अमेरिकी बजारमा नेपाली उत्पादन विस्तारका लागि गुणस्तर, ब्रान्डिङ र व्यापार सहजीकरणमा जोड


प्रकाशित मिति : ३० श्रावण २०८३, शनिबार

नेपाली महावाणिज्यदूत दधिराम भण्डारीले नेपाल–अमेरिका व्यापार विस्तारका लागि आयातकर्ता, उद्यमी र सम्बन्धित निकायबीच सहकार्य र संवादलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै।

अमेरिकामा नेपाली उत्पादनको बजार विस्तारका लागि उत्पादनको गुणस्तर र आपूर्ति सुनिश्चित गर्नेदेखि अन्तर्राष्ट्रिय मापदण्ड, प्याकेजिङ, ब्रान्डिङ, भुक्तानी प्रणाली र व्यापारिक प्रक्रियामा रहेका व्यावहारिक समस्या समाधान गर्नुपर्नेमा नेपाली व्यवसायी तथा आयातकर्ताहरूले जोड दिएका छन्।

न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले आयोजना गरेको “ट्रेड पोटेन्सियल्स फर नेपाल इन द युनाइटेड स्टेट्स: स्टाटस रिभ्यु एन्ड एभेन्युज फर एक्सपान्सन” विषयक राउन्डटेबलमा अमेरिकामा नेपाली उत्पादन आयात तथा बिक्री गरिरहेका व्यवसायी, उद्यमी र व्यापारिक क्षेत्रका प्रतिनिधिहरूले अमेरिकी बजारमा थप विस्तारका सम्भावना र चुनौतीबारे आफ्ना अनुभव साझा गरेका थिए।

कार्यक्रममा राजन कर्माचार्यले फेल्ट उत्पादन, लोब्साङ लामाले कार्पेट, समीर महर्जनले गहना, प्रतीक रिजालले चिया तथा नेपाल टी कलेक्टिभ, प्रेमगोपाल महर्जनले हस्तकला, पेमा लामाले तयारी पोसाक तथा हस्तकला, अनिल रौनियारले होलसेल तथा खाद्य सामग्री, प्रदीप श्रेष्ठले लेकाली फुड्स तथा ग्रेटर न्युयोर्क नेपाली चेम्बर अफ कमर्स, अमित शाहले ग्रेटर न्युयोर्क चेम्बर, लेनिन कँडेलले रेस्टुरेन्ट व्यवसाय तथा दधिराम भण्डारीले महावाणिज्यदूतका रूपमा कार्यक्रममा सहभागिता जनाएका थिए।

कार्यक्रमको सुरुवात महावाणिज्यदूतावासको प्रस्तुतीकरणबाट भएको थियो। तुल्सीप्रसाद कोइरालाले गरेको प्रस्तुतिमा नेपाल–अमेरिका व्यापारको वर्तमान अवस्था, प्रमुख व्यापारिक वस्तु, व्यापार सहजीकरणका संयन्त्र र आगामी सम्भावनाबारे जानकारी दिइएको थियो। प्रस्तुतीकरणअनुसार अमेरिकासँग नेपालको वस्तु व्यापारमा नेपाली निर्यातको ठूलो हिस्सा केही सीमित उत्पादनमा केन्द्रित रहेको उल्लेख गरिएको थियो। नटेड कार्पेट, जनावरका लागि खाद्य उत्पादन तथा कपडा लगायतका वस्तुहरू नेपालको अमेरिकी बजारमा हुने निर्यातका प्रमुख क्षेत्रका रूपमा प्रस्तुत गरिएका थिए।

नेपालबाट अमेरिका निर्यात हुने वस्तुमा कार्पेट, जनावरका लागि खाद्य सामग्री, कपडा तथा अन्य हस्तकलाका उत्पादनहरू महत्वपूर्ण भए पनि केही सीमित वस्तुमै निर्यात अत्यधिक केन्द्रित रहेको बताइएको थियो। यसले नयाँ उत्पादन पहिचान, अमेरिकी बजारको मागअनुसार उत्पादन विकास र निर्यात विविधीकरणको आवश्यकता देखाएको उल्लेख गरिएको थियो।

