टेक्सासबाट पक्राउ परे आइस एजेन्ट, गोलीकाण्डमा मुद्दा


प्रकाशित मिति : १६ जेष्ठ २०८३, शनिबार

फोटो: होमल्याण्ड सेक्युरिटी

अमेरिकाको टेक्सास राज्यबाट एक संघीय अध्यागमन एजेन्टलाई पक्राउ गरिएको छ। मिनेसोटाका अभियोजकले उनीमाथि मिनेयापोलिसमा एक भेनेजुएलाका नागरिकलाई गोली हानी घाइते बनाएको अभियोग दर्ता गरेको करिब दुई हप्तापछि यो पक्राउ परेको हो।

आइसका ५२ वर्षीय एजेन्ट क्रिस्टियन क्यास्ट्रोमाथि दोस्रो डिग्रीको आक्रमणका चारवटा मुद्दा र अपराधको झूटो रिपोर्टिङ गरेको एउटा मुद्दा लगाइएको छ। उनले गत जनवरी १४ मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रामक र व्यापक विरोध भएको देश निकाला अभियानका क्रममा हुलियो सिजर सोसा-सेलिसको खुट्टामा गोली हानेका थिए।

राज्यका अभियोजकहरूले संघीय कानुन प्रवर्तन अधिकारीहरूमाथि मुद्दा चलाउनु अत्यन्तै दुर्लभ मानिन्छ। तर हेनेपिन काउन्टीकी मुख्य सरकारी वकिल मेरी मोरियार्टीले यसै वर्ष मुद्दा चलाएका क्यास्ट्रो दोस्रो संघीय अधिकारी हुन्। राज्यका अधिकारीहरूले संघीय सरकारलाई आफ्नो संवैधानिक क्षेत्राधिकार मिचेको भन्दै जवाफदेही बनाउने प्रयास गरिरहेका छन्।

ह्वाइट हाउसका अधिकारीहरूले भने आइस एजेन्टहरूको कार्यको बारम्बार बचाउ गर्दै उनीहरूमाथि राज्यको कानुन उल्लंघन गरेकोमा मुद्दा चलाउन नमिल्ने दाबी गरेका छन्, जुन कानुनी रूपमा गलत छ। क्यास्ट्रोलाई मिनेसोटा र टेक्सासका सुरक्षा अधिकारीहरूले टेक्सासको हार्लिन्जेनस्थित एक घरबाट नियन्त्रणमा लिएका हुन्।

यसैबीच, डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरीटीका प्रवक्ताले क्यास्ट्रोमाथिको यस कारबाहीलाई ‘राजनीतिक हत्कण्डा’ को संज्ञा दिँदै कुनै पनि गल्तीको सुनुवाइ संघीय तहमा हुनुपर्ने बताएका छन्। उक्त घटनामा सुरुमा सोसा-सेलिस र अन्य व्यक्तिहरूले बेल्चाले आक्रमण गरेको भन्दै क्यास्ट्रोले आत्मरक्षामा गोली चलाएको दाबी गरिएको थियो।

तर पछि एजेन्टहरूले झूट बोलेको प्रमाणित भएपछि जस्टिस डिपार्टमेनटले सोसा-सेलिसमाथिको मुद्दा खारेज गर्‍यो। अभियोजकहरूका अनुसार क्यास्ट्रो घरबाहिर एक्लै थिए र उनले ढोकाबाट गोली चलाउँदा सोसा-सेलिसलाई लागेको थियो। यस घटनामा झूटो बयान दिने अन्य दुई एजेन्टलाई पनि बिदामा राखिएको छ र उनीहरूमाथि संघीय मुद्दा चल्न सक्ने जनाइएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com