शिकागोमा नेपाली दूतावासद्वारा राहदानी तथा कन्सुलर सेवा शिविर सञ्चालन हुने


प्रकाशित मिति : १ जेष्ठ २०८३, शुक्रबार

अमेरिकामा रहेको नेपाली दूतावास । फोटो: खसोखास

नेपाली राजदूतावास, वाशिङ्गटन डि.सी.ले इलिनोइ राज्यको शिकागो शहरमा बसोबास गर्ने नेपाली समुदायका लागि राहदानी तथा कन्सुलर सेवा शिविर सञ्चालन गर्ने भएको छ। यो विशेष घुम्ती शिविर सन् २०२६ मे २२ देखि २४ सम्म शिकागो करी हाउसमा आयोजना गरिनेछ। सेवा प्रवाह बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ, जसमा दिउँसो १ बजेदेखि २ बजेसम्म खाजा समय निर्धारण गरिएको छ।

शिविरमा मुख्य रूपमा राहदानी नवीकरण, अधिकृत वारेसनामा र गैर-आवासीय नेपाली परिचयपत्र सम्बन्धी सेवाहरू उपलब्ध गराइनेछन्। राहदानी नवीकरणका लागि सेवाग्राहीले अनिवार्य रूपमा अनलाइन फारम भर्नुपर्नेछ।

आवश्यक कागजातहरूमा सक्कल नागरिकता, पुरानो राहदानी र त्यसका स्पष्ट प्रतिलिपिहरू समावेश हुनुपर्नेछन् भने नाबालकको हकमा नाबालक परिचयपत्र, अभिभावकको नागरिकता तथा विवाह दर्ता प्रमाणपत्र आवश्यक पर्नेछ। साथै, राहदानी प्राप्त गर्नका लागि ट्र्याकिङ नम्बर सहितको ‘प्रिपेड फिर्ती खाम’ पनि सेवाग्राहीले बुझाउनुपर्नेछ।

राजश्व शुल्क भुक्तानीका लागि डेबिट वा क्रेडिट कार्ड मात्र प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। शिविरमा उपस्थित हुने मिति र समय स्थानीय संयोजकहरूले इमेल वा टेलिफोनमार्फत उपलब्ध गराउनेछन्।

थप जानकारीका लागि स्थानीय सम्पर्क व्यक्तिहरू बालाराम घिमिरे (७७३-७१०-३७९५), शिव अधिकारी (७७३-७५१-८६४६), वा श्याम पराजुली (३१२-८६६-६९०४) लाई सम्पर्क गर्न सकिनेछ। राजदूतावासले प्रचलित नियमअनुसार लाग्ने राजश्वबाहेक कसैलाई पनि थप शुल्क नबुझाउन तथा कसैले माग गरेमा दूतावासमा उजुरी गर्न समेत सूचित गरेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com