महावाणिज्यदूतावासको प्रस्तुतीकरणमा नेपाल–अमेरिका व्यापारलाई अघि बढाउन ट्रेड एन्ड इन्भेस्टमेन्ट फ्रेमवर्क एग्रिमेन्ट अर्थात् टीआईएफएलाई महत्वपूर्ण संयन्त्रका रूपमा उल्लेख गरिएको थियो। नेपाल र अमेरिकाबीचको टीआईएफएको सातौं काउन्सिल बैठक सन् २०२४ मा काठमाडौंमा भएको र आठौं बैठक अमेरिकामा हुने तयारी रहेको जानकारी दिइएको थियो। त्यसैगरी, नेपालका लागि अमेरिकी व्यापार प्राथमिकताको कार्यक्रम एनटीपीपीको उपयोग अपेक्षाकृत न्यून भएको र त्यसको प्रभावकारी उपयोग हुन नसकेको विषय पनि उठाइएको थियो।

व्यवसायीहरूले भने व्यापार विस्तारका लागि सरकारी नीति र अन्तर्राष्ट्रिय व्यापार सम्झौता मात्र पर्याप्त नहुने बताए। उत्पादनको गुणस्तर, निरन्तर आपूर्ति, अमेरिकी बजारका प्रमाणपत्र तथा मापदण्ड, प्याकेजिङ, मूल्य प्रतिस्पर्धा, ब्रान्डिङ र ढुवानी व्यवस्थापनमा सुधार आवश्यक रहेको उनीहरूको भनाइ थियो।

लेकाली फुड्सका सञ्चालक तथा ग्रेटर न्युयोर्क नेपाली चेम्बर अफ कमर्सका अध्यक्ष प्रदीप श्रेष्ठले नेपाली उत्पादनको प्रवद्र्धन, एपीसीसम्बन्धी समस्या र व्यवसायीबीच सहकार्यको आवश्यकताबारे बोल्दै।

ग्रेटर न्युयोर्क नेपाली चेम्बर अफ कमर्सका अध्यक्ष तथा लेकाली फुड्सका सञ्चालक प्रदीप श्रेष्ठले नेपालबाट सामान आयात गर्दा भुक्तानीसम्बन्धी प्रक्रियाले व्यावहारिक समस्या सिर्जना गरिरहेको बताए। उनले विशेषगरी एडभान्स पेमेन्ट सर्टिफिकेट अर्थात् एपीसीसँग सम्बन्धित समस्या समाधान गर्न नेपाली बैंक, नेपाल राष्ट्र बैंक र सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

श्रेष्ठले अमेरिकी बजारमा नेपाली उत्पादन प्रवद्र्धन गर्न नेपाली व्यवसायीहरूको सामूहिक नेटवर्क र व्यापारिक प्लेटफर्म निर्माण गर्नुपर्नेमा पनि जोड दिए। उनका अनुसार चेम्बरले नेपाली उत्पादनलाई विभिन्न प्रदर्शनी, स्ट्रीट फेस्टिभल तथा अन्य व्यावसायिक कार्यक्रममा प्रवद्र्धन गर्न समन्वय गर्न सक्छ।

खाद्य उत्पादनका क्षेत्रमा अमेरिकी मापदण्ड र नियमनबारे पर्याप्त जानकारी नहुँदा व्यवसायीले समस्या भोग्नुपरेको उदाहरण पनि उनले प्रस्तुत गरे। अमेरिकी बजारमा उत्पादन बिक्री गरिसकेपछि समेत नियामक निकायका आवश्यकताअनुसार बिक्री भएका वस्तु कहाँ–कहाँ पुगे भन्ने विवरण उपलब्ध गराउनुपर्ने जस्ता प्राविधिक पक्षमा नेपाली व्यवसायी अझै सचेत हुनुपर्ने उनको भनाइ थियो।

