२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

ह्वाइट हाउसकी सबैभन्दा कान्छी प्रेस सचिव लेभिटद्वारा राजीनामा

ह्वाइट हाउस। तस्बिर: डेभिड एभरेट स्ट्रिकलर/अनस्प्लास

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनकी ह्वाइट हाउस प्रेस सचिव क्यारोलिन लेभिटले आफ्ना साना बालबच्चा र परिवारलाई समय दिनका लागि यसै महिनाको अन्त्यबाट पद छाड्ने घोषणा गरेकी छन्। २८ वर्षीया लेभिट ह्वाइट हाउसको इतिहासमै प्रेस सचिवको भूमिका सम्हाल्ने सबैभन्दा कान्छी व्यक्ति हुन्।

गत मे महिनामा दोस्रो सन्तानको जन्मपछि ह्वाइट हाउसको जिम्मेवारीमा फर्किएकी लेभिटका दुई वर्षका एक छोरा पनि छन्। सामाजिक सञ्जालमा एक पोस्ट साझा गर्दै उनले यस निर्णयलाई “तीतो-मीठो निर्णय” भनेकी छन्।

छोरीको जन्मपछि ह्वाइट हाउस फर्किएदेखि नै मैले मनबाटै के महसुस गरेँ भने-ह्वाइट हाउस प्रेस सचिवको रूपमा आवश्यक पर्ने निरन्तरको समय, ऊर्जा र ध्यान दिँदै गर्दा म आफ्ना दुई साना बालबच्चाका लागि योग्य आमा बन्न सक्दिनँ। त्यसैले मैले ह्वाइट हाउस छाडेर जीवनको नयाँ अध्याय सुरु गर्ने निर्णय लिएकी हुँ,” लेभिटले लेखेकी छन्।

राष्ट्रपति ट्रम्पले लेभिटको निर्णयको पूर्ण सम्मान र समर्थन गर्ने बताएका छन्। ट्रम्पले उनको स्थानमा कसलाई नियुक्त गर्ने भन्नेबारे केही नखुलाए पनि लेभिट प्रशासन बाहिर रहेर आफ्नो मुख्य सल्लाहकार तथा रिपब्लिकन पार्टीको प्रभावशाली नेताका रूपमा सक्रिय रहने बताएका छन्।

यसअघि लेभिटले ट्रम्पको सन् २०२४ को चुनावी अभियान र मागा इङ्क नामक सुपर प्याकको प्रवक्ताका रूपमा काम गरेकी थिइन्। ट्रम्पको पहिलो कार्यकालमा पनि ह्वाइट हाउस प्रेस कार्यालयमा काम गरिसकेकी उनले पछि न्युयोर्ककी रिपब्लिकन कंग्रेस सदस्य एलिस स्टेफानिकको सञ्चार निर्देशकको जिम्मेवारी सम्हालेकी थिइन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।