सान फ्रान्सिस्कोमा आइतबार गरिने ‘नेपाल डे परेड’ को तयारी अन्तिम चरणमा


प्रकाशित मिति : २६ बैशाख २०८३, शनिबार

मे १० आइतबार क्यालिफोर्नियाको सान फ्रान्सिस्को सहरमा आयोजना हुने ‘नेपाल डे परेड’ को तयारी अन्तिम चरणमा पुगेको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यालिफोर्निया च्याप्टरको आयोजनामा हुने यस परेडका लागि सरकारी निकायबाट आवश्यक अनुमति एवं अन्य प्रशासनिक प्रक्रिया पूरा भएको आयोजकले जनाएका छन्।

सान फ्रान्सिस्को सिटी हलबाट सुरु हुने परेड एम्बारकाडेरो प्लाजासम्म १.६ माइलको दूरीमा सञ्चालन हुनेछ। सान फ्रान्सिस्को सिटीले सहरको केन्द्र भागमा रहेको मार्केट स्ट्रिटमा परेड अवधिभर सवारी आवागमन बन्द गराई पैदल यात्राका लागि उपलब्ध गराएको छ। विभिन्न भेषभूषा र झाँकीको प्रदर्शनले सडकलाई नै ‘नेपालमय’ बनाइने एनआरएनए क्यालिफोर्निया च्याप्टरका अध्यक्ष केपी ढकालले बताए।

स्थानीय संघसंस्थाका पदाधिकारीहरूले सिटीका अधिकारीहरूसँग कार्यक्रमको विस्तृत स्वरूपबारे छलफल गरी आवश्यक बन्दोबस्त मिलाएका छन्। उनीहरूले परेड सुरु हुने सिटी हलदेखि मार्केट स्ट्रिट र मञ्चस्थल एम्बारकाडेरो प्लाजाको स्थलगत अवलोकन गरी भिडियोमार्फत कार्यक्रमको खाकाबारे जानकारी समेत दिएका छन्।

एनआरएनएले डिसेम्बर २५, २०२५ मा सान फ्रान्सिस्कोमा परेड गर्ने निर्णय गरेको थियो। उक्त आग्रहपछि मार्च ८ मा सिटी अफ सान फ्रान्सिस्कोले परेडका लागि अनुमति स्वीकृत गरेको हो। परेडका लागि आवश्यक नेपाली झण्डा, फ्लायरलगायतका सामग्रीहरू नेपालबाटै ल्याइसकिएको छ।

परेडमा व्यक्तिगत रूपमा तथा विभिन्न संघसंस्थाको ब्यानर, जातीय पहिचान र भेषभूषासहित सहभागिताको तयारी भइरहेको नेपाल आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाका महासचिव ज्ञानकाजी लामाले बताए। परेडमा नेपालको विविधता झल्कने पहिरन तथा संस्कृतिको प्रदर्शन हुने लामाको भनाइ छ।

पञ्चकन्या, पञ्चैबाजा, शंखध्वनी, कुमारी, धिमे र लाखे लगायतका झाँकीसहित सम्बन्धित संस्थाहरू सहभागी हुने अन्तिम तयारी भइरहेको एनआरएनएका सचिव कैलाश केसीले जानकारी दिए। मञ्चमा हुने औपचारिक कार्यक्रममा स्थानीय युवायुवतीको नाचगानका साथै केही राष्ट्रियस्तरका नेपाली कलाकारहरूको समेत प्रस्तुति रहनेछ।

परेडमा सान फ्रान्सिस्कोस्थित विभिन्न देशका महावाणिज्य दूतावासका कूटनीतिक अधिकारी, बे एरियाका सहरका मेयरहरू र सिटी काउन्सिल सदस्यहरूको समेत सहभागिता रहनेछ। यसका लागि सान फ्रान्सिस्कोस्थित नेपाली महावाणिज्य दूतावासले समन्वय गरिरहेको छ। परेड नेपाली महावाणिज्य दूतावासको अभिभावकत्वमा नेपाली कम्युनिटी सेन्टर (नान्स) र नेपाल आदिवासी जनजाति महासंघको सहकार्यमा हुन लागेको हो। यी संस्थाहरूको समन्वयमा बे एरियामा रहेका सम्पूर्ण संघसंस्थाहरू सहभागी हुने अध्यक्ष ढकालले बताए।

कार्यक्रमको तयारीबारे थप जानकारी दिन शनिबार साँझ नेपाली कम्युनिटी सेन्टरमा पत्रकार सम्मेलन आयोजना गरिएको सचिव कैलाश केसीले जानकारी दिएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com