राष्ट्रपति ट्रम्पविरुद्ध अभिव्यक्ति दिएका अमेरिकी वायुसेनाका मेजर पुनः पक्राउ
Photo: Wesley Tingey/ Unsplash
ट्रम्प प्रशासनको सार्वजनिक आलोचना गरेपछि अमेरिकी वायुसेनाका मेजर जेसन वाट्सनलाई पुनः नियन्त्रणमा लिइएको छ। गत महिना अमेरिकी क्यापिटलको ढोकामा राष्ट्रपतिको महाभियोग माग गर्दै प्रदर्शन गर्दा पक्राउ परेका वाट्सनलाई, एक अन्तर्वार्तामा राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेको केही दिनमै फेरि हिरासतमा लिइएको हो।
अमेरिकी वायुसेनाका प्रवक्ताका अनुसार वाट्सनलाई मङ्गलबार मुद्दा चलाउनुअघिको हिरासतमा राखिएको छ। उनलाई हाल म्यारील्याण्डको एक स्थानीय कारागारमा सैन्य नियन्त्रणमा राखिएको छ।
वाट्सनका वकिल क्रिस मुटिमरका अनुसार, अन्तर्वार्तापछि कार्यालयमा ड्युटीमै रहेका बेला वाट्सनले सैन्य पोशाक लगाउन अस्वीकार गरेका थिए। युनिफर्म लगाउन दिइएको आदेश नमानेको २० मिनेटमै उनलाई पक्राउ गरिएको थियो। उनीमाथि सैनिक कानुनको धारा ८८ (उच्च अधिकारीप्रतिको अवहेलना) वा धारा ९२ (आदेशको पालना नगरेको) अन्तर्गत मुद्दा चलाउन सकिने अनुमान गरिएको छ।
वाट्सनले सोमबार दिएको अन्तर्वार्तामा ट्रम्पको कडा आलोचना गर्दै भनेका थिए, “डोनाल्ड ट्रम्पको कार्यकाल सामान्य छैन। उहाँले संविधानको उल्लङ्घन र व्यापक भ्रष्टाचार गरिरहनुभएको छ, जुन कसैका लागि पनि स्वीकार्य हुन सक्दैन।”
सेनाको नियम अनुसार बहालवाला सैनिकहरूलाई राजनीतिक गतिविधिमा भाग लिन र युनिफर्म लगाएर विरोध प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको हुन्छ। वायुसेनाले वाट्सनका व्यक्तिगत विचारहरू अमेरिकी वायुसेनाको आधिकारिक नीति वा धारणा नभएको स्पष्ट पारेको छ।





