ट्रम्पको इरान युद्ध नीतिविरुद्ध आफ्नै पार्टीका सांसदको विद्रोह, प्रतिनिधि सभाबाट प्रस्ताव पारित


प्रकाशित मिति : २० जेष्ठ २०८३, बुधबार

white concrete building under clear blue sky

तस्बिर: अलेजान्ड्रो बार्बा

इरान युद्धको सवालमा अमेरिकी प्रतिनिधि सभा राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्ध उभिएको छ। इरानविरुद्ध थप सैन्य कारबाही गर्नबाट रोक्ने उद्देश्यले ल्याइएको प्रस्ताव पारित गर्दै प्रतिनिधि सभाले ट्रम्पविरुद्ध उभिएको सङ्केत दिएको हो।

युद्ध रोक्ने प्रस्तावको पक्षमा २१५ मत र विपक्षमा २०८ मत परेको छ। उक्त प्रस्तावलाई चार जना रिपब्लिकन सांसदहरूले डेमोक्र्याटहरूसँग मिलेर समर्थन गरेका थिए।

फेब्रुअरीमा सुरु भएको युद्धप्रति रिपब्लिकन पार्टीभित्र सार्वजनिक रूपमा असहमति देखिएको यो दुर्लभ उदाहरण मानिएको छ। आलोचकहरूका अनुसार ट्रम्पले कंग्रेसको स्वीकृतिबिनै युद्ध सञ्चालन गरेका छन्। प्रतिनिधि सभाले ट्रम्पको युद्धसम्बन्धी अधिकार सीमित गर्न गरेको यो चौथो प्रयास हो।

तर उक्त प्रस्ताव कानुन बन्नुअघि रिपब्लिकनहरूको नियन्त्रणमा रहेको अमेरिकी सिनेटबाट पनि पारित हुनुपर्नेछ। सिनेटबाट स्वीकृत भए पनि यसले इरानविरुद्धको सैन्य कारबाहीलाई पूर्ण रूपमा रोक्न सक्ने सम्भावना कम छ। ट्रम्पले उक्त प्रस्तावमा भिटो प्रयोग गर्न सक्नेछन्। भिटो निष्क्रिय बनाउन प्रतिनिधि सभा र सिनेट दुवैमा दुई-तिहाइ बहुमत आवश्यक पर्छ।

प्रतिनिधि सभामा रिपब्लिकन सांसदहरू थोमस म्यासी, ब्रायन फिट्जप्याट्रिक, टम ब्यारेट र वारेन डेभिडसनले डेमोक्र्याटहरूसँग मिलेर प्रस्तावको समर्थन गरे। यसअघि यस्ता प्रस्तावको विपक्षमा मतदान गर्दै आएका मेन राज्यका डेमोक्र्याट सांसद जारेड गोल्डेनले पनि यसपटक समर्थन जनाए।

यो मतदान ट्रम्पको रिपब्लिकन पार्टीभित्र बढ्दो मतभेदको अर्को सङ्केतका रूपमा हेरिएको छ। केही दिनअघि मात्रै कंग्रेसमा रिपब्लिकनहरूको विरोधपछि ट्रम्प प्रशासनले आफ्ना राजनीतिक समर्थकहरूका लागि प्रस्तावित १.८ अर्ब डलरको ‘एन्टी–वेपनाइजेसन’ कोषको योजना फिर्ता लिएको थियो।

प्रतिनिधि सभाको विदेश मामिला समितिका वरिष्ठ डेमोक्र्याट सदस्य ग्रेगरी मीक्सले यस मतदानलाई राष्ट्रपति ट्रम्पको अवैध र महँगो इरान युद्धविरुद्धको महत्त्वपूर्ण द्विदलीय अस्वीकृति तथा युद्ध अन्त्यतर्फको पहिलो कदम भनेका छन्।

युद्धविराम सम्झौता भए पनि हालैका दिनहरूमा अमेरिकाले इरानमाथि आक्रमण जारी राखेको छ। इरानले अमेरिकी सहयोगी राष्ट्र कुवेतमाथि जवाफी आक्रमण गरेको छ। इजरायलसँग मिलेर गत फेब्रुअरी २८ मा अमेरिकाले इरानमाथि आक्रमण गरेपछि युद्ध सुरु भएको हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com