अमेरिकामा नेपालको जिल्ला स्तरीय भलिबल कप: बागलुङ बन्यो विजेता, दोलखा उपविजेता


प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार

पर्वत सेवा समाज न्यूयोर्कको आयोजनामा सम्पन्न जिल्ला स्तरीय भलिबल कप–२०२६ को उपाधि बागलुङ समाजले जितेको छ। न्यूयोर्कमा आयोजित रोमाञ्चक फाइनल भिडन्तमा दोलखा समाजलाई पराजित गर्दै बागलुङ समाजले उपाधि आफ्नो नाममा गरेको हो। प्रतियोगितामा दोलखा समाज उपविजेता बनेको छ।

उपाधिसँगै विजेता बागलुङ समाजले ४ हजार अमेरिकी डलर र उपविजेता दोलखा समाजले २ हजार ५ सय अमेरिकी डलर नगद पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगितामा पर्वत ‘ए’, पर्वत ‘बी’, झापा, म्याग्दी, ताप्लेजुङ, कास्की, बागलुङ र दोलखा गरी ८ टोलीको सहभागिता रहेको थियो। सहभागी टोलीहरूले उत्कृष्ट खेल कौशल, टोलीगत समन्वय र खेल भावना प्रदर्शन गरेका थिए।

प्रतियोगिताभर प्रभावशाली प्रदर्शन गर्दै बागलुङ समाजलाई उपाधि दिलाउन महत्त्वपूर्ण योगदान पुर्‍याएका विजय क्षेत्री सर्वोत्कृष्ट खेलाडी घोषित भए। त्यस्तै, विजयी टोली बागलुङका अर्जुन उत्कृष्ट प्रशिक्षक चुनिए।

प्रतियोगिताको विधागततर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि सम्मानित गरिएको छ, जसअनुसार दोलखाका विशाल घतानी उत्कृष्ट प्रहारकर्ता, पर्वतका संगम गुरुङ उत्कृष्ट रक्षक, राजन नेपाली उत्कृष्ट ब्लकर तथा सोनाम दोर्जे उत्कृष्ट लिफ्टर घोषित भए। यसैगरी, अनुशासित प्रदर्शन गरेबापत पर्वतका राम श्रेष्ठ अनुशासित खेलाडी चुनिए भने ताप्लेजुङ टोलीले अनुशासित टोलीको उपाधि प्राप्त गर्‍यो।

सबिन क्षेत्रीको संयोजकत्वमा सम्पन्न यस प्रतियोगिताको सञ्चालन तथा व्यवस्थापनमा महासचिव प्रकाश शर्मा लगायत आयोजक समितिका पदाधिकारीहरूको सक्रिय भूमिका रहेको थियो।

कार्यक्रमको थप आकर्षणका रूपमा पर्वत जिल्ला भई हाल अमेरिकामा बसोबास गर्दै आएका बालबालिकाहरूको सांगीतिक प्रस्तुति रहेको थियो। उनीहरूले नेपाली गीत-संगीतमार्फत आफ्नो प्रतिभा देखाउँदा दर्शकहरूले उत्साहपूर्वक साथ दिएका थिए। यस प्रस्तुतिले प्रवासमा हुर्किरहेको नयाँ पुस्तामा नेपाली कला र संस्कृतिप्रतिको रुचि उजागर गरेको थियो।

प्रतियोगिताले अमेरिकामा बसोबास गर्ने विभिन्न जिल्लाका नेपालीहरूबीच भाइचारा, एकता र सद्भाव अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको छ। विभिन्न जिल्लाका नेपालीहरू एउटै खेल मैदानमा भेला भई प्रतिस्पर्धा गर्दा भेटघाट, मित्रता र सामाजिक सम्बन्ध विस्तारको अवसर मिलेको आयोजकले जनाएको छ।

पर्वत सेवा समाज न्यूयोर्कका अध्यक्ष पूर्ण श्रेष्ठले खेलकुद केवल प्रतिस्पर्धा मात्र नभई अमेरिकामा रहेका नेपालीहरूलाई एउटै स्थानमा जोड्ने र नयाँ पुस्तालाई आफ्नो संस्कृतिसँग जोड्ने माध्यम भएको बताए। उनले आगामी दिनमा पनि नेपाली समुदायको एकता र सद्भावलाई प्राथमिकता दिँदै यस्ता खेलकुद तथा सामाजिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। साथै, प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण खेलाडी, प्रशिक्षक, निर्णायक, स्वयंसेवक, प्रायोजक तथा दर्शकहरूप्रति हार्दिक आभार प्रकट गरे।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रथम पर्वत जिल्ला स्तरीय भलिबल कप–२०२६ ले अमेरिकामा रहेका नेपाली समुदायबीच आपसी सम्बन्ध, एकता र सहकार्यलाई थप मजबुत बनाउने सन्देश दिएको छ। आयोजक पर्वत सेवा समाज न्यूयोर्कले विजेता, उपविजेता तथा विधागत रूपमा उत्कृष्ट हुने खेलाडीहरूलाई हार्दिक बधाईज्ञापन गर्दै प्रतियोगिता सफल पार्ने सम्पूर्ण सहयोगी हातहरूप्रति धन्यवाद व्यक्त गरेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com