पाल टी कलेक्टिभका प्रतिनिधि प्रतीक रिजालले नेपाली चियाको अन्तर्राष्ट्रिय पहिचान, ब्रान्डिङ र अमेरिकी बजार विस्तारको आवश्यकताबारे बोल्दै।

कार्यक्रममा नेपाली चिया व्यवसायी प्रतीक रिजालले नेपाली चियाको अन्तर्राष्ट्रिय बजारमा पहिचान निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए। उनका अनुसार नेपालबाट उत्पादन हुने उच्च गुणस्तरको चिया लामो समयदेखि भारत हुँदै अन्य मुलुकमा पुग्ने गरेको कारण “नेपाली चिया” को छुट्टै ब्रान्ड पहिचान कमजोर बनेको छ। यसले नेपाली किसानले उत्पादनको वास्तविक मूल्य प्राप्त गर्न नसक्ने अवस्था सिर्जना गरेको उनले बताए।

उनले नेपालले भारत र चीनसँग मात्र मूल्यका आधारमा प्रतिस्पर्धा गर्नेभन्दा नेपाली उत्पादनको विशिष्टता, गुणस्तर र उत्पत्तिलाई ब्रान्डिङको आधार बनाउनुपर्ने बताए। उनका अनुसार नेपाली चिया लगायत कृषि उत्पादनमा “मेड इन नेपाल” पहिचान स्थापित गर्न दीर्घकालीन रणनीति आवश्यक छ।

उनले चिया क्षेत्रमा भारतसँगको व्यापारिक अवरोधलाई केवल भूराजनीतिक समस्याका रूपमा हेर्नुभन्दा उत्पादनको गुणस्तर र खाद्य सुरक्षा मापदण्ड सुधारमा ध्यान दिनुपर्ने सुझाव दिएका थिए। उनले विशेषगरी कीटनाशकको मात्रा घटाउने, जैविक उत्पादनतर्फ जाने र त्यसका लागि आवश्यक रूपान्तरणको व्यावहारिक योजना बनाउने विषयमा जोड दिएका थिए।

कार्पेट व्यवसायी लोब्साङ लामाले नेपाली गलैंचाको अमेरिकी बजारमा सम्भावना, निर्यात प्रक्रिया र आवश्यक प्रमाणिकरणबारे धारणा राख्दै।

कार्पेट व्यवसायी लोब्साङ लामाले पनि अमेरिकी बजारमा नेपाली गलैंचाको सम्भावना ठूलो भए पनि निर्यात प्रक्रिया र प्रमाणिकरणसम्बन्धी आवश्यकता चुनौतीपूर्ण बन्दै गएको बताए। अमेरिकी बजारका लागि आवश्यक परीक्षण तथा प्रमाणिकरण गर्न नेपालमै आवश्यक प्रयोगशाला र पूर्वाधार विकास गर्नुपर्ने उनको भनाइ थियो।

गहना व्यवसायी समीर महर्जनले नेपाली गहनालाई अमेरिकी बजारमा विस्तार गर्ने सम्भावना र चुनौतीबारे अनुभव सुनाउँदै।

कार्यक्रममा गहना व्यवसायी समीर महर्जनले गहना व्यवसायका क्षेत्रमा अमेरिकी बजारका मापदण्ड र प्रमाणिकरणको आवश्यकता तथा नेपाली उत्पादनको बजार विस्तारका सम्भावनाबारे अनुभव साझा गरे। उनले नेपालमा उत्पादन हुने उच्च मूल्यका विलासी वस्तुमा नेपालको प्रतिस्पर्धात्मक क्षमता रहेको उल्लेख गर्दै उत्पादन, कच्चा पदार्थको आयात, भन्सार, ढुवानी र निर्यातपछिको भुक्तानी प्रक्रियामा रहेका अवरोध हटाउन सरकारको सहजीकरण आवश्यक रहेको बताए। उनले अमेरिकी बजारमा नेपाली उत्पादनको प्रतिस्पर्धात्मकता कायम राख्न नेपालमा बनेका उच्च मूल्यका हस्तकला र गहनालाई विशेष प्राथमिकता दिन सकिने बताए।

