परिवारमा आधारित ग्रिनकार्ड फाइल गर्ने र भिसा पाउने मिति: कुन श्रेणीमा अग्रता? कुन स्थिर?
जुन २०२६ को भिसा बुलेटिनअनुसार परिवारमा आधारित ग्रिनकार्ड फाइल गर्ने र भिसा पाउने मितिमा केही श्रेणीमा अग्रता कायम भएको छ भने केही श्रेणी स्थिर रहेका छन्। अमेरिकाभित्र रहेका आवेदकका लागि ग्रिनकार्डवाहकका दम्पती र २१ वर्षमुनिका छोराछोरीको फाइल गर्ने मिति अघिल्ला महिनाहरूमा जस्तै जुन महिनामा पनि करेन्ट नै रहने भएको छ। यसको अर्थ, यस श्रेणीका आवेदकहरूले आफ्नो प्राथमिकता मिति जुनसुकै भए पनि समायोजनका लागि आवेदन दिन सक्नेछन्।
अमेरिकी नागरिकका अविवाहित छोराछोरीका लागि ग्रिनकार्ड फाइल गर्ने प्राथमिकता मिति मे महिनामा १ अक्टोबर २०१८ रहेकोमा जुन महिनाका लागि पनि सोही मिति नै स्थिर रहेको छ। त्यसैगरी, २१ वर्षमाथिका अविवाहित छोराछोरीको ग्रिनकार्ड फाइल गर्ने मिति मेमा १ जनवरी २०१८ रहेकोमा जुनमा अग्रता कायम भई २२ मार्च २०१८ पुगेको छ।

विवाहित छोराछोरीको हकमा ग्रिनकार्ड फाइल गर्ने मिति मेमा ८ डिसेम्बर २०१२ रहेकोमा जुन महिनाका लागि पनि सोही मिति नै स्थिर रहेको छ। दाजुभाइ तथा दिदीबहिनीको ग्रिनकार्ड फाइल गर्ने प्राथमिकता मिति मे महिनाको १ सेप्टेम्बर २००९ बाट थोरै अग्रता कायम भई २२ डिसेम्बर २००९ पुगेको छ। भारतको सन्दर्भमा भने अन्य सबै मिति अन्य देशसरह नै रहे पनि दाजुभाइ तथा दिदीबहिनीको ग्रिनकार्ड फाइल गर्ने प्राथमिकता मिति १५ डिसेम्बर २००६ रहेको छ। मेक्सिको र फिलिपिन्सका सन्दर्भमा ग्रिनकार्डवाहकका दम्पती र २१ वर्षमुनिका छोराछोरीको फाइल गर्ने मिति करेन्ट भए पनि परिवारमा आधारित अन्य सबै श्रेणीका ग्रिनकार्ड फाइल गर्ने मिति अन्य देशका तुलनामा धेरै पछाडि छन्।
भिसा अन्तर्वार्ता वा ग्रिनकार्ड जारी हुने अन्तिम निर्णय मितिमा पनि केही श्रेणीमा अग्रता कायम भएको छ भने केही श्रेणी स्थिर रहेका छन्। अमेरिकी नागरिकका अविवाहित छोराछोरीको प्राथमिकता मिति मेमा १ सेप्टेम्बर २०१७ रहेकोमा जुनका लागि पनि सोही मिति नै स्थिर छ। २१ वर्षमाथिका अविवाहित छोराछोरीको श्रेणीमा भने प्राथमिकता मितिमा थोरै अग्रता कायम भई मे महिनाको २२ मे २०१७ बाट जुनका लागि २२ सेप्टेम्बर २०१७ पुगेको छ।

विवाहित छोराछोरी श्रेणीमा मे महिनाको जस्तै १५ फेब्रुअरी २०१२ नै स्थिर रहेको छ। दाजुभाइ तथा दिदीबहिनी श्रेणीमा १५ सेप्टेम्बर २००८ बाट थोरै अग्रता कायम भई ८ नोभेम्बर २००८ पुगेको छ। ग्रिनकार्डवाहकका दम्पती र २१ वर्षमुनिका छोराछोरी श्रेणीको अन्तिम निर्णय मिति पनि १ अगस्ट २०२४ बाट अग्रता कायम भई जुनका लागि १ जनवरी २०२५ पुगेको छ।
भारतको सन्दर्भमा भने अन्य सबै मिति अन्य देशसरह नै रहे पनि दाजुभाइ तथा दिदीबहिनीको भिसा अन्तर्वार्ता वा ग्रिनकार्ड जारी हुने अन्तिम निर्णय मिति १ नोभेम्बर २००६ रहेको छ। मेक्सिको र फिलिपिन्सका सन्दर्भमा परिवारमा आधारित अन्य सबै श्रेणीका भिसा अन्तर्वार्ता वा ग्रिनकार्ड जारी हुने अन्तिम निर्णय मिति अन्य देशका तुलनामा धेरै पछाडि छन्।
जनवरी २१ देखि अमेरिकाको विदेश मन्त्रालयले नेपाललगायत ७५ देशका नागरिकका आप्रवासी भिसा प्रक्रियामा रोक लगाएकाले भिसा अन्तर्वार्तालगायत सबै प्रक्रिया पूरा भए पनि भिसा जारी गरिएको छैन। त्यसकारण सबै प्रक्रिया पूरा गरेका आवेदकहरू पनि भिसा लिएर अमेरिका आउन पाएका छैनन्। जनवरी २१ अघि भिसा पाइसकेकाहरूलाई भने अमेरिका आउन रोक लगाइएको छैन।





