विश्वकै ठूलो पार्किङ ग्यारेज र नयाँ रेल प्रणालीसहित डल्लेस विमानस्थलको पुनर्निर्माण गर्ने ट्रम्पको घोषणा
फोटो: एपी/रासस
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन डिसी नजिकै रहेको प्रसिद्ध ‘डल्लेस अन्तर्राष्ट्रिय विमानस्थल’को व्यापक पुनर्निर्माण तथा आधुनिकीकरण गर्ने घोषणा गरेका छन्। ह्वाइट हाउसको ओभल अफिसमा आयोजित एक कार्यक्रममा राष्ट्रपति ट्रम्पले ५० लाख वर्गफिटभन्दा बढी क्षेत्रफलमा नयाँ संरचना निर्माण तथा मर्मतसम्भार गरिने जानकारी दिएका छन्।
विश्वभरका शीर्ष आर्किटेक्टहरूका ३० भन्दा बढी प्रस्तावहरूको समीक्षापछि यो डिजाइन छनोट गरिएको ट्रम्पले बताए।
जीर्ण भइसकेका पुराना ‘सी’ र ‘डी’ कन्कोर्सहरूलाई पूर्ण रूपमा नयाँ संरचनाले विस्थापित गरिनेछ। यद्यपि, विमानस्थलको ऐतिहासिक मुख्य टर्मिनललाई भने यथावत् जोगाइनेछ। यसबाहेक, ३२,००० सवारी साधन अटाउने बहुतले पार्किङ ग्यारेज निर्माण गरिनेछ, जसलाई ट्रम्पले “विश्वकै सबैभन्दा ठूलो पार्किङ ग्यारेज” हुने दाबी गरेका छन्।
यात्रुहरूलाई टर्मिनलसम्म पुर्याउन प्रयोग गरिने पुराना र ढिला गतिमा चल्ने मोबाइल लाउन्जलाई हटाएर द्रुत र प्रभावकारी ‘हर्सशु रेल प्रणाली’ राखिनेछ।
यातायात मन्त्री सिन डफीका अनुसार २२ अर्ब डलरको यो आयोजनाका लागि सङ्घीय सरकारको करदाताको रकम प्रयोग हुने छैन। यो आयोजना २२.५ अर्ब डलरको बन्ड जारी गरेर र युनाइटेड एयरलाइन्स लगायत सहभागी विमान कम्पनीहरूको लगानीबाट सम्पन्न गरिनेछ।
सुरुआती अनुमति र कानुनी प्रक्रिया बाँकी भए पनि आगामी वसन्त ऋतु सम्ममा काम सुरु गर्ने लक्ष्य राखिएको छ। राष्ट्रपति ट्रम्पले यो काम २ वर्षभित्रै सम्पन्न गर्ने इच्छा व्यक्त गरेका छन्। यद्यपि, यातायात मन्त्रालय र युनाइटेड एयरलाइन्सका अनुसार यो आयोजना चरणबद्ध रूपमा सम्पन्न हुन आगामी केही वर्ष वा एक दशकसम्म लाग्न सक्छ।
सन् १९६२ मा तत्कालीन राष्ट्रपति जोन एफ. केनेडीद्वारा उद्घाटन गरिएको यो विमानस्थल पूर्व विदेशमन्त्री जोन फोस्टर डल्लेसको नाममा नामाकरण गरिएको हो। पुराना संरचना र डिजेलको गन्ध आउने ‘पिपुल मुभर्स’का कारण यात्रुहरूले लामो समयदेखि यहाँ सास्ती खेप्दै आएका थिए।





