अमेरिकाले विश्वासघात गरिरहेको इरानको आरोप, उचित जवाफ दिने चेतावनी


प्रकाशित मिति : १२ जेष्ठ २०८३, मंगलबार

इरानले अमेरिकामाथि युद्धविरामको पटक–पटक उल्लङ्घन गरेको आरोप लगाएको छ। अमेरिकाले आफ्ना व्यापारिक जहाजहरूमाथि आक्रमण गरेको दाबी इरानले गरेको हो।

इरानी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा युद्धविराम घोषणा भएयता अमेरिकाले गैरकानुनी र अन्यायपूर्ण गतिविधिहरू जारी राखेको आरोप लगाइएको छ। विज्ञप्तिमा इरानी व्यापारिक जहाजहरूविरुद्ध अमेरिकाले “समुद्री डकैती” गरिरहेको समेत उल्लेख छ।

मन्त्रालयले पछिल्लो ४८ घण्टामा इरानको होर्मुज जलमार्ग क्षेत्रमा अमेरिकाले खुला रूपमा युद्धविराम उल्लङ्घन गरेको दाबी गरेको छ। होर्मुज जलमार्ग इरानको दक्षिणी तटस्थित होर्मोजगान क्षेत्रसँग जोडिएको छ।

यता, अमेरिकी सेनाले भने होर्मुज जलमार्ग आसपासका इरानी मिसाइल प्रक्षेपण केन्द्र र डुङ्गाहरूलाई लक्षित गर्दै आत्मरक्षात्मक हमला गरिएको जनाएको छ। अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) का प्रवक्ता टिमोथी हकिन्सले इरानी सेनाबाट उत्पन्न खतरा रोक्न दक्षिणी इरानमा आत्मरक्षाका लागि कारबाही गरिएको बताएका थिए।

तर, इरानी विदेश मन्त्रालयले उक्त आक्रमण पाकिस्तानको मध्यस्थतामा जारी कूटनीतिक वार्ताकै क्रममा भएको उल्लेख गर्दै यसलाई अमेरिकाको “धोका र विश्वासघात” को थप प्रमाण भनेको छ। मन्त्रालयले इरानमाथि हुने कुनै पनि आक्रमणको कडा जवाफ दिइने चेतावनीसमेत दिएको छ।

इरानले कुनै पनि आक्रमणको प्रतिकार गर्न पछि नहट्ने बताउँदै आफ्नो राष्ट्रिय हितको रक्षाका लागि कुनै हिचकिचाहट नदेखाउने स्पष्ट पारेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com