उनले नेपालको हस्तकला र गहना व्यवसायमा संलग्न उद्यमीहरूले भने नेपाली उत्पादनको गुणस्तर सुनिश्चित गर्ने प्रमाणिकरण र ट्रेसबिलिटी प्रणाली आवश्यक रहेको बताए। विशेषगरी नेपालमा बनेका गहनाको गुणस्तरबारे अमेरिकी आयातकर्तालाई विश्वसनीय प्रमाण उपलब्ध गराउने प्रणाली बलियो बनाउनुपर्ने उनीहरूको भनाइ थियो।

फेल्ट उत्पादनका व्यवसायी राजन कर्माचार्यले अमेरिकी बजारमा नेपाली फेल्ट उत्पादनको सम्भावना र बजार विस्तारका चुनौतीबारे आफ्ना अनुभव साझा गर्दै।

राजन कर्माचार्यले फेल्ट उत्पादनका क्षेत्रमा अमेरिकी बजारको सम्भावना र नेपाली उत्पादनले सामना गरिरहेका व्यावहारिक चुनौतीबारे धारणा राखे। प्रेमगोपाल महर्जनले नेपाली हस्तकलाका उत्पादनको बजार विस्तारका लागि अमेरिकी उपभोक्तासम्म नेपाली उत्पादनको मौलिकता र गुणस्तर पुर्‍याउनुपर्नेमा जोड दिए।

हस्तकला व्यवसायी प्रेमगोपाल महर्जनले नेपाली हस्तकलाका उत्पादनको अमेरिकी बजारमा प्रवद्र्धन र बजार विस्तारका सम्भावनाबारे आफ्ना अनुभव साझा गर्दै।

उनीहरुले अमेरिकी बजारमा नेपाली हस्तकलाका उत्पादनको माग रहेको भए पनि ढुवानी लागत र मूल्य प्रतिस्पर्धा प्रमुख चुनौती रहेको बताए। नेपाली उत्पादनको मौलिकता र हस्तनिर्मित विशेषतालाई अमेरिकी उपभोक्तासम्म पुर्‍याउन ब्रान्डिङ र बजार प्रवद्र्धनमा थप लगानी आवश्यक रहेको उनीहरूको भनाइ थियो।

तयारी पोसाक तथा हस्तकला व्यवसायी पेमा लामाले अमेरिकी बजारमा नेपाली तयारी पोसाक र हस्तकलाका उत्पादनको सम्भावना तथा चुनौतीबारे बोल्दै।

पेमा लामाले तयारी पोसाक तथा हस्तकलाका उत्पादनको अमेरिकी बजारमा सम्भावना, गुणस्तर, प्याकेजिङ र बजार प्रवद्र्धनका विषयमा अनुभव साझा गरे।

होलसेल तथा खाद्य सामग्री व्यवसायी अनिल रौनियारले नेपालबाट अमेरिकी बजारमा खाद्य तथा अन्य उत्पादन आयात गर्दा देखिने व्यावहारिक चुनौतीबारे अनुभव साझा गर्दै।

अनिल रौनियारले होलसेल तथा खाद्य सामग्रीको व्यापारमा देखिएका चुनौती र अमेरिकी बजारमा नेपाली उत्पादन विस्तार गर्न आवश्यक पूर्वाधार तथा व्यापारिक सहजीकरणबारे आफ्ना अनुभव प्रस्तुत गरे।

रेस्टुरेन्ट व्यवसायी लेनिन कँडेलले अमेरिकी रेस्टुरेन्ट बजारमा नेपाली उत्पादन तथा खाद्य सामग्रीका लागि रहेको सम्भावनाबारे आफ्ना अनुभव साझा गर्दै।

