ट्रम्प प्रशासनद्वारा राष्ट्रसंघीय शरणार्थी नियोगसँगको सम्बन्ध तोड्नेबारे छलफल, कूटनीतिज्ञहरूद्वारा सहयोग जोगाउने प्रयास
Photo:Hosien Azour/ Unsplash
हालैका हप्ताहरूमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोगसँगको सम्बन्ध तोड्ने विषयमा गम्भीर छलफल चलाएको छ। यस कदमलाई रोक्न र अमेरिकाको सहयोग निरन्तर कायम राख्न कूटनीतिज्ञ तथा राष्ट्रसंघका अधिकारीहरूले व्यापक पहल सुरु गरेको विषयसँग जानकार स्रोतहरूले बताएका छन्।
ऐतिहासिक रूपमा युएनएचसीआरको सबैभन्दा ठूलो दाता रहँदै आएको वासिङ्टनले नियोगबाट अलग हुने विचार गरिरहेको कूटनीतिज्ञ, सहायताकर्मी र कंग्रेसका प्रतिनिधिहरूसहित आठ जना फरक-फरक स्रोतले पुष्टि गरेका छन्। गत हप्ता नै यसबारे आधिकारिक निर्णय आउने अपेक्षा गरिए पनि कुनै घोषणा भएन, जसले कूटनीतिक दबाब र लबिङका कारण यो निर्णय तत्कालका लागि टरेको वा ढिलाइ भएको सङ्केत गर्छ।
दोस्रो विश्वयुद्धपछि युद्ध, उत्पीडन र हिंसाबाट विस्थापित भएका शरणार्थीहरूको सहायताका लागि युएनएचसीआरको स्थापना भएको थियो। डेपुटी हाइ कमिश्नरको नियुक्तिलाई लिएर उत्पन्न असमझदारीपछि अमेरिकाले यो नियोग छाड्नेबारे छलफल अघि बढाएको बताइएको छ। स्रोतहरूका अनुसार नियोगले आफ्ना समर्थकहरूलाई अमेरिकाले युएनएचसीआरलाई ‘ब्ल्याकलिस्ट’ मा राख्न सक्ने, जसले गर्दा वित्तीय सहयोग पूर्ण रूपमा रोकिन सक्ने र यसको सञ्चालक कार्यकारी समितिबाट समेत अमेरिका बाहिरिन सक्ने चेतावनी दिएको छ।
युक्रेन र सुडान जस्ता दीर्घकालीन द्वन्द्वका कारण विश्वभर विस्थापनले नयाँ रेकर्ड कायम गरिरहेका बेला अमेरिकी आर्थिक सहायता बन्द हुनु नियोगका लागि ठूलो धक्का हुने सहायता अधिकारीहरूले बताएका छन्।
छलफलमा सहभागी एक सहायता संस्थाका प्रतिनिधिले भने, “युएनएचसीआरले आफ्ना समर्थकहरूलाई ट्रम्प प्रशासनका मानिसहरूसँग कुरा गर्न र दबाब दिन आग्रह गरेको छ, र धेरैले त्यसो गरिरहेका छन्। अर्का एक कूटनीतिज्ञले पनि नियोगले आफ्ना समर्थकहरूलाई कूटनीतिक च्यानलमार्फत अमेरिकालाई सहयोग जारी राख्न मनाउन भनेको जानकारी दिएका छन्।
यसबारे युएनएचसीआरका प्रवक्ताले कुनै प्रतिक्रिया दिएका छैनन् भने राष्ट्रसंघका प्रवक्ता स्टेफान दुजारिकले आफूहरूसँग यसबारे कुनै जानकारी नरहेकाले टिप्पणी नगर्ने बताएका छन्।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले भने युएनएचसीआरसँगको सहकार्यमा हालसम्म कुनै परिवर्तन नआएको दाबी गरेका छन्। अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरू जस्तै, अमेरिकी विदेश नीति र जनधनको रक्षाका लागि उपयोगी भएसम्म हामी युएनएचसीआरमार्फत काम गरिरहने छौँ, उनले भने। यद्यपि, फेब्रुअरी २०२५ को कार्यकारी आदेश अनुसार अन्तर्राष्ट्रिय संस्थामा अमेरिकाको संलग्नता र आर्थिक सहयोगको पुनरावलोकन जारी रहने उनले स्पष्ट पारे।
दोस्रो कार्यकाल सम्हालेयता राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य सङ्गठन लगायत राष्ट्रसंघका दर्जनौँ निकायहरूबाट अमेरिकालाई बाहिर निकालिसकेका छन् र सहायता रकममा भारी कटौती गरेका छन्।





