काठमाडौं उपत्यकामा वाम गठबन्धनको एकीकृत चुनावी अभियान


प्रकाशित मिति : कार्तिक १७, २०७४ शुक्रबार

काठमाडौँ, १७ कात्तिक । पार्टी एकताको लक्ष्यसहित बृहत् चुनावी गठबन्धन गरेका नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)ले काठमाडौँ उपत्यकामा संयुत्त mरुपमा चुनावी अभियान सञ्चालन गर्ने भएका छन् ।

शनिबारदेखि नै संयुक्त रुपमा त्यस्तो चुनावी अभियान सञ्चालन गर्न लागिएको गठबन्धनले जनाएको छ । संयुक्त चुनावी अभियान चलाउने विषयमा नेकपा(एमाले)का महासचिव ईश्वर पोखरेलले आज निर्वाचन क्षेत्र नं ५ मा आयोजना गरिएको चुनाव प्रचार अभियानमा समेत सो कुराको खुलासा गर्नुभएको छ । महासचिव पोखरेलले निर्वाचनमा प्रगतिशील र जनपक्षीय उम्मेदवारलाई निर्वाचित गराउन एकीकृत अभियान सञ्चालन गर्ने जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रमा दुवै पार्टीका शीर्ष नेतालाई सहभागी गराएर निर्वाचन अभियान सञ्चालन गरिने गठबन्धनले जनाएको छ । नेकपा(माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसालले एकीकृत तथा विकेन्द्रित रुपमा निर्वाचन अभियान सञ्चालन गर्न तयारी भइरहेको बताउनुभयो । वाम गठबन्धनले काठमाडौँ उपत्यकाका १५ मध्ये १० निर्वाचन क्षेत्रमा एमालेले तथा पाँच निर्वाचन क्षेत्रमा माओवादी केन्द्रले उम्मेदवारी दिएका छन् ।

वाम गठबन्धनले संयुक्त रुपमा निर्वाचन परिचालन समिति गठन गर्ने जनाइएको छ । निर्वाचन अभियानमा विगतमा वामपन्थी नेतृत्वको सरकारले अगाडि सारेको नीति तथा कार्यक्रम, मतदाताले किन वामपन्थी गठबन्धलाई मत दिनेलगायत विषय समावेश गर्ने तयारी गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com