अमेरिकी रेस्टुरेन्ट क्षेत्रमा प्रयोग हुने सामग्री नेपालबाट निर्यात गर्न सकिने सम्भावनाबारे लेनिन कँडेलले पनि चर्चा गरेका थिए। उनले अमेरिकी रेस्टुरेन्ट उद्योगका लागि पेपर उत्पादन, पानी, फोर्क, चपस्टिक, न्यापकिन लगायतका वस्तु ठूलो परिमाणमा आवश्यक पर्ने उल्लेख गर्दै नेपालले गुणस्तर र मूल्यमा प्रतिस्पर्धा गर्न सके यस्तो बजार नेपाली उत्पादनका लागि नयाँ अवसर बन्न सक्ने बताए।

ग्रेटर न्युयोर्क चेम्बरका अमित शाहले नेपाली व्यवसायीबीच नेटवर्क विस्तार र अमेरिकी बजारमा नेपाली उत्पादनको प्रवद्र्धनका लागि सामूहिक पहलको आवश्यकताबारे बोल्दै।

कार्यक्रममा अमित शाहले नेपाली व्यवसायीहरूबीच नेटवर्क निर्माण तथा व्यापारिक सहकार्यको आवश्यकता औंल्याउँदै नेपाली उत्पादन प्रवद्र्धनका लागि सामूहिक पहल आवश्यक रहेको बताए।

बैंकिङ विशेषज्ञ सैयद अहसान

कार्यक्रममा बैंकिङ विशेषज्ञ सैयद अहसानले नेपाली सामानहरु अमेरिकामा आयात गर्दा आउने बित्तिय समस्या र समाधानका उपायबारे सुझाव दिएका थिए ।

व्यवसायीहरूले नेपालमा उत्पादन विस्तार गर्दा प्याकेजिङ उद्योगजस्ता सहायक उद्योगको विकासमा पनि ध्यान दिनुपर्ने बताए। नेपालमा गुणस्तरीय प्याकेजिङ सामग्रीको उपलब्धता सीमित हुँदा निर्यातयोग्य वस्तु उत्पादन गर्ने व्यवसायले समेत प्याकेजिङ सामग्री बाहिरबाट आयात गर्नुपर्ने र त्यसले अन्तिम उत्पादनको लागत बढाउने समस्या रहेको उनीहरूको भनाइ थियो।

कार्यक्रममा अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच विस्तार गर्न नेपालमै निर्यातका लागि आवश्यक औद्योगिक पूर्वाधार विकास गर्नुपर्ने विषय पनि उठ्यो। व्यवसायीहरूले उत्पादनको मात्रा, गुणस्तर, मूल्य, प्याकेजिङ र निरन्तर आपूर्ति सुनिश्चित गर्न सके मात्र नेपाली उत्पादनलाई नेपाली डायस्पोराभन्दा बाहिर मुख्यधारको अमेरिकी बजारमा लैजान सकिने बताए।

महावाणिज्यदूत दधिराम भण्डारीले व्यवसायीहरूले उठाएका समस्या सम्बन्धित नेपाली निकायसम्म पुर्‍याउने प्रतिबद्धता जनाएका थिए। व्यवसायीहरूले आयातका क्रममा भोगेका समस्या लिखित रूपमा उपलब्ध गराएमा महावाणिज्यदूतावासले ती विषयलाई सम्बन्धित निकायसमक्ष उठाउने बताइएको थियो।

छलफलमा नेपाल–अमेरिका व्यापार विस्तारका लागि सरकारी र निजी क्षेत्रबीच नियमित संवाद आवश्यक रहेकोमा सहभागीहरू सहमत देखिएका थिए। व्यवसायीहरूले अमेरिकी बजारको माग र नेपालमा उत्पादन क्षमताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्न सके निर्यातको मात्रा उल्लेख्य रूपमा बढाउन सकिने बताएका थिए।

