अमेरिकाको टेक्सासमा गोलीकाण्ड: एक जनाको मृत्यु, नौ घाइते


प्रकाशित मिति : २९ जेष्ठ २०८३, शुक्रबार

अमेरिकाको टेक्सासमा भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ। घटनामा अन्य नौ जना घाइते भएका छन्।

पश्चिम टेक्सासस्थित मिडल्यान्ड सहरमा उक्त गोलीकाण्ड भएको हो। घटनामा घाइते भएका नौ जनालाई अस्पताल भर्ना गरिएको छ। घटनाका क्रममा प्रहरी र बन्दुकधारीबीच केही समय आमनेसामने (स्ट्यान्डअफ) फायरिङको अवस्था सिर्जना भएको थियो।

संदिग्ध आक्रमणकारीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। मिडल्यान्ड सहर डलासबाट करिब ५३० किलोमिटर पश्चिममा अवस्थित छ। घटनामा मृत्यु भएका व्यक्तिसहित जम्मा ११ जना पीडित रहेको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्। मिडल्यान्ड मेमोरियल अस्पतालका अनुसार नौ जना घाइतेलाई उपचारका लागि अस्पताल ल्याइएको छ।

मिडल्यान्डकी मेयर लोरी ब्लोङले समुदायको सुरक्षाका लागि प्रहरीहरू आफ्नो ज्यानको जोखिम मोलेर खटिएको बताइन्।

गोलीकाण्ड सुरु भएको करिब दुई घण्टासम्म प्रहरी र संदिग्धबीच आमनेसामनेको अवस्था कायम रहेको थियो। घटना सहरको एक भागबाट सुरु भएर अर्को क्षेत्रमा रहेको एक पशु चिकित्सालय नजिक पुगेर टुंगिएको थियो। पशु चिकित्सालय नजिकै रहेको एक अटो बडी पसलमा कार्यरत एन्ड्रिया मेन्डियासले कम्तीमा ४० राउन्ड गोली चलेको बताइन्।

केही समयपछि मिडल्यान्ड प्रहरीले फेसबुकमार्फत ‘सक्रिय गोलीकाण्डको घटना अन्त्य भएको र संदिग्धको मृत्यु पुष्टि भएको’ जनाएको थियो।

मिडल्यान्ड यसअघि पनि सामूहिक गोलीकाण्डबाट प्रभावित भएको सहर हो। छ वर्षअघि तेल सेवा कम्पनीको जागिरबाट निकालिएका एक व्यक्तिले मिडल्यान्ड र नजिकैको ओडेसा क्षेत्रमा जथाभावी गोली चलाउँदा सात जनाको मृत्यु भएको थियो भने दुई दर्जनभन्दा बढी घाइते भएका थिए। यस सहरको जनसंख्या करिब एक लाख ४० हजार रहेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com