चिनियाँ गुप्तचरका लागि काम गरेको अभियोगमा बेलायती आप्रवासन अधिकारी दोषी ठहर
प्रकाशित मिति : २४ बैशाख २०८३, बिहिबार
तस्बिर: स्यु विन्स्टन / अनस्प्ल्यास
चिनियाँ गुप्तचर निकायका लागि काम गरेको अभियोगमा बेलायतका एक आप्रवासन अधिकारी दोषी ठहर भएका छन्। अदालतले यस कार्यलाई चिनियाँ “छायाँ निगरानी अभियान” को हिस्सा भएको जनाएको छ।
४० वर्षीय ची ल्युंग “पिटर” वाइले गृह मन्त्रालयको कम्प्युटर प्रणालीमा आफ्नो पहुँचको दुरुपयोग गर्दै बेलायतमा रहेका हङकङ समर्थक प्रजातन्त्रवादी कार्यकर्ताहरूको गतिविधि निगरानी गरेको पुष्टि भएको छ। उनले मुख्य आप्रवासन डाटाबेस प्रयोग गरी उनीहरूको गोप्य विवरण चिनियाँ पक्षलाई उपलब्ध गराएको अभियोग लगाइएको थियो।
वाइलाई विदेशी गुप्तचर सेवालाई सहयोग गरेको आरोपमा ‘राष्ट्रिय सुरक्षा ऐन’ अन्तर्गत दोषी ठहर गरिएको हो। यसै मामिलामा ६५ वर्षीय चुंग बिउ “बिल” युएन पनि दोषी ठहर भएका छन्।
युएन हङकङ प्रशासन र वाइबीचको सम्पर्क व्यक्तिको रूपमा कार्यरत रहेको बताइएको छ। वाइ सार्वजनिक पदको दुरुपयोग गरेको अर्को अभियोगमा पनि दोषी ठहरिएका छन्।
यो घटनापछि बेलायती विदेश मन्त्रालयले बेलायतस्थित चिनियाँ राजदूत झेङ जेगुआङलाई स्पष्टीकरणका लागि बोलाउने जनाएको छ। बेलायतका सुरक्षा मन्त्री ड्यान जार्भिसले उनीहरूको गतिविधिलाई “बेलायती सार्वभौमिकतामाथिको हस्तक्षेप” भन्दै यस्तो कार्य कहिल्यै स्वीकार्य नहुने बताए।
यद्यपि, हङकङबाट बेलायत आएका एक व्यक्तिको घरमा जबर्जस्ती प्रवेश गरेको अर्को अभियोगमा भने अदालतले कुनै ठोस निर्णय दिन सकेन। अभियोजन पक्षले उक्त मुद्दामा पुनः सुनुवाइ नगर्ने जनाएको छ। उनीहरूलाई आगामी मे १५ मा सजाय निर्धारण गरिनेछ र हाल हिरासतमा राखिएको छ।
वाइले सन् २०२० मा हिथ्रो विमानस्थलमा सीमा सुरक्षा अधिकारीका रूपमा काम सुरु गरेका थिए। सोही पदका कारण उनले बेलायतमा रहेका विदेशी नागरिकहरूको विस्तृत विवरण रहेको डाटाबेसमा पहुँच पाएका थिए।
अदालतमा प्रस्तुत प्रमाणअनुसार उनले बिदाको दिन र बिरामी बिदामा समेत उक्त प्रणाली प्रयोग गरी हङकङबाट आएका प्रजातन्त्र समर्थकहरूको खोजी गर्ने र त्यसबापत रकम लिने गरेका थिए।
यस घटनाले बेलायतमा चिनियाँ गुप्तचर गतिविधि र हङकङका प्रजातन्त्र समर्थकहरूको सुरक्षाबारे गम्भीर चिन्ता उत्पन्न गरेको छ।





