न्यूयोर्कमा प्रेस स्वतन्त्रता पदयात्रा र विशेष कार्यक्रमसहित खसोखासको १४औँ वार्षिकोत्सव


प्रकाशित मिति : २४ बैशाख २०८३, बिहिबार

न्यूयोर्कस्थित नेपाली सामुदायिक सञ्चारमाध्यम खसोखासले १४औँ वार्षिकोत्सव समुदायका अगुवा, पत्रकार, सहयोगी, विज्ञापनदाता र शुभेच्छुकहरूको उपस्थितिमा मनाएको छ। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा खसोखासले सन् २०१२ यता नेपाली आप्रवासी समुदायका आवाज, सरोकार र सूचनालाई निरन्तर प्राथमिकता दिँदै आएको उल्लेख गरिएको थियो।

कार्यक्रममा बोल्ने वक्ताहरूले अमेरिकी अध्यागमन लगायतका विषयमा विश्वसनीय र प्रमाणित समाचार सम्प्रेषणका लागि खसोखासको प्रशंसा गरेका थिए। साप्ताहिक प्रकाशनका रूपमा सुरु भएको खसोखास अहिले डिजिटल समाचार पोर्टलका रूपमा विस्तार भइसकेको छ भने अमेरिकी अध्यागमन, आवास, स्वास्थ्य, शिक्षा र ट्याक्स लगायत नेपाली-अमेरिकी समुदायसँग सम्बन्धित विषयमा नियमित समाचार प्रकाशन गर्दै आएको छ।

समारोहमा सहभागी समुदाय प्रतिनिधि र सञ्चारकर्मीहरूले खसोखासले नेपाली-अमेरिकी समुदायका खबरलाई मुख्यधाराका सञ्चारमाध्यममा स्थान नपाएका विषयसम्म पुर्‍याउन खेलेको भूमिकाको प्रशंसा गरे। वार्षिकोत्सव कार्यक्रम विश्व प्रेस स्वतन्त्रता दिवससँग पनि जोडिएकाले स्वतन्त्र र समुदायमुखी पत्रकारिताको महत्व अझ उजागर भएको सहभागीहरूको भनाइ थियो।

प्रेस स्वतन्त्रता पदयात्रा

खसोखासको वार्षिकोत्सवको एक अंशका रूपमा विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा “प्रेस फ्रिडम वाक” आयोजना गरिएको थियो। खसोखासको १४औँ वार्षिकोत्सवको औपचारिक समारोह सुरु हुनुअघि ज्याक्सन हाइट्सको ७७ स्ट्रीट र ३७ रोडबाट सुरु भएको पदयात्रा ७७ स्ट्रीट र ३७ एभिन्युसम्म पुगेको थियो।

पदयात्रामा सहभागी पत्रकार तथा समुदायका सदस्यहरूलाई खसोखासले धन्यवाद दिएको छ। उक्त पदयात्रा मिथिला सेन्टर युएसएको सहयोगमा आयोजना गरिएको थियो। पदयात्राका क्रममा सवारीसाधन रोक्दै न्युयोर्क प्रहरीले कार्यक्रमलाई सहज बनाइदिएको थियो। पदयात्रामा खसोखासका सहयोगी, शुभचिन्तक, विज्ञापनदाता, पत्रकार तथा समुदायका सदस्यहरूको सहभागिता रहेको थियो।

खसोखासले विश्व प्रेस स्वतन्त्रता दिवसको महत्वबारे जानकारी दिँदै विश्वसनीय सूचना, जवाफदेहिता, संवाद र विश्वास अभिवृद्धिका लागि प्रेस स्वतन्त्रता तथा स्वतन्त्र पत्रकारिता शान्ति, आर्थिक पुनरुत्थान, दिगो विकास र मानवअधिकारका लागि महत्वपूर्ण रहेको उल्लेख गरेको छ।

सन् १९९३ को डिसेम्बरमा युनेस्कोको महासभाको सिफारिसपछि संयुक्त राष्ट्रसंघीय महासभाले विश्व प्रेस स्वतन्त्रता दिवस घोषणा गरेको थियो। त्यसयता मे ३ लाई विश्वभर प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाइँदै आएको छ। यो दिन सरकारहरूलाई प्रेस स्वतन्त्रताप्रतिको प्रतिबद्धता स्मरण गराउने, सञ्चारकर्मीहरूलाई पत्रकारिताको नैतिकता र स्वतन्त्रताबारे समीक्षा गर्ने तथा आफ्नो कर्तव्यपालनका क्रममा ज्यान गुमाएका पत्रकारहरूलाई श्रद्धाञ्जली दिने अवसरका रूपमा लिइन्छ।

