तीन सन्तानको हत्या अभियोग: अदालतको सुनुवाइमा धर्मसम्बन्धी विवाद, न्यायाधीशद्वारा गम्भीर चेतावनी
फोटो : टिन्गी इन्जुरी ल फर्म
आफ्ना तीन साना बच्चाको घाँटी थिचेर हत्या गरेको अभियोग लागेकी ३६ वर्षीया लिन्ड्से क्लेन्सीको मुद्दाको सुनुवाइका क्रममा अदालतमा धर्मको विषयलाई लिएर पुनः तीव्र विवाद उत्पन्न भएको छ। सरकारी पक्षका साक्षीले क्याथोलिक धर्मको अवधारणा महान् पाप/अक्षम्य पापको उल्लेख गरेपछि न्यायाधीशले कडा आपत्ति जनाउँदै त्यस विषयलाई खारेज गर्न आदेश दिएका छन्।
जनवरी २०२३ मा बोस्टन नजिकैको डक्सबरीस्थित आफ्नै घरमा ५ वर्षीया कोरा, ३ वर्षीया डसन र ८ महिनाका क्यालनको हत्या गरेको स्वीकार गरे तापनि क्लेन्सीले पहिलो डिग्रीको हत्या अभियोगमा आफू निर्दोष रहेको दाबी गरेकी छन्। उनले प्रसवपछिको गम्भीर मानसिक सन्तुलन गुम्ने अवस्थाका कारण यस्तो हुन पुगेको तर्क गरेकी छन्। दोषी ठहरिएमा उनले प्यारोल बिना जन्मकैदको सजाय भोग्नुपर्नेछ।
बचाउ पक्षका वकिलले क्लेन्सी गम्भीर मानसिक रोगबाट पीडित रहेको र कानमा आएको काल्पनिक आवाजले बच्चाहरूको हत्या गर्न आदेश दिएको दाबी गरेका छन्। अर्कोतर्फ, सरकारी पक्षले भने उनले योजनाबद्ध रूपमा आफ्ना श्रीमानलाई सामान किन्न बाहिर पठाएर एक्सरसाइज ब्यान्डको प्रयोग गरी बच्चाहरूको घाँटी थिचेको तर्क गरेका छन्।
सोमबारको सुनुवाइमा अभियोजन पक्षका साक्षी मनोविद् डा. किर्क हिल्ब्रुनले क्लेन्सीले बच्चाहरूको घाँटी थिच्दा “भगवान कहाँ जाओ” भनेको बताएका थिए। त्यसपछि उनले क्लेन्सीसँग “आत्महत्या गर्नु महापाप होइन र?” भनेर प्रश्न सोधेको बयान दिन खोज्दा बचाउ पक्षका वकिलले तुरुन्तै आपत्ति जनाए।
बचाउ पक्षका वकिलले सरकारी साक्षीले धर्मको अनुचित प्रयोग गरेको भन्दै मुद्दा रद्द गर्न माग गरे। न्यायाधीश विलियम सुलिभानले मुद्दा रद्द गर्न अस्वीकार गरे तापनि ज्युरीहरूलाई उक्त धार्मिक प्रसङ्गलाई पूर्ण रूपमा बेवास्ता गर्न र ध्यान नदिन स्पष्ट निर्देशन दिए।
कानुनविद्हरूका अनुसार अदालतमा धर्म र नैतिकताको प्रसङ्ग उठाउनु जोखिमपूर्ण हुन्छ, किनभने अमेरिकी अदालत धर्म वा धार्मिक मान्यताले नभई विशुद्ध कानुनद्वारा सञ्चालित हुन्छ।





