अमेरिकामा सडकबाटै आप्रवासी पक्राउ ११ गुणाले वृद्धि


प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार

तस्वीर : आइस

लिगल डिफेन्स फन्ड अन्तर्गतको थर्गुड मार्शल इन्स्टिच्युटले सार्वजनिक गरेको अनुसन्धानमूलक प्रतिवेदनमा आइसले सहर र समुदायहरूमा पक्राउ गर्ने सञ्जाललाई व्यापक बनाइरहेको देखाएको छ। प्रतिवेदनमा मन्त्रालयकै तथ्याङ्कलाई उद्धृत गर्दै ट्रम्प प्रशासनको पहिलो १४ महिनामा मात्रै अमेरिकाका सबै ५० राज्यहरूबाट ४ लाखभन्दा बढी आप्रवासीहरू पक्राउ परेको उल्लेख गरिएको छ।

स्थानीय स्तरमा आप्रवासन प्रवर्तनको असर बुझ्न न्यासभिल, लस एन्जलस, सिकागो, कोलम्बस र मिनियापोलिस जस्ता सहरहरूको गम्भीरतापूर्वक अध्ययन गरेको छ।

थर्गुड मार्शल इन्स्टिच्युटकी निर्देशक कार्ला म्याकक्यान्डर्सका अनुसार वर्तमान प्रशासनले ‘जेलदेखि देशनिकालासम्मको मार्ग’ तयार पारेको छ, जहाँ ल्याटिन अमेरिकी समुदायको बाहुल्यता रहेका क्षेत्रहरूमा गरिने सामान्य ट्राफिक जाँच कसैको अध्यागमन स्थितिको अन्त्य गर्ने हतियार बन्ने गरेको छ। अध्यागमन तथा राष्ट्रियता ऐनको धारा २८७(जी) अन्तर्गत स्थानीय प्रहरीलाई समेत अधिकार दिएर मन्त्रालयले ट्राफिक जाँचलाई एउटा हतियारको रूपमा प्रयोग गरिरहेको उनको भनाइ छ।

इतिहासदेखि नै चल्दै आएको आप्रवासन कानुनको रङ्गभेदी चरित्र र वर्तमान समयको प्रवर्तन शैलीलाई अलग गरेर हेर्न नसकिने र आज पनि ‘कालो वा गहुँगोरो छाला’ लाई नै मानिसहरू रोक्ने र सोधपुछ गर्ने बहाना बनाइने गरिएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको हिंसात्मक र रङ्गभेदी रणनीतिका हानिकारक प्रभावहरूलाई दर्शाउदै  अमेरिकामा वास्तविक रूपमा को टिक्न पाउने र को नपाउने भन्ने विषयमा गम्भीर प्रश्नहरू उठाएको छ। प्रतिवेदनका मुख्य अंशहरूमा व्यापक र प्रणालीगत रूपमा गरिने जातीय प्रोफाइल प्रमुख छ, जहाँ अनुहारको रङ्ग, जातीय पृष्ठभूमि वा लवजका आधारमा शङ्कास्पद रूपमा बाटोमा रोक्ने गरिन्छ।

यसै डरका कारण धेरैजसो काला जातिका वा ल्याटिनक्स अमेरिकी नागरिकहरू आफ्नै राहदानी वा जन्मदर्ता प्रमाणपत्र बोकेर हिँड्न बाध्य छन्। कतिपय अवस्थामा कानुनी रूपमा बस्दै आएका स्थायी बासिन्दा वा नागरिकहरूलाई समेत भुइँमा पछार्ने, नियन्त्रणमा लिने र उनीहरूको कागजातको वैधतामाथि प्रश्न उठाई दुर्व्यवहार गर्ने गरिएको पाइएको छ।

प्रतिवेदनका अनुसार न्यासभिल, लस एन्जलस, सिकागो, कोलम्बस र मिनियापोलिसका बहुसङ्ख्यक काला र ल्याटिनक्स समुदाय भएका क्षेत्रहरूलाई लक्षित गरी निरन्तर रूपमा सैन्यीकृत छापामारी र धरपकड सञ्चालन गर्ने गरिएको छ। यो धरपकड अभूतपूर्व परिमाणमा भइरहेको छ, जसअन्तर्गत ट्रम्प प्रशासनको १४ महिनामा भएका सडक पक्राउको सङ्ख्या बाइडेन प्रशासनको अन्तिम महिनाहरूको तुलनामा ११ गुणा बढी छ भने कुनै पनि आपराधिक सजाय नभएका व्यक्तिहरूको पक्राउ सङ्ख्या ७ गुणाले बढेको छ।

यसका साथै, आप्रवासी अधिकारीहरूले अत्यधिक बल प्रयोग गर्ने गरेको पाइएको छ। स्थलगत रूपमा अनुगमन गर्नेहरूका अनुसार एजेन्टहरूले गाडीका झ्यालहरू फुटाउने, मानिसहरूलाई जबरजस्ती तानेर बाहिर निकाल्ने, प्रदर्शनकारीहरू विरुद्ध रासायनिक हतियार र स्टन ग्रेनेड प्रयोग गर्ने तथा घाँटीमा घुँडाले थिचेर नियन्त्रणमा लिने  जस्ता अमानवीय तरिकाहरू अपनाएका छन्। यस क्रममा कम्तीमा २० वटा गोलीकाण्ड भएका छन्, जसमा मिनियापोलिसमा रेनी गुड र एलेक्स प्रेट्टीको ज्यान समेत गएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् १९४० मा स्थापना भएको लिगल डिफेन्स फन्ड अमेरिकाको पहिलो नागरिक अधिकार कानुनी सङ्गठन हो। यो सङ्गठन सन् १९५७ देखि एनएएसीपी बाट पूर्ण रूपमा अलग भई स्वायत्त रूपमा काम गरिरहेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com