युनेस्कोको वर्ल्ड ट्रेन्ड्स रिपोर्ट २०२२–२०२५ अनुसार सन् २०१२ यताकै सबैभन्दा तीव्र रूपमा प्रेस स्वतन्त्रतामा गिरावट आएको उल्लेख गरिएको छ। प्रतिवेदनमा कृत्रिम एआईको दुरुपयोगमार्फत सूचनाको हेरफेरले जनविश्वास र राष्ट्रिय सुरक्षामा असर पारेको तथा स्वतन्त्र सञ्चारमाध्यमहरू आर्थिक असुरक्षाबाट प्रभावित भइरहेको जनाइएको छ। प्रतिवेदनअनुसार प्रतिशोधको डर, अनलाइन दुर्व्यवहार, कानुनी दबाब र आर्थिक चापका कारण सेल्फ-सेन्सरशिप ६० प्रतिशतभन्दा बढीले बढेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दिवंगत पत्रकारप्रति श्रद्धाञ्जलि

वार्षिकोत्सव कार्यक्रमको औपचारिक सत्रको सुरुवातमा दिवंगत पत्रकारप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै एक मिनेट मौनधारण गरिएको थियो। कर्तव्यपालनका क्रममा ज्यान गुमाएका विश्वभरका पत्रकारहरूको सम्मानमा श्रद्धाञ्जलि अर्पण गरिएको थियो भने खसोखास परिवारका दिवंगत सदस्यहरूको पनि स्मरण गरिएको थियो।

सन् २०१२ देखि खसोखासको यात्रामा खसोखास टिमका शान खड्का, रोबिन झा र आशिष खनालको निधन भइसकेको छ। शान खड्का खसोखासका संस्थापकहरूमध्ये एक थिए भने रोबिन झा र आशिष खनालले खसोखासको नेपाल टिममा रहेर काम गरेका थिए। सहभागीहरूले केही क्षण उभिएर उनीहरूको सम्झनामा प्रार्थना गरेका थिए।

वार्षिकोत्सव विशेषांकको लोकार्पण

खसोखासको १४औँ वार्षिकोत्सवका अवसरमा प्रकाशित ‘खसोखास वार्षिकोत्सव विशेषांक’को पनि लोकार्पण गरिएको थियो। १६८ पृष्ठको पूर्णरंगीन यस विशेषांकमा दर्जनभन्दा बढी अमेरिकी अध्यागमनसम्बन्धी सुझाव, अमेरिकी भिसा, ग्रिनकार्ड लगायतका विषयमा अमेरिकी मूलका चर्चित नेपाली कानुन व्यवसायीहरूले उपलब्ध गराएका अत्यावश्यक जानकारी, खसोखासको १४ वर्षको यात्रा, अमेरिकामा रहेका नेपाली व्यवसायीहरूको सफलताका कथाहरू, ट्रम्प प्रशासनले अध्यागमनमा गरेका परिवर्तनको एक वर्षको विस्तृत टाइमलाइन तथा ट्याक्स, हाउजिङ, कला–संस्कृति लगायतका विषयमा स्रोत, जानकारी र लेखहरू समेटिएका छन्।

यस विशेषांकको लोकार्पण संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद् (इकोसक) का अध्यक्ष तथा संयुक्त राष्ट्रसंघका लागि नेपाली नियोगका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापा, न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत दधिराम भण्डारी तथा मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारीले खसोखास टिमसँग मिलेर गरेका थिए।

विशेषांक तयार पार्न ठूलो मेहनत र समय लागेको उल्लेख गर्दै सहभागीहरूबाट प्राप्त निरन्तर सहयोगकै कारण यो सम्भव भएको खसोखासका सम्पादक सुरेश शाहीले बताए। शाहीले यसलाई खसोखासको यात्रामा एउटा महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै आगामी दिनमा यसलाई वार्षिक परम्पराका रूपमा अघि बढाउने आशा व्यक्त गरे। लोकार्पणका क्रममा उपस्थित धेरै अतिथिहरूले विशेषांकको प्रति प्राप्त गरेका थिए।

