२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

बढ्दो सडक दुर्घटना: न्युयोर्कमा ३ दिनमा ३ साइकल यात्रीको मृत्यु, चालकहरू फरार

Photo: Daniel /Unsplash

न्युयोर्क शहरमा पछिल्लो साता भएका ठक्कर दिएर भाग्ने सवारी दुर्घटनाहरूमा परी तीन जना साइकल चालकको ज्यान गएको छ। यो घटनासँगै चालु वर्ष साइकल यात्रीहरूका लागि झनै घातक बन्दै गएको छ।

बिहीबार राति मूसलधारे वर्षाका बीच ब्रुकलिनको फ्ल्याटल्यान्ड्सस्थित एभिन्यु ‘आई’मा ममाडो डियालोलाई एउटा बीएमडब्लु कारले ठक्कर दिएको थियो। ई-साइकलमा सवार डियालोको घटनास्थलमै मृत्यु भएको थियो भने कार चालक गाडीसहित फरार भएको प्रहरीले जनाएको छ। गिनीबाट अमेरिका आएका डियालो ‘डोरड्याश’मा डेलिभरी कामदारका रूपमा कार्यरत थिए।

यसअघि, अगस्ट १८ गते बिहान ब्रुकलिनमै फोर्ड पिकअप ट्रकको ठक्करबाट २९ वर्षीया पोलिना टेक चोकको मृत्यु भएको थियो। सोही दिन साउथ ब्रोन्क्समा ५१ वर्षीय मेकानिक एन्जेलो क्यामारालाई अर्को बीएमडब्लु कारले ठक्कर दिँदा उनको निधन भयो। दुवै दुर्घटनाका चालकहरू पनि दुर्घटनापछि फरार भएका छन्। प्रहरीले हालसम्म कुनै पनि घटनाका दोषीलाई पक्राउ गर्न सकेको छैन।

प्रहरी तथा यातायात विभागको तथ्यांकअनुसार यस वर्ष हालसम्म १७ जना साइकल चालकको दुर्घटनामा परी मृत्यु भइसकेको छ, जुन गत वर्षको सोही अवधिमा १० थियो।

बढ्दो दुर्घटनाप्रति ध्यानाकर्षण गराउन र सुरक्षित साइकल लेन, राम्रो बत्ती तथा पूर्वाधारको माग गर्दै ‘ट्रान्सपोर्टेशन अल्टरनेटिभ्स’ र ‘फ्यामिलिज फर सेफ स्ट्रिट्स’ले सिटी हलअघि विरोध प्रदर्शन तथा “डाइ-इन”कार्यक्रमको आयोजना गर्दै छन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।