टेक्सासमा अमेरिकी सैन्य हेलिकप्टर दुर्घटना: दुई सैनिकको मृत्यु
Photo: Bryan Ramos/ Unsplash
सालाडो क्षेत्रमा बुधबार भएको एउटा सैन्य हेलिकप्टर दुर्घटनामा परेर दुई जना सैनिकको मृत्यु भएको बेल काउन्टी शेरिफको कार्यालयले जनाएको छ।
दिउँसो करिब १:३० बजे ९११ मा आएको आपतकालीन कलका आधारमा अधिकारीहरू घटनास्थल पुगेपछि उनीहरूलाई मृत घोषित गरिएको शेरिफका प्रवक्ता क्लिफ कोलम्यानले जानकारी दिए। सालाडो सहर अस्टिनबाट करिब ५० माइल उत्तरमा पर्छ।
फोर्ट हुड सैन्य बेसका अनुसार दुर्घटनाग्रस्त ‘आर्मी एएच-६४ अपाचे’ आक्रमणकारी हेलिकप्टर फोर्ट हुडमै तैनाथ रहेको थियो। सैनिकहरूलाई फोर्ट हुडस्थित कार्ल आर. डर्नाल आर्मी मेडिकल सेन्टर लगिएको थियो। परिवारलाई जानकारी गराइएको २४ घण्टापछि मात्र मृत सैनिकहरूको नाम सार्वजनिक गरिनेछ।
यस अत्यन्तै कठिन समयमा हाम्रा विचार र गहिरो संवेदना प्रभावित सैनिकका परिवार, साथीभाइ र सहकर्मीहरूप्रति छ, फस्ट क्याभलरी डिभिजनका कार्यवाहक कमाण्डिङ जनरल ब्रिगेडियर जनरल इथान डिभेनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्।
टेक्सासका गभर्नर ग्रेग एबटले मृत सैनिकका परिवार र फोर्ट हुड समुदायका लागि प्रार्थना गर्न आग्रह गरेका छन्। उनले सामाजिक सञ्जाल ‘एक्स’मा लेखेका छन्, हाम्रो राज्य र राष्ट्रको सेवा गर्नेहरूप्रति टेक्सास सधैं ऋणी रहनेछ।
प्रवक्ता कोलम्यानका अनुसार घटनामा कुनै पनि भौतिक संरचनामा क्षति पुगेको छैन भने अन्य कोही पनि घाइते भएका छैनन्। हेलिकप्टर खेतमा खसेको थियो र यो एकदमै भीषण दुर्घटना थियो भन्ने कुरा प्रस्ट देखिन्थ्यो, उनले घटनास्थलमा पत्रकारहरूसँग भने।
दुर्घटनापछि ठूलो डढेलो लागेको र त्यो अनियन्त्रित जस्तै देखिएको उनले बताए। डढेलोले ठूलो भू-भाग ओगटेपछि आसपासका केही बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो। साँझ ७ बजेसम्ममा उक्त डढेलो १५५ एकडमा फैलिसकेको र ८५ प्रतिशत नियन्त्रणमा आइसकेको कोलम्यानले जानकारी दिए।
घटनास्थलमा स्थानीय आपतकालीन उद्धारकर्ता, सैन्य टोली र कानुन कार्यान्वयन निकायका अधिकारीहरू खटिएका छन्। दुर्घटनाबारे फोर्ट हुडको क्रिमिनल इन्भेस्टिगेसन डिभिजनले अनुसन्धानको नेतृत्व गरिरहेको छ।
अमेरिकी सेनाको वेबसाइटका अनुसार एएच-६४ अपाचे दुईवटा इन्जिन र चारवटा ब्लेड भएको बहुउद्देश्यीय आक्रमणकारी हेलिकप्टर हो, जसलाई “विश्वकै सबैभन्दा उन्नत हवाई युद्धपोत” मानिन्छ।