सेवा पत्रकारिताको उदाहरण खसोखास

कार्यक्रममा बोल्दै डिजिमेन्टर्सका सीईओ, साउथ एसियन जर्नालिस्ट्स एसोसिएसन (साजा) का सह–संस्थापक, ओस्लोमा हुने वार्षिक नोबेल शान्ति पुरस्कार सम्मेलनका सह–अवधारक, स्वतन्त्र पत्रकार तथा ‘श्री’ज सन्डे नोट’ र न्यूयोर्क टाइम्स रिडअलङ पोडकास्टका सह–होस्ट स्री श्रीनिवासनले खसोखासको योगदानको प्रशंसा गर्दै समुदाय पत्रकारिताको महत्वमाथि जोड दिए।

उनले साजाको तर्फबाट शुभकामना व्यक्त गर्दै दक्षिण एसियाली मूलका एक हजारभन्दा बढी पत्रकारहरूको प्रतिनिधित्व गर्ने संस्था भएको उल्लेख गर्दै खसोखास परिवारप्रति सबैले देखाएको मायाले यो समुदायले सञ्चारमाध्यमसँग बनाएको सम्बन्ध विशेष भएको बताए।

स्रीनिवासनले सन् १९९६ को जुलाईमा द न्यूयोर्क टाइम्समा प्रकाशित आफ्नो लेख स्मरण गर्दै मुख्यधाराका पत्रपत्रिकाहरूले कटौती गरिरहँदा जातीय तथा समुदायमुखी प्रेस अझ विस्तार हुने अनुमान त्यतिबेलै गरिएको बताए। उनका अनुसार त्यतिबेला साना विज्ञापनमा निर्भर रहने जातीय प्रेस आज अझ आकर्षक विज्ञापन र बलियो व्यापारिक सम्भावनासहित अघि बढिरहेको छ, र खसोखासजस्ता माध्यमहरूले त्यसको मूल्य प्रमाणित गरेका छन्।

उनले समुदाय पत्रकारिता र परम्परागत पत्रकारिताबीचको फरक सम्बन्धमाथि पनि प्रकाश पारे। खसोखासजस्ता प्रकाशनहरूले आफ्ना पाठकलाई उनीहरू जहाँ छन् त्यहीँ पुगेर सेवा गर्ने बताउँदै उनले महामारीका बेला एपिसेन्टरजस्ता समुदाय-आधारित माध्यमहरूले खोपसम्बन्धी सूचना मात्र नभई खोप नै समुदायसम्म पुर्‍याउन सहयोग गरेको उदाहरण दिए। उनका अनुसार यो सेवा पत्रकारिताको सर्वोच्च रूप हो, किनभने यसले पाठकको जीवन जोगाउनसमेत भूमिका खेल्छ।

स्रीनिवासनले ठूलो मिडियाको आवश्यकता स्वीकार गर्दै भविष्य समुदायमुखी सञ्चारमाध्यममै रहेको बताए। खसोखासजस्ता संस्थाहरूले समुदायसँगको भरोसा, निकटता र सेवाभावमार्फत पत्रकारिताको नयाँ मार्ग देखाइरहेको उल्लेख गर्दै उनले कार्यक्रममा सहभागी हुन पाउँदा आफू सम्मानित भएको प्रतिक्रिया दिए।

यूआरएल मिडियासँग खसोखासको सहकार्य अर्थपूर्ण

कार्यक्रममा बोल्दै यूआरएल मिडिया र एपिसेन्टर एनवाईसीकी सह–संस्थापक तथा सीईओ एस. मित्रा कालिताले खसोखासलाई १४औँ वार्षिकोत्सवको शुभकामना दिँदै केही साताअघि मात्रै खसोखास यूआरएल मिडियाको नेटवर्कमा आबद्ध भएको जानकारी दिइन्। उनले गत साता मात्रै यूआरएल मिडियाले अमेरिकाभरका ५० वटा सामुदायिक सञ्चारमाध्यम साझेदारको संख्या पार गरेको उल्लेख गर्दै यस्तो महत्वपूर्ण चरणमा खसोखासजस्तो माध्यम जोडिनु विशेष अर्थपूर्ण भएको बताइन्।

