२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

अमेरिकी आर्थिक वृद्धिदर १.५ प्रतिशतमा खुम्चियो, उपभोक्ता खर्च बढे पनि अर्थतन्त्र सुस्त

Photo: Brittani Burns/ Unsplash

वाणिज्य विभागले बिहीबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार अप्रिलदेखि जुनसम्मको अवधिमा अमेरिकी अर्थतन्त्रको वृद्धिदर १.५ प्रतिशतमा सीमित भएको छ। उपभोक्ता तथा व्यावसायिक खर्च बढे तापनि सरकारी बजेटमा आएको कटौतीका कारण समग्र वृद्धि प्रभावित भएको हो।

अर्थशास्त्रीहरूका अनुसार दोस्रो त्रैमासिकमा सोचेभन्दा बढी आयकर फिर्ता पाएकै कारण अमेरिकीहरूले खर्च कायमै राख्न सकेका हुन्। यसका साथै, चार वर्षमा एक पटक हुने विश्वकप फुटबल प्रतियोगिताले स्थानीय तथा विदेशी पर्यटकहरूलाई खर्च गर्ने अवसर दिलाएको थियो। यद्यपि, समग्र आर्थिक वृद्धि अर्थशास्त्रीहरूले अनुमान गरेको करिब २ प्रतिशतभन्दा कमै रह्यो। बोस्टन कलेजका अर्थशास्त्रका प्राध्यापक ब्रायन बेथ्युन भन्छन्, अर्थतन्त्रको स्थिति सामान्य छ; यो न त धेरै अनियन्त्रित भई तातेको छ, न त पूर्ण रूपमा सुस्त नै भएको छ।

अर्को तर्फ, सरकारी प्रतिवेदनले मुद्रास्फीतिका क्षेत्रमा केही राहत मिलेको देखाएको छ; तर अर्थशास्त्रीहरू यो सुधार अल्पकालीन मात्र हुन सक्ने सङ्केत गर्छन्। फेडेरल रिजर्भले प्रयोग गर्ने मुख्य मापदण्ड अनुसार जुन महिनामा वार्षिक मूल्य वृद्धिदर ३.७ प्रतिशतमा झरेको छ, जुन अघिल्लो महिनाको तुलनामा केही राम्रो हो। अस्थिर मानिने खाद्य तथा ऊर्जा क्षेत्रलाई छाडेर हेर्दा मुख्य मुद्रास्फीति ३.३ प्रतिशत कायम भएको छ।

अमेरिका र इरानबिचको युद्धविरामका कारण इन्धनको मूल्य घट्न मद्दत पुगेको थियो। जुन १ मा प्रति ग्यालन $४.३० रहेको पेट्रोलको मूल्य करिब ५० सेन्टले घटेको थियो। तर, पुनः द्वन्द्व सुरु भएपछि मूल्य बढेर जुलाई २७ सम्ममा प्रति ग्यालन $४.१० पुगेको अमेरिकी ऊर्जा सूचना प्रशासनले जनाएको छ। यस तथ्याङ्कमा राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि पुनः बमबारी गर्ने निर्णय र गत हप्ता ८० भन्दा बढी व्यापारिक साझेदारहरूमाथि लगाएको भन्सार महसुलको प्रभाव समावेश भइसकेको छैन।

यसैबिच, निरन्तरको मुद्रास्फीतिका कारण बुधबार फेडेरल रिजर्भको नीति निर्माण बोर्डका सदस्यहरूबिच मत विभाजन देखियो। ९-३ को बहुमतले फेडेरल ओपन मार्केट कमिटीले अल्पकालीन ब्याजदरलाई ३.५ प्रतिशतदेखि ३.७५ प्रतिशतकै बिचमा यथावत् राख्ने निर्णय गर्‍यो। मुद्रास्फीति लगातार पाँच वर्षभन्दा बढी समयदेखि फेडेरल रिजर्भको २ प्रतिशतको लक्ष्यभन्दा माथि रहँदै आएको छ। बुधबार अमेरिकी सेयर बजारमा गिरावट आयो भने ट्रेजरी प्रतिफल वृद्धि भयो; जसले मुद्रास्फीति नियन्त्रण गर्ने केन्द्रीय बैंकको क्षमताप्रति लगानीकर्ताहरू चिन्तित रहेको पुष्टि गर्छ।

नोभेम्बर हुने मध्यावधि निर्वाचनमा कंग्रेसमाथिको वर्चस्व कायम राख्ने रिपब्लिकन पार्टीको रणनीतिमा अर्थतन्त्रप्रतिको जनअसंतोष ठुलो चुनौती बनेको छ। क्विनिपियाक युनिभर्सिटीले बुधबार सार्वजनिक गरेको मत सर्वेक्षण अनुसार ३४ प्रतिशत मतदाताले मात्र ट्रम्पको आर्थिक नीतिको समर्थन गरेका छन् भने ६२ प्रतिशतले असन्तुष्टि जनाएका छन्। त्यसैगरी, ५९ प्रतिशत उत्तरदाताले अर्थतन्त्र बिग्रिँदै गएको र १९ प्रतिशतले मात्र सुधार भइरहेको बताएका छन्।

प्राध्यापक बेथ्युनका अनुसार विगतका महिनाहरूमा आर्थिक वृद्धिलाई सहयोग पुर्‍याएका सुविधाहरू अब सकिँदै गएकाले आगामी दिनमा अर्थतन्त्र थप सुस्त हुन सक्छ। आन्तरिक राजस्व सेवाका अनुसार राष्ट्रपतिले ल्याएको कर विधेयकका कारण यस वर्ष व्यक्तिगत ट्याक्स रिफन्ड अघिल्ला वर्षहरूको तुलनामा ११ प्रतिशतभन्दा बढी थियो। तर, अधिकांश रिफन्ड रकम पठाइसकिएको छ। अर्कोतिर, जुलाई १९ मा विश्वकप सकिएकाले अन्तर्राष्ट्रिय समर्थकहरू फर्किसकेका छन् भने ठुलो प्रतियोगितामा खुला खर्च गरेका अमेरिकीहरूले पनि अब हात कस्ने सम्भावना छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।