अप्रिल १५ अघि विश्वकप फुटबलको टिकट भएका ५ देशका नागरिकलाई अमेरिकी भिसामा धरौटी नलाग्ने
ट्रम्प प्रशासनले विश्वकप फुटबलका खेल हेर्न अमेरिका आउने ५ देशका फुटबल प्रशंसकहरूलाई १५ हजार डलरको भिसा धरौटी बुझाउनुपर्ने प्रावधानबाट छुट दिने घोषणा गरेको छ। यो सुविधा प्राप्त गर्नका लागि प्रशंसकहरूसँग अप्रिल १५ अगाडि किनेका विश्वकपका वैध टिकटहरू हुनुपर्नेछ। साथै फिफा वेवसाइटमार्फत भिसाको विशेष पासका लागि छनौट गरेको हुनुपर्छ।
अमेरिकी भिसाका धरौटीका नियम लगाइएका ५० देशहरूमध्ये अल्जेरिया, केप भर्डे, आइभरी कोस्ट, सेनेगल र ट्युनिसिया गरी पाँच राष्ट्रहरूले प्रतियोगिताका लागि छनोट भएका छन्। यी देशका नागरिकमात्र मापदण्ड पूरा गरेको भएमा विना धरौटी भिसाका लागि योग्य हुनसक्नेछन् । सन् २०२६ को जुन ११ देखि सुरु हुने यो विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दैछन्।
यसअघि नै खेलाडी र प्रशिक्षकहरूलाई यो धरौटीबाट छुट दिइएको भए पनि बुधबारसम्म साधारण फ्यानहरूका लागि भने यस्तो व्यवस्था गरिएको थिएन। गत अगस्टमा सुरु गरिएको यो १२ महिने परीक्षण कार्यक्रम प्रशासनको अध्यागमन सम्बन्धी कडा नीतिको एक हिस्सा हो।
अमेरिकी विदेश मन्त्रालयका अनुसार भिसा ओभरस्टे रोक्न र स्क्रीनिंग सूचनाहरू अपूर्ण भएका ठाउँहरूमा यो नीति लागू गरिएको थियो। उक्त धरौटी रकम भ्रमण सकेर फर्किएपछि फिर्ता हुने व्यवस्था छ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले एक विज्ञप्ति जारी गर्दै यस कदमको स्वागत गरेको छ। सहभागी देश इरान र हाइटीका यात्रुहरूमाथि भने अझै प्रतिबन्ध कायमै छ। तर ती देशका खेलाडी र प्रशिक्षकहरूलाई भने विश्वकपसँग सम्बन्धित यात्राका लागि छुट दिइनेछ। आइभरी कोस्ट र सेनेगलका यात्रुहरूले संशोधित यात्रा प्रतिबन्धका कारण आंशिक अवरोधहरूको सामना गर्नुपर्ने हुनसक्छ।
(यस अघिको समाचारमा उल्लेखित ‘अमेरिकी भिसा धरौटी छुट’ सम्बन्धी विवरण सच्याइएको छ। ५० वटै देशका नागरिकलाई नभई यो सुविधा विश्वकपमा सहभागी ५ देशका नागरिकका लागि मात्र सीमित छ। यो छुट पाउन अप्रिल १५ अगाडि नै टिकट खरिद गरेको हुनुपर्ने र फिफा वेबसाइटमार्फत भिसाको विशेष पासका लागि छनौट भएको हुनुपर्ने प्रावधान रहेको छ।)





