरीदेखि मार्चसम्मको पहिलो त्रैमासिकमा २.१ प्रतिशत रहेकोमा दोस्रो त्रैमासिकमा घटेर १.५ प्रतिशतमा सीमित भएको हो। दोस्रो त्रैमासिकको यो वृद्धि दर विभागको पहिलो अनुमान अनुसार नै यथावत छ।
अमेरिकी आर्थिक गतिविधिको करिब ७० प्रतिशत हिस्सा ओगट्ने उपभोक्ता खर्चमा भने राम्रो सुधार आएको छ। पहिलो त्रैमासिकमा ०.५ प्रतिशत मात्र रहेको उपभोक्ता खर्च दोस्रो त्रैमासिकमा बढेर वार्षिक ३.४ प्रतिशत पुगेको छ।
आर्थिक वृद्धि सुस्त हुनुको मुख्य कारण आयातमा भएको वृद्धि हो। कुल गृहस्थ उत्पादनमा स्वदेशी उत्पादन मात्र गणना गरिने भएकाले आयातलाई कुल वृद्धिबाट घटाइन्छ। अप्रिलदेखि जुनसम्मको अवधिमा कृत्रिम बौद्धिकता क्षेत्रको लगानीलाई सघाउने कम्प्युटर चिप्स लगायत अन्य सामानको आयात १२.५ प्रतिशतले बढेको थियो, जसका कारण दोस्रो त्रैमासिकको कुल गृहस्थ उत्पादन वृद्धि दरमा १.६४ प्रतिशतको गिरावट आयो।
इरानसँगको तनाव र त्यसका कारण इन्धनको मूल्यमा भएको वृद्धि जस्ता चुनौतीका बाबजुद अमेरिकी अर्थतन्त्र अपेक्षाकृत लचिलो देखिएको छ। आवास बाहेकको व्यावसायिक लगानी दोस्रो त्रैमासिकमा ८.५ प्रतिशतले बढेको छ, जसले मुख्य रूपमा एआई क्षेत्रमा भइरहेको लगानीलाई दर्शाउँछ। त्यसैगरी, अस्थिर मानिने सरकारी खर्च र वैदेशिक व्यापारलाई हटाएर हेरिने अर्थतन्त्रको आन्तरिक सूचक पहिलो त्रैमासिकको १.७ प्रतिशतबाट बढेर दोस्रो त्रैमासिकमा ४.२ प्रतिशत पुगेको छ।
उच्च मोर्गेज दरका कारण सुस्त बनेको आवास क्षेत्रको लगानीमा पनि सन् २०२४ को अन्त्यपछि पहिलोपटक केही सुधार देखिएको छ। वाणिज्य मन्त्रालयले दोस्रो त्रैमासिकको कुल गृहस्थ उत्पादन सम्बन्धी कुल तीनवटा विवरणमध्ये यो दोस्रो विवरण सार्वजनिक गरेको हो, भने तेस्रो तथा अन्तिम विवरण सेप्टेम्बर ३० मा सार्वजनिक गरिनेछ।
यसैबीच, फेडरल रिभर्सले नजिकबाट नियाल्ने मुद्रास्फीति सूचक गत महिना पनि स्थिर रहेको छ, जसले अझै धेरै अमेरिकीहरू उच्च मूल्यवृद्धिको मारमा परेका छन् भन्ने देखाउँछ। प्रतिवेदन अनुसार जुलाई महिनामा उपभोक्ता मूल्य दर अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.७ प्रतिशतले बढेको छ, जुन जुन महिनाकै हाराहारीमा छ। गत फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गर्नुअघि २.९ प्रतिशतमा रहेको महङ्गी दर त्यसयता झनै बढेको छ, जुन केन्द्रीय बैंकको २ प्रतिशतको लक्ष्यभन्दा माथि हो।
अब १० हप्तापछि हुन गइरहेको मध्यावधि निर्वाचनमा यो अनपेक्षित महङ्गी मुख्य मुद्दा बन्ने देखिन्छ। विशेषगरी इरान युद्धका कारण इन्धनको मूल्य उच्च रहनु, राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा क्यानाडा र चीनमाथि नयाँ भन्सार शुल्क लगाउने चेतावनी दिनु तथा एआइ पूर्वाधारमा भइरहेको खर्चले कम्प्युटर, गेमिङ कन्सोल र सेमिकन्डक्टरको लागत बढाउनुले मूल्यवृद्धिमा थप चाप पारेको छ।





