ट्रम्प प्रशासनद्वारा आप्रवासी गिरफ्तारीमा नयाँ रेकर्ड, जुन महिनामा मात्रै ४३ हजारभन्दा बढी पक्राउ
फोटो: होमल्याण्ड सेक्युरिटी
अमेरिकी अध्यागमन एजेन्टहरूले देशभर आफ्ना गतिविधिहरू तीव्र रूपमा बढाउँदै लैजाँदा गत जुन महिनामा ट्रम्प प्रशासनले कीर्तिमानी सङ्ख्यामा आप्रवासीहरूलाई गिरफ्तार गरेको छ। आइसद्वारा सार्वजनिक गरिएको पछिल्लो तथ्याङ्क अनुसार जुन महिनामा मात्रै ४३,१३८ जना गिरफ्तार भएका छन्।
यो सङ्ख्या गत वर्षको जनवरीमा डोनाल्ड ट्रम्पले राष्ट्रपति पद सम्हालेयता र सामूहिक देश निकालाको अभियान घोषणा गरेपछिकै सबैभन्दा उच्च हो।
आइसले सार्वजनिक गरेको विवरण अनुसार गत अप्रिल महिनादेखि यता हिरासतमा रहेका आप्रवासीको सङ्ख्या ५,४५० ले बढेर जुलाई ११ सम्म कुल ६५,७६५ पुगेको छ।
हिरासतमा रहेकाहरू मध्ये कुनै पनि आपराधिक पृष्ठभूमि नभएका आप्रवासीहरूको सङ्ख्या आपराधिक अभियोग लागेका वा दोषी ठहरिएकाहरूभन्दा बढी छ।
तथ्याङ्क अनुसार सन् २०२५ जनवरीदेखि हालसम्म ट्रम्प प्रशासनले कुल ५ लाख ९० हजार ६ सयभन्दा बढी आप्रवासीहरूलाई देश निकाला गरिसकेको छ।
७० अर्ब डलरको बजेट वृद्धि पाएको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी लाई ह्वाइट हाउसले दैनिक २,००० सम्म आप्रवासी पक्राउ गर्ने लक्ष्य दिएको छ।
हालै अध्यागमन अधिकारीहरूको कारबाहीमा परी दुई जना-लोरेन्जो साल्गाडो अराउजो (५२) र जोआन सेबास्टियन दुरान ग्वेरेरो (२६)-को मृत्यु भएपछि अमेरिकाका विभिन्न सहरहरूमा विरोध प्रदर्शन भइरहेका छन्।
अधिकारकर्मी तथा कानुन व्यवसायीहरूका अनुसार पहिले जस्तो सार्वजनिक पार्क वा पार्किङ स्थलहरूमा टोलीसहित छापा मार्ने शैली अचेल कम गरिएको छ। त्यसको सट्टा अहिले,कार्यस्थल र घरबाहिर, ट्राफिक चेकिङका क्रममा, आइस कार्यालयमा नियमित हाजिरी दिन जाँदा र स्थानीय प्रहरी र सेरिफहरूसँगको समन्वयमा बढी सक्रिय भएको छ।
मानिसहरूलाई शान्त र नियमित रूपमा पक्राउ गर्ने गरिएको छ। पक्राउ यति छिटो र शान्त रूपमा हुने गरेको छ कि नागरिक अधिकारकर्मीहरूले खबर पाउँदा वा घटनास्थल पुग्दा खाली गाडी मात्र बाँकी रहने गरेको कानुनी सहायता समूहहरूले बताएका छन्।