ज्याक्सन हाइट्सकै स्थानीय बासिन्दासमेत रहेकी कालिताले नेपाली समुदायसम्म पुग्न आफूले पटक–पटक खसोखासको सहारा लिएको बताइन्। आफू असमिया–अमेरिकी भएको उल्लेख गर्दै उनले नेपाली र असमिया समुदायबीचको सांस्कृतिक निकटता र ऐतिहासिक सम्बन्धबारे पनि चर्चा गरिन्। कार्यक्रममा सहभागी केही नेपालीहरू असममा बसेको वा त्यहाँसँग सम्बन्धित रहेको थाहा पाउँदा आफूलाई खुशी लागेको उनले बताइन्।

कालिताले ७७ स्ट्रीटमा गरिएको प्रेस स्वतन्त्रता पदयात्राले समुदाय सञ्चारमाध्यम, कर्पोरेट मिडिया, स्वतन्त्र मिडिया र सार्वजनिक सञ्चारमाध्यमबीचको एकताको आवश्यकता झल्काएको उल्लेख गरिन्। अहिलेको समयमा प्रेस स्वतन्त्रता र सञ्चारमाध्यमबीच सहकार्यको आवश्यकता झन् बढेको बताउँदै उनले खसोखासले आफ्नो वार्षिकोत्सव प्रेस स्वतन्त्रताको सन्देशसँग जोडेर सुरु गर्नु अत्यन्त अर्थपूर्ण रहेको प्रतिक्रिया दिइन्।

यूआरएल मिडिया खसोखासजस्ता सामुदायिक सञ्चारमाध्यमसँग ऐक्यबद्ध रहेको उल्लेख गर्दै कालिताले सञ्चारमाध्यम आर्थिक रूपमा बलियो नभएसम्म स्वतन्त्र पत्रकारिता सम्भव नहुने बताइन्। उनले खसोखासका संस्थापकहरूले सुरुवाती दिनमा रेस्टुरेन्ट–रेस्टुरेन्ट पुगेर विज्ञापन संकलन गरेको प्रसंग उल्लेख गर्दै सामुदायिक सञ्चारमाध्यम टिकाइराख्न आर्थिक सहयोग अत्यावश्यक हुने धारणा राखिन्।

उनका अनुसार यूआरएल मिडियाले विज्ञापन, आपत्कालीन कोष, तालिम, कार्यक्रम सहयोग तथा साझेदार सञ्चारमाध्यमहरूको क्षमता विस्तारमार्फत सामुदायिक मिडियालाई सहयोग गर्दै आएको छ। कार्यक्रममा उपस्थित निर्वाचित पदका उम्मेदवार, सरकारी प्रतिनिधि, सञ्चारकर्मी तथा समुदायका सदस्यहरूलाई खसोखासजस्ता सञ्चारमाध्यमलाई आर्थिक रूपमा सहयोग गर्न आग्रह गर्दै उनले सञ्चारमाध्यमलाई पनि सबवे, स्वास्थ्य सेवा र अन्य पूर्वाधारसरह समाजको महत्वपूर्ण संरचनाका रूपमा हेर्नुपर्ने धारणा व्यक्त गरिन्।

खसोखासलाई निरन्तर समर्थन गर्न आग्रह गर्दै कालिताले यूआरएल मिडियाको साथ र सहयोग आगामी दिनमा पनि रहने प्रतिबद्धता व्यक्त गरिन्।

सामुदायिक पत्रकारिता, डिजिटल विस्तार र नयाँ प्रविधिबारे किशोर पन्थी

खसोखासका प्रधान सम्पादक किशोर पन्थीले समुदायको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि समुदायको अभिन्न अंगका रूपमा काम जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।

उनले यस वर्षदेखि खसोखासको वार्षिकोत्सव जनवरी १५ को सट्टा मे ३ मा मनाउन सुरु गरिएको जानकारी दिए। सन् २०१३ को मे ३ मा ‘ह्वाइट हिमाल’लाई पुनः नामकरण गरेर ‘खसोखास’ बनाइएको स्मरण गर्दै उनले त्यसै दिनलाई विशेष महत्वका साथ वार्षिकोत्सव मनाउन थालिएको बताए। जनवरी महिनाको चिसो मौसम र फ्लुका कारण विगतमा आफू लगायत धेरै सहभागी बिरामी परेका अनुभवका आधारमा पनि मे महिनालाई उपयुक्त समयका रूपमा चयन गरिएको उनले उल्लेख गरे।

