२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

सामाजिक सञ्जालको लत सम्बन्धी मुद्दा सुल्झाउन मेटा करिब १८ अर्ब डलर तिर्न सहमत

Photo: Mariia Berezovsky/ Unsplash

फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटाले बालबालिकाको मानसिक स्वास्थ्यमा गम्भीर असर पुर्‍याएको र उनीहरूलाई डिजिटल लतमा पारेको आरोपसम्बन्धी मुद्दा सल्टाउन करिब १८ अर्ब अमेरिकी डलर क्षतिपूर्ति तिर्ने सम्झौता गरेको छ। अमेरिकाका २९ वटा राज्यका एटर्नी जनरलहरूसँग बुधबार भएको यो सम्झौतासँगै सामाजिक सञ्जाल क्षेत्रको ऐतिहासिक कानुनी विवाद अन्त्य भएको छ।

अदालतमा पेस गरिएको कागजातअनुसार क्षतिपूर्ति रकमका साथै मेटाले आफ्ना प्लेटफर्महरूमा टिनएजर प्रयोगकर्ताहरूका लागि दैनिक समय सीमा निर्धारण गर्ने जस्ता महत्त्वपूर्ण परिवर्तनहरू गर्न सहमति जनाएको छ। यो रकम राज्यहरूले “युवा अनलाइन सुरक्षा पहल” मा खर्च गर्ने मेटाले जनाएको छ।

क्यालिफोर्नियामा चलिरहेको मुद्दाको एक सातापछि नै यो सम्झौता भएको हो, जहाँ चारवटा राज्यले मेटाविरुद्ध १.४ ट्रिलियन डलरसम्मको क्षतिपूर्ति र प्लेटफर्ममा सुधारको माग गरेका थिए। मुद्दाको क्रममा इन्स्टाग्रामका प्रमुख आदम मोसेरी र मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गको बयान लिने तय भएको थियो।

यद्यपि, मेटाले बालबालिकालाई हानि पुर्‍याएको आरोपको निरन्तर खण्डन गर्दै आएको छ र सम्झौतामा कुनै पनि गल्ती स्वीकार गरेको छैन। मेटाले आफ्नो ब्लग पोस्टमा लेखेको छ, “किशोर-किशोरीहरूलाई हाम्रा प्लेटफर्महरूमा सुरक्षित अनुभव दिनु मेटाको मुख्य प्राथमिकता हो। हामी अभिभावक र युवाहरूका लागि सही वातावरण बनाउन चाहन्छौँ।”

नर्थ क्यारोलिनाका एटर्नी जनरल जेफ ज्याक्सनले पत्रकार सम्मेलनमा बोल्दै यो सम्झौताले चाँडो परिवर्तन ल्याउने विश्वास व्यक्त गरे। उनले भने, “लामो कानुनी लडाइँले बाल सुरक्षाका सुधारहरू लागू गर्न वर्षौँ लाग्ने थियो, जसले गर्दा अर्को पुस्ताले पनि यसको असर भोग्नुपर्ने जोखिम हुन्थ्यो।”

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।