लस एन्जलसतर्फ उडिरहेको विमानमा २२ वर्षीय यात्रुको मृत्यु, अनुसन्धान जारी
Photo: Forsaken Films/ Unsplash
डलासबाट लस एन्जलसका लागि उडान भरेको साउथवेस्ट एयरलाइन्सको जहाजभित्र एक २२ वर्षीय यात्रुको अचानक निधन भएपछि अधिकारीहरूले घटनाको अनुसन्धान सुरु गरेका छन्।
मृतकको पहिचान २२ वर्षीय रेन म्याकमिलन वाल्म्सेको रूपमा भएको छ। गत अगस्ट ७ मा डलासबाट लस एन्जलसतर्फ जाँदै गरेको साउथवेस्ट फ्लाइट ९५८ मा यात्रा गर्ने क्रममा वाल्म्से अचानक बेहोस भएका थिए। लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण गर्नुअघि उनलाई बचाउन बचाउ प्रयास गरिए तापनि त्यो सफल हुन सकेन।
लस एन्जलस काउन्टी मेडिकल एक्जामिनरले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार वाल्म्सेको मृत्युको अनुसन्धान अझै जारी छ र उनको निधनको वास्तविक कारण अझै खुल्न सकेको छैन। मेडिकल एक्जामिनरको कार्यालयले मृत्युको कारणलाई “स्थगित”सूचीमा राखेको छ, जसको अर्थ थप अनुसन्धानपछि मात्र आधिकारिक कारण स्पष्ट हुनेछ।
स्रोतका अनुसार, उडानका क्रममा गम्भीर स्वास्थ्य समस्या देखिएपछि वाल्म्से जहाजभित्रै अचानक बेहोस भएका थिए। परिस्थिति नियन्त्रणमा लिन र उनको ज्यान बचाउनका लागि जहाजभित्रै तत्कालै प्राथमिक उपचार सुरु गरिएको थियो।
विमान लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनासाथ पूर्वतयारीमा रहेका आकस्मिक स्वास्थ्यकर्मीको टोली तुरुन्तै जहाजभित्र प्रवेश गरेको थियो। तर, तमाम प्रयासका बाबजुद उनलाई बचाउन सकिएन र स्वास्थ्यकर्मीहरूले उनलाई घटनास्थलमै मृत घोषित गरे।
साउथवेस्ट एयरलाइन्सले उडानका क्रममा यात्रुलाई स्वास्थ्य समस्या आएको पुष्टि गरेको छ, तर विस्तृत विवरणका लागि स्थानीय अधिकारीहरूसँग सम्पर्क गर्न आग्रह गरेको छ।
हालका वर्षहरूमा उडानका क्रममा यात्रुहरूको आकस्मिक निधन भएका यस्ता घटनाहरू अन्य एयरलाइन्सहरूमा पनि देखिएका छन्। सन् २०२५ को जनवरीमा पेरिसबाट बोस्टन जाँदै गरेको एयर फ्रान्सको उडानमा ५३ वर्षीया यात्रुको निधन भएको थियो भने सन् २०२४ को जुनमा पनि ८ वर्षीया बालिका र ४१ वर्षीय अर्का यात्रुको उडानका क्रममा स्वास्थ्य अवस्था बिग्रिएर ज्यान गएको थियो।