कार्यक्रममा नेपालबाट अमेरिकामा व्यापार गर्ने साना तथा मध्यम व्यवसायलाई व्यापार वित्तसम्बन्धी सुविधा उपलब्ध गराउने विषय पनि उठाइएको थियो। अमेरिकी बैंकिङ प्रणालीमा साना व्यवसायका लागि अन्तर्राष्ट्रिय व्यापार वित्त, विशेषगरी एलसी लगायतका सुविधा प्राप्त गर्न कठिनाइ हुने गरेको सहभागीहरूले बताएका थिए।

महावाणिज्यदूतावासले अमेरिकी बजारमा नेपाली उत्पादनको प्रवद्र्धनका लागि व्यवसायी, चेम्बर अफ कमर्स र नेपाली व्यावसायिक समुदायसँग सहकार्य गर्ने जनाएको छ। व्यवसायीहरूले पनि नेपालका उत्पादक र अमेरिकी बजारका खरिदकर्ताबीच प्रत्यक्ष सम्बन्ध निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।

छलफलको अर्को महत्वपूर्ण निष्कर्ष नेपालले केवल “कुन उत्पादन निर्यात गर्न सकिन्छ” भन्ने प्रश्नमा सीमित नभई “अमेरिकी बजारका खरिदकर्ताले के चाहन्छन् र त्यो आवश्यकता नेपालले कसरी पूरा गर्न सक्छ” भन्ने दृष्टिकोणबाट निर्यात रणनीति बनाउनुपर्ने रहेको थियो।

कार्यक्रममा अमेरिकामा रहेका नेपाली व्यवसायीलाई एउटै नेटवर्कमा जोडेर नेपाली उत्पादनको प्रवद्र्धन गर्ने पहलका रूपमा नेपाली अमेरिकी बिजनेस एन्ड इन्भेस्टमेन्ट समिटको तयारीबारे पनि जानकारी दिइएको थियो। उक्त पहलले व्यवसायदेखि व्यवसाय, व्यवसायदेखि उपभोक्ता र व्यवसायदेखि सरकारबीच सम्बन्ध विस्तार गर्ने उद्देश्य राखेको आयोजक पक्षले जनाएको थियो।

महावाणिज्यदूतावासले अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच विस्तारका लागि निजी क्षेत्रको अनुभव र सुझावलाई निरन्तर समेट्दै जाने जनाएको छ। व्यवसायीहरूले पनि आफ्ना व्यावहारिक समस्या र सम्भावित समाधान प्रस्तुत गर्न आग्रह गरिएको थियो, ताकि ती विषयलाई नेपाल सरकारका सम्बन्धित निकायसमक्ष नीतिगत तहमा पुर्‍याउन सकियोस्।

छलफलबाट निस्किएको साझा सन्देश थियो—नेपालको अमेरिकी बजारमा निर्यात बढाउन सम्भावना पहिचान गर्नु मात्र पर्याप्त छैन। गुणस्तरीय र निरन्तर आपूर्ति, अन्तर्राष्ट्रिय मापदण्डको पालना, प्रतिस्पर्धी मूल्य, प्रभावकारी प्याकेजिङ, बलियो ब्रान्डिङ, सहज भुक्तानी र ढुवानी प्रणाली तथा उत्पादक र अमेरिकी खरिदकर्ताबीच प्रत्यक्ष सम्बन्ध निर्माण गर्न सके मात्र “मेड इन नेपाल” लाई अमेरिकी बजारमा थप स्थापित गर्न सकिनेछ।

महावाणिज्यदूतावासले आगामी दिनमा आयातकर्ता र उद्यमीसँगको संवादलाई निरन्तरता दिने, सम्बन्धित व्यवसायिक सम्पर्कहरू सहजीकरण गर्ने तथा व्यवसायीले उठाएका व्यावहारिक समस्या नेपालका सम्बन्धित सरोकारवालासम्म पुर्‍याउने जनाएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com