पन्थीले खसोखासको यात्रा स्मरण गर्दै सन् २०१२ मा अमेरिकाबाट प्रकाशित पहिलो नेपाली साप्ताहिक पत्रिकाका रूपमा यसको सुरुवात भएको बताए। सन् २०१७ सम्म ट्याब्लोइड स्वरूपमा प्रकाशित भएको खसोखास त्यसपछि म्यागजिनका रूपमा र सन् २०२० देखि पूर्ण रूपमा डिजिटल प्लेटफर्ममा रूपान्तरण भएको जानकारी उनले दिए।

सन् २०२५ लाई खसोखासले गलत सूचना र भ्रामक सूचनाविरुद्धको “भर्टिकल भिडियोको वर्ष” का रूपमा अगाडि बढाएको उल्लेख गर्दै उनले सामाजिक सञ्जालमार्फत गरिएको डिजिटल अभियानबारे तथ्यांक सार्वजनिक गरे। उनका अनुसार सन् २०२५ मा खसोखासले सामाजिक सञ्जालमा कुल १२ करोड ३० लाख भ्यु प्राप्त गरेको छ, जसमा मेटामा ९ करोड ४० लाख र टिकटकमा २ करोड ९० लाख भ्यु रहेका छन्। यस अवधिमा १ हजार १५० भन्दा बढी भर्टिकल भिडियो पोस्ट गरिएको तथा फेसबुकमा ३ लाख २६ हजार र टिकटकमा ७८ हजार फलोअर्स पुगेको जानकारी उनले दिए।

भर्टिकल भिडियो सुरु गरेपछि मेटाबाट प्राप्त आम्दानीमा ९९४ प्रतिशतले वृद्धि भएको उल्लेख गर्दै उनले खसोखासले नयाँ प्रविधि र नयाँ प्लेटफर्म प्रयोग गर्न कहिल्यै नहिच्किचाउने बताए। एआईको प्रयोगले समाचार उत्पादन र वितरणलाई अझ प्रभावकारी बनाएको उनको भनाइ थियो।

पन्थीले सन् २०२५ मा अध्यागमन लगायतका विभिन्न विषयमा १२ वटा लाइभ भिडियो सञ्चालन गरिएको जानकारी दिए। विशेषगरी अध्यागमन कानुन व्यवसायीहरू रमेश श्रेष्ठ, बासु फुलारा, खगेन्द्र जीसी र केशव सेडाईसँग अध्यागमनसम्बन्धी लाइभ कार्यक्रम सञ्चालन गरिएको उनले बताए। ती लाइभ भिडियोहरूको कुल वाच टाइम १,१०० प्रतिशतले बढेको तथा कुल हेरिएको समय १५१ दिन १४ घण्टासम्म पुगेको जानकारी उनले साझा गरे।

खसोखासले मानसिक स्वास्थ्यदेखि अध्यागमनसम्बन्धी कार्यक्रमसम्म विभिन्न सामुदायिक कार्यक्रममा सक्रिय सहभागिता जनाएको उल्लेख गर्दै उनले विष्णुमाया परियारसँगको ‘हड्सन स्पिक्स’, श्रेया तुलाधरसँगको ‘माइनोरिटी इम्पावरमेन्ट नेटवर्क’ तथा प्रदीप श्रेष्ठसँगको ‘ग्रेटर न्यूयोर्क च्याम्बर अफ कमर्स’ कार्यक्रमलगायत ६ वटा कार्यक्रममा सहकार्य गरिएको बताए।

अमेरिकामा नेपाली भाषाको पत्रकारिताको आवश्यकताबारे तथ्यांक प्रस्तुत गर्दै उनले अमेरिकामा पाँच वर्षभन्दा माथिका करिब ५० प्रतिशत नेपालीहरू अंग्रेजी राम्रोसँग बोल्न वा बुझ्न नसक्ने बताए। साथै नेपाली-अमेरिकी समुदायका ८५ प्रतिशत मानिस घरमा नेपाली भाषा प्रयोग गर्ने भएकाले नेपाली भाषामै समाचार र सूचना प्रवाहको आवश्यकता अझ महत्वपूर्ण रहेको उनको भनाइ थियो।

