२२ कार्तिक २०८३, आइतबार| Sunday, November 8, 2026

स्यान फ्रान्सिस्को विमानस्थलमा यात्रुमाथि दुर्व्यवहार, युनाइटेड एयरलाइन्सका कर्मचारीद्वारा आइसको धम्की

Photo: Aric Cheng/ Unsplash

अमेरिकाको स्यान फ्रान्सिस्को अन्तर्राष्ट्रिय विमानस्थलमा टिकटको विषयलाई लिएर भएको विवादका क्रममा युनाइटेड एयरलाइन्सका एक कर्मचारीले एक यात्रुलाई अध्यागमन अधिकारी बोलाएर पक्राउ गराउने धम्की दिएपछि एक परिवार त्रास र चिन्तामा परेको छ।

सान रामोन निवासी जुलियो भारेलाले मोन्ट्रियलबाट शनिबार राति स्यान फ्रान्सिस्को फर्किने क्रममा आफू र आफ्नो परिवारलाई आइसले नियन्त्रणमा लिने हो कि भन्ने डर रहेको बताए। उनले भने, हामी स्यान फ्रान्सिस्को फर्किएपछि के हुन्छ भन्ने मलाई अझै थाहा छैन। अहिलेसम्म न त विमानस्थल अधिकारीले न त युनाइटेड एयरलाइन्सले नै हामीलाई कुनै आश्वासन दिएका छन्।

यो घटना जुलाई १४ मा एसएफओको युनाइटेड एयरलाइन्स काउन्टरमा घटेको हो। भारेला परिवार क्यानडा भ्रमणका लागि प्रस्थान गर्दै थिए। टिकट बुक गर्दा भारेलाकी श्रीमतीबाट आफ्नी छोरीको थरको ठाउँमा गल्तीले बीचको नाम पर्न गएको थियो।

भारेलाका अनुसार, एयरलाइन्सकै प्रतिनिधिले फोनमा विमानस्थल चाँडो आएर सो त्रुटि सच्याउन सल्लाह दिएका थिए। तर, विमानस्थलमा करिब तीन घण्टा पर्खिएपछि युनाइटेडको साझेदार एयरलाइन्सका कर्मचारीले समस्या समाधान गर्नै लाग्दा युनाइटेडकी अर्की कर्मचारीले हस्तक्षेप गर्दै सहयोग गर्न अस्वीकार गरिन्।

उनी आफैं आएर तपाईंहरू अझै यहीँ हुनुहुन्छ? हामीले यो गर्न सक्दैनौँ भनेर भनिसक्यौँ’ भन्दै कराउन थालिन्, भारेलाले भने।

कर्मचारीको रुखो व्यवहारपछि भारेलाले घटनाको उजुरी गर्न ती कर्मचारीको नाम सोध्दै आफ्नो मोबाइलबाट भिडियो खिच्न थाले। त्यसपछि ती कर्मचारीले पनि आफ्नो फोन निकालेर भारेलाको भिडियो खिच्न थालिन् र नाम भन्न अस्वीकार गर्दै आइस बोलाउने धम्की दिइन्।

भाइरल भिडियोमा ती कर्मचारीले हामीले तपाईंहरू विरुद्ध आइसलाई खबर गर्नुपर्छ जस्तो छ भनेको सुन्न सकिन्छ। भारेलाले सो कुरा दोहोऱ्याउन आग्रह गर्दा उनले भनिन्, हो, सायद गर्नै पर्छ, किनभने तपाईंको व्यवहार नागरिकको जस्तो छैन। यहाँबाट हट्नुहोस्।

अमेरिकी नागरिक समेत रहेका भारेलाले यो घटनाबाट आफू स्तब्ध र आक्रोशित भएको बताएका छन्। म अमेरिकी नागरिक हुँ। वर्तमान राजनीतिक वातावरणका बीच मलाई आइसको धम्की दिइनु निकै दुःखद र अपमानजनक छ, उनले भने।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

भारेलाका अनुसार भिडियो खिच्ने क्रममा ती कर्मचारीले उनको हात र मोबाइलमा हानेर भिडियो बन्द गराउने प्रयास समेत गरेकी थिइन्।

घटना सार्वजनिक भएपछि युनाइटेड एयरलाइन्सले संक्षिप्त प्रतिक्रिया दिँदै भिडियोमा देखिएको घटनाबारे आन्तरिक छानबिन भइरहेको जनाएको छ।

त्यस्तै, कर्मचारीको ट्रेड युनियनका सञ्चार निर्देशकले भिडियोमा व्यक्त गरिएका विचारहरू युनियनको मूल्य-मान्यता विपरीत रहेको र यस विषयलाई सामूहिक सौदेबाजी सम्झौताको प्रक्रिया अनुसार अगाडि बढाइने स्पष्ट पारेका छन्।

स्यान फ्रान्सिस्को अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीहरूले भने यस विषयमा अहिलेसम्म कुनै आधिकारिक टिप्पणी गरेका छैनन्

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।