२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

डोनाल्ड ट्रम्पको गल्फ कोर्स नजिकैबाट हतियारसहित एक व्यक्ति पक्राउ

Photo: Robert Ruggiero/ Unsplash

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी चन्दा संकलन कार्यक्रम अघि लस एन्जलस क्षेत्रस्थित ट्रम्पको गल्फ कोर्स नजिकैबाट हातहतियार र अवैध गोलीगाठ्ठासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रन्चो पालोस भर्डेसमा रहेको ‘ट्रम्प नेसनल गल्फ कोर्स’ परिसरमा निगरानी गरिरहेका सादा पोसाकका संघीय एजेन्टहरूले शंकास्पद गतिविधि देखेएपछि ३८ वर्षीय जिनिन जोन टाएलेलाई पक्राउ गरिएको लस एन्जलस काउन्टी शेरिफ विभागले जनाएको छ। उनी गल्फ कोर्स वरपर घुमेर फोटो तथा भिडियो खिच्दै सुरक्षा व्यवस्थाको अनुगमन गरिरहेको अवस्थामा भेटिएका थिए।

तलासीका क्रममा प्रहरीले टाएलेको साथबाट १६ राउन्ड क्षमताको म्यागजिन र प्रतिबन्धित ‘होलो-पोइन्ट’ गोली बरामद गरेको छ। साथै, गल्फ कोर्सको पार्किङमा राखिएको उनको गाडीबाट एक लोड गरिएको पेस्तोल पनि फेला परेको छ। टाएले यसअघि नजिकैको एल सेगुन्डो शहरमा भएको डाँका चोरीको घटनामा पनि खोजीसूचीमा रहेका अभियुक्त हुन्।

घटनापछि एफबीआईको संयुक्त आतंकवाद विरोधी कार्यदल र काउन्टी शेरिफ टोलीले डाउनी शहरस्थित टाएलेको घरमा छापा मारेको थियो। छापा मार्ने क्रममा उनको घरबाट गैरकानुनी रूपमा परिमार्जन गरिएको एआर-प्लाटफर्म राइफल, .४५ क्यालिबरको पेस्तोल, बडी आर्मर, उच्च क्षमताका म्यागजिनहरू, धेरै परिमाणमा गोलीहरू र शंकास्पद टिप्पणीहरू लेखिएका कापीहरू बरामद गरिएका छन्।

सुरक्षा निकायहरूले यस घटनाबाट स्थानीय समुदायमा कुनै प्रत्यक्ष खतरा नरहेको बताएका छन्। यद्यपि, अमेरिकी सेक्रेट सर्भिस र अन्य निकायहरूले यसबारे थप अनुसन्धान जारी राखेका छन्।

राष्ट्रपति ट्रम्प मंगलबार रिपब्लिकन पार्टीको चन्दा संकलन कार्यक्रमका लागि क्यालिफोर्निया पुग्ने र त्यसपछि नेभाडाको लास भेगास जाने तालिका रहेको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।