समुदाय पत्रकारिता केवल समाचार प्रकाशनमा सीमित नभई समुदायका पक्षमा वकालत र सामाजिक सेवासँग पनि जोडिएको उल्लेख गर्दै उनले मुख्यधाराका सञ्चारमाध्यमले समाचार प्रकाशित गरेपछि जिम्मेवारी समाप्त गरे पनि समुदायमूलक पत्रकारिताले त्यसपछि पनि समुदायसँगै रहेर काम गरिरहने बताए।

उनले डिसेम्बरमा सञ्चालन गरिएको “न्युज म्याच” अभियानमार्फत ३२ हजार डलर संकलन भएको जानकारी दिँदै सहयोग गर्ने सबै समुदाय सदस्य, विज्ञापनदाता र समर्थकप्रति आभार व्यक्त गरे। साथै खसोखास वार्षिकोत्सव विशेषांकका लागि सहयोग गर्ने विज्ञापनदाता तथा शुभेच्छुकहरूलाई पनि धन्यवाद दिए।

आगामी दिनमा पनि अध्यागमन, आवास, स्वास्थ्य सेवा, ट्याक्स, शिक्षा लगायतका विषयमा समुदायलाई आवश्यक स्रोत र जानकारी उपलब्ध गराउँदै खसोखास समुदायसँग निरन्तर सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे।

समुदाय र मूलधारबीचको पुलका रूपमा सामुदायिक सञ्चारमाध्यम

पत्रकार तथा मिडिया नेतृत्वकर्ता, साथै सिटी युनिभर्सिटी अफ न्यूयोर्क अन्तर्गत क्रेग न्युमार्क ग्राजुएट स्कुल अफ जर्नालिज्मको सेन्टर फर कम्युनिटी मिडियाका पूर्व सञ्चार निर्देशक जहाँगीर खट्टकले खसोखासको १४औँ वार्षिकोत्सवको अवसरमा बधाई दिँदै सामुदायिक पत्रकारिताले समुदाय र मूलधारबीच महत्वपूर्ण पुलको भूमिका खेलिरहेको बताए।

अमेरिकामा लामो समयदेखि सामुदायिक तथा जातीय सञ्चारमाध्यमसँग काम गर्दै आएका खट्टकले सयौं सम्पादक, पत्रकार र प्रकाशकसँग सहकार्य गरेको अनुभव सुनाउँदै प्रत्येक सञ्चारमाध्यमको आफ्नै यात्रा हुने बताए। उनले खसोखासको यात्रा आफूले नजिकबाट देखेको उल्लेख गर्दै किशोर पन्थीसँगको व्यक्तिगत सम्बन्धका कारण पनि यसको विकासलाई अझ गहिरो रूपमा अनुभूति गरेको बताए।

उनले समाचारपत्र सञ्चालन गर्नु केवल सामग्री प्रकाशित गर्ने काम मात्र नभई त्यसलाई निरन्तर टिकाइराख्ने, समुदायलाई शिक्षित गर्ने र समुदायसँग जोडिराख्ने चुनौतीपूर्ण जिम्मेवारी भएको बताए। सामुदायिक पत्रकारिता मुख्यधाराका सञ्चारमाध्यमले नसमेटेका विषय मात्र उठाउने माध्यम नभई समुदायलाई संगठित गर्ने शक्ति पनि भएको उनको भनाइ थियो।

खट्टकले सामुदायिक सञ्चारमाध्यमलाई समुदाय र मूलधारबीचको महत्वपूर्ण कडीका रूपमा व्याख्या गर्दै यसले नागरिक सहभागिता बढाउन केन्द्रीय भूमिका खेल्ने बताए। उनका अनुसार समाजको किनारामा रहेका, मुख्यधारामा प्रतिनिधित्व नभएका समुदायका लागि आफ्नै भाषाको सञ्चारमाध्यम नै सबैभन्दा महत्वपूर्ण सूचना स्रोत हो।

