तीव्र गतिमा बढ्दै अमेरिकाको सार्वजनिक ऋण: ब्याझ भुक्तानी मात्रै १० खर्ब डलर पुग्ने अनुमान
Photo: Connor Gan/ Unsplash
अमेरिकी अर्थतन्त्र बढ्दो ऋणको गम्भीर संकटतर्फ धकेलिएको छ। ट्रेजरी डिपार्टमेन्टका अनुसार अमेरिकाको राष्ट्रिय ऋण इतिहासमै पहिलो पटक ४० खर्ब अमेरिकी डलर पुगेको छ। यसले सर्वसाधारण, व्यवसाय र सरकारको भावी कार्यदिशामा दीर्घकालीन नकारात्मक असर पार्ने देखिएको छ।
विशेषज्ञहरूका अनुसार यो माइलस्टोन अपेक्षाभन्दा धेरै अघि नै कायम भएको हो। सन् २०२३ मा कंग्रेसनल बजेट अफिसले सन् २०२८ मा मात्र ऋण ४० खर्ब पुग्ने अनुमान गरेको थियो, तर पछिल्लो पाँच महिनामै मात्रै १ खर्ब डलर ऋण थपिएको छ। पिटर जी. पिटरसन फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत माइकल पिटरसनका अनुसार, “हामी अहिलेकै गतिमा अघि बढ्यौँ भने आगामी ६ वर्षभित्रै ऋण ५० खर्ब डलर पुग्नेछ, जसले देशको आर्थिक भविष्यलाई गम्भीर जोखिममा पारेको छ।”
अमेरिकी राष्ट्रिय ऋण तीव्र गतिमा बढ्नुमा मुख्यतया तीनवटा प्रमुख कारणहरू जिम्मेवार रहेका छन्। पहिलो कारण, अमेरिकामा ज्येष्ठ नागरिकहरूको संख्यामा भइरहेको द्रुत वृद्धि हो। ‘बेबी बुमर’ पुस्ताका दैनिक करिब १०,००० मानिसहरू सेवानिवृत्त भइरहेका छन् र उनीहरूको औसत आयु पनि बढेको छ।
यसले गर्दा सरकारले नागरिकहरूलाई प्रदान गर्ने ‘सोसल सेक्युरिटी’ र ‘मेडिकेयर’ जस्ता आधारभूत सुविधाहरूमा गर्ने खर्च अत्यधिक बढेको छ, जबकि यी सुविधाहरूलाई धान्न पर्याप्त करदाता श्रमिकहरूको अभाव खड्किएको छ।
दोस्रो कारण, विगतका दशकहरूमा अमेरिकी कंग्रेसले पारित गरेका कर कटौति तथा खर्च वृद्धिका विभिन्न नीतिका कारण हो। विशेषगरी सन् २०१७ को ‘ट्याक्स कट एन्ड जोब्स एक्ट’ र सन् २०२५ को ‘वान बिग ब्युटीफुल बिल एक्ट’ जस्ता कर कटौति कानूनहरू, साथै कोभिड-१९ महामारीको समयमा ल्याइएका खर्बौँ डलरका राहत प्याकेजहरूले सरकारी राजस्वमा ठूलो गिरावट ल्याए भने उता बजेट खर्च भने व्यापक रूपमा बढाए।
तेस्रो मुख्य कारण, ऋणको बढ्दो ब्याझ भुक्तानी हो। महामारीपछिको मुद्रास्फीति नियन्त्रण गर्न फेडेरल रिजर्भले ब्याझदर बढाएपछि सरकारले तिर्नुपर्ने ऋणको ब्याझ रकममा भारी वृद्धि भएको छ। यस वर्ष मात्रै ब्याझ भुक्तानी १० खर्ब डलर नाघ्ने अनुमान गरिएको छ, जुन अमेरिकाको राष्ट्रिय रक्षा बजेटभन्दा पनि बढी हो। यसरी एकातिर ब्याझको दायित्व बढ्दै जानु र अर्कातिर खर्च र राजस्वको खाडल फराकिलो हुँदै जानुले ऋणले झन् नयाँ ऋण निम्त्याउने दुश्चक्र सिर्जना गरेको छ।
बन्ड मार्केट र सर्वसाधारणमा पर्ने प्रभाव ऋणको आकार बढेसँगै लगानीकर्ताहरूले सरकारी ऋणपत्र मा बढी प्रतिफल माग गर्न थालेका छन्। १० वर्षे र ३० वर्षे अमेरिकी ट्रेजरी प्रतिफल वर्षौँयताकै उच्च विन्दुमा पुगेको छ।
१० वर्षे ट्रेजरी प्रतिफलले सर्वसाधारणको घर कर्जा, अटो लोन र व्यावसायिक ऋणको ब्याझदर निर्धारण गर्ने हुनाले यसको वृद्धिले आम उपभोक्ताको खल्तीमा प्रत्यक्ष असर पार्नेछ। कमिटी फर अ रेस्पोन्सिबल फेडरल बजेटकी अध्यक्ष माया म्याकगिनिस भन्छिन्, हामीले जति धेरै ऋण लिन्छौँ, महँगी त्यति नै बढ्छ र भविष्यका विकास प्राथमिकताहरू ओझेलमा पर्छन्।





