सान फ्रान्सिस्कोमा नेपाली परेड, नेपाली कला–संस्कृतिको भव्य प्रदर्शन


प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार

क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा नेपाली परेड आयोजना गरिएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यालिफोर्निया च्याप्टरको आयोजनामा सान फ्रान्सिस्को सिटी हलबाट सुरु भएको परेड एम्बारकाडेरो प्लाजासम्म १ दशमलव ६ माइल दूरी पार गर्दै सम्पन्न भएको हो।

शहरको केन्द्रभागमा रहेको मार्केट सडकमा सवारी आवागमन बन्द गराएर विभिन्न भेषभूषा र झाँकीको प्रदर्शनले सडक नै नेपालमय बनेको थियो।

परेडका क्रममा नेपाली झण्डा र फ्ल्याग हल्लाउँदै नेपालको पहिचान प्रस्तुत गरिएको थियो। त्यस्तै, व्यक्तिगत तथा संघ–संस्थाका ब्यानर र जातीय पहिचान झल्किने भेषभूषामा सजिएर सहभागीहरूले बहुभाषिक र बहुसांस्कृतिक देशको परिचय दिएका थिए।

पञ्चकन्या, पञ्चैबाजा, शंखध्वनि, कुमारी, धिमे, लाखे लगायतका झाँकीसहित विभिन्न संस्थाहरू ब्यानरसहित सहभागी भएका थिए। प्रदर्शनपछिको समारोहमा कलाकारहरूले सांस्कृतिक प्रस्तुति पनि दिएका थिए। लस एन्जलस लगायत आसपासका शहर तथा न्यूयोर्क, टेक्सास, न्यू जर्सी लगायतबाट पनि सहभागीहरू आएका थिए।

एनआरएनए क्यालिफोर्निया च्याप्टरका अध्यक्ष केपी ढकालको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि एनआरएनए अमेरिकाका अध्यक्ष सतेन्द्र शाह तथा परेडका अभिभावक संस्था नेपाली महावाणिज्य दूतावासका महावाणिज्य दूत लक्ष्मण खनाल, रिचमण्डका मेयर मार्टिनेज एदुआर्दो, नेपाल आदिवासी जनजाति महासंघ अमेरिका क्यालिफोर्नियाका महासचिव ज्ञानकाजी लामा, नेपाली एसोसिएसन अफ नर्दन क्यालिफोर्नियाका अध्यक्ष प्रितेश कार्की लगायतले मन्तव्य व्यक्त गरेका थिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com