उनले न्यूयोर्क सिटी सरकारसँगको सहकार्यका अनुभव साझा गर्दै न्यूयोर्कका करिब १८ लाख मानिस अंग्रेजी बोल्न वा बुझ्न नसक्ने अथवा सीमित रूपमा मात्र प्रयोग गर्न सक्ने तथ्य प्रस्तुत गरे। यस्तो अवस्थामा आफ्नै भाषामा सूचना दिने सामुदायिक सञ्चारमाध्यमलाई सशक्त बनाउन नसके समुदाय नागरिक सहभागिताबाट टाढा रहने उनले बताए।

खट्टकले खसोखासजस्ता सञ्चारमाध्यमले समुदायलाई सशक्त बनाउने, समुदायको आवाजलाई अगाडि ल्याउने तथा अमेरिकी समाजमा समुदायको योगदानलाई उजागर गर्ने महत्वपूर्ण काम गरिरहेको उल्लेख गरे। उनले यस्ता सञ्चारमाध्यम समुदायकै समर्थन र सहभागितामा टिकेको भन्दै खसोखासलाई निरन्तर सहयोग गरिरहेका सबैप्रति आभार व्यक्त गरे।

वर्तमान मिडिया वातावरण अत्यन्त चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले अहिलेको समयमा सञ्चारमाध्यम सञ्चालन गर्नु सहज काम नभएको बताए। यस्तो अवस्थामा पनि नयाँ सोच र नयाँ उपायसहित अघि बढिरहेको भन्दै उनले किशोर पन्थीको प्रशंसा गरे। फेसबुक, गुगल लगायत डिजिटल प्लेटफर्ममार्फत नयाँ सम्भावना खोज्दै खसोखासले उद्यमशील ढंगले काम गरिरहेको उनको भनाइ थियो।

खट्टकले खसोखास टिम, प्रधान सम्पादक किशोर पन्थी, सुरेश शाही तथा सम्पूर्ण सहकर्मीहरूको योगदानको प्रशंसा गर्दै समुदायलाई आफ्नो सञ्चारमाध्यमलाई निरन्तर समर्थन गर्न आग्रह गरे। उनले खसोखासलाई समुदायको आवाजका रूपमा व्याख्या गर्दै यसले नेपाली समुदायको संस्कृति, पहिचान र योगदानलाई अमेरिकी समाजसम्म पुर्‍याइरहेको बताए।

प्रेस स्वतन्त्रता, समुदाय सशक्तीकरण र नेपाली भाषाको संरक्षणमा जोड

संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि तथा संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद् (इकोसक) का अध्यक्ष राजदूत लोकबहादुर थापाले प्रेस स्वतन्त्रताको संरक्षण, समुदाय सशक्तीकरण र नेपाली भाषा–संस्कृतिको प्रवर्द्धनमा सामुदायिक सञ्चारमाध्यमको भूमिकाको प्रशंसा गरे।

कार्यक्रममा बोल्दै उनले विश्वभरका पत्रकार तथा सञ्चारकर्मीहरूलाई शुभकामना व्यक्त गर्दै विशेषगरी अमेरिकामा रहेका नेपाली समुदायका लागि निरन्तर योगदान पुर्‍याइरहेको खसोखास टिमप्रति आभार व्यक्त गरे।

राजदूत थापाले अहिले विश्वभर प्रेस स्वतन्त्रता चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै संयुक्त राष्ट्रसंघका महासचिवले समेत पत्रकारमाथि बढ्दो सेन्सरशिप, धम्की र हत्याबारे चिन्ता व्यक्त गरेको स्मरण गराए। प्रेस स्वतन्त्रता बिना सूचित नागरिक र सूचित समाज सम्भव नहुने तथा सूचित समाजबिना न्याय, लोकतन्त्र, दिगो विकास र विश्व शान्ति कायम हुन नसक्ने उनको भनाइ थियो।

उनले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएकाले यसको संरक्षणमा सबैले पुनः प्रतिबद्ध हुनुपर्ने बताए। पत्रकारहरूलाई मात्र नभई आम नागरिकलाई पनि सही सूचना पाउने अधिकार भएकाले स्वतन्त्र पत्रकारिताको संरक्षण सबैको साझा जिम्मेवारी भएको उनले उल्लेख गरे।

खसोखासको १४ वर्षको यात्राको प्रशंसा गर्दै उनले समुदायलाई निरन्तर जोड्ने, सूचना दिने र समुदायका पक्षमा वकालत गर्ने कार्य अत्यन्त प्रशंसनीय भएको बताए। सामुदायिक सञ्चारमाध्यमले समुदायलाई आपसमा, नेपालसँग तथा दूतावास र महावाणिज्यदूतावासजस्ता सरकारी निकायसँग जोड्ने महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।

डिजिटल प्रविधि, कृत्रिम बुद्धिमत्ता, स्मार्टफोनको विस्तार तथा गलत सूचना र भ्रामक सूचनाको चुनौतीबीच पनि खसोखासले समुदायलाई सूचना, वकालत र जोड्ने काम निरन्तर गरिरहेको भन्दै उनले त्यसको प्रशंसा गरे। समुदायभित्र विविधता र विभाजन भए पनि समुदायमूलक सञ्चारमाध्यमले साझा सरोकारलाई अगाडि बढाइरहेको उनको भनाइ थियो।

राजदूत थापाले अहिलेको समयमा केवल सूचना होइन, स्पष्ट र विश्वसनीय सूचना नै शक्ति भएको उल्लेख गर्दै समुदायका लागि के सही र उपयोगी हो भन्ने स्पष्ट पार्न सामुदायिक सञ्चारमाध्यमको भूमिका अझ महत्वपूर्ण भएको बताए।

उनले नेपाली भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा खसोखासले खेलेको भूमिकाको पनि प्रशंसा गरे। विशेषगरी अमेरिकामा हुर्किरहेका नयाँ पुस्तालाई नेपाली भाषा र संस्कृतिसँग जोडिराख्न यस्ता प्रकाशनले महत्वपूर्ण योगदान पुर्‍याइरहेको उनले बताए।

आगामी दिनमा अध्यागमनसम्बन्धी कार्यक्रम, दूतावास तथा महावाणिज्यदूतावाससँग सहकार्य, युवा पुस्तासँग सम्बन्ध विस्तार, सांस्कृतिक प्रवर्द्धन तथा व्यापार, लगानी र प्रविधिजस्ता आर्थिक कूटनीतिका विषयमा छलफल विस्तार गर्न सकिने सुझाव उनले दिए।

संयुक्त राष्ट्रसंघसँग सम्बन्धित विषयहरूलाई समुदायस्तरसम्म पुर्‍याउन पनि सामुदायिक सञ्चारमाध्यमले थप भूमिका खेल्नुपर्ने उनको धारणा थियो। कृत्रिम बुद्धिमत्ता, व्यापार, विकास, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) लगायतका विषयमा संयुक्त राष्ट्रसंघमा हुने छलफललाई समुदायसम्म ल्याउन सके त्यसले नेपाली समुदायलाई विश्वस्तरका निर्णय र तिनका प्रभावबारे बुझ्न मद्दत पुग्ने उनले बताए।

विश्व बैंक र आईएमएफका बैठकजस्ता अन्तर्राष्ट्रिय घटनाक्रमको नेपाल र नेपाली समुदायसँगको सम्बन्धबारे विश्लेषणात्मक सामग्री प्रस्तुत गर्न सके विशेषज्ञ, नीति निर्माता र समुदायबीच अझ प्रभावकारी सम्बन्ध स्थापित हुने उनको भनाइ थियो।

खसोखासको १४ वर्षे यात्राको प्रशंसा

न्युयोर्कस्थित नेपालका महावाणिज्यदूत दधिराम भण्डारीले कार्यक्रममा बोल्दै नेपाली समुदायलाई सूचित गर्ने, सचेत बनाउने र समुदायका सरोकारलाई मूलधारमा पुर्‍याउने कार्यमा खसोखासले खेलेको भूमिकाको प्रशंसा गरे ।

उनले खसोखासका प्रधान सम्पादक किशोर पन्थी र सम्पूर्ण टिमलाई १४ वर्षे यात्राको महत्वपूर्ण उपलब्धिका लागि बधाई तथा शुभकामना व्यक्त गरे। साथै, पत्रकारिता र प्रेस स्वतन्त्रता लोकतन्त्र र मौलिक अधिकारसँग प्रत्यक्ष रूपमा जोडिएको भन्दै विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सबै पत्रकार तथा नागरिकलाई शुभकामना दिए।

कार्यक्रममा भण्डारीले “खसोखास” शब्दको अर्थबारे चर्चा गर्दै यसको अर्थ ‘प्रमाणित सत्य’ वा ‘पुष्टि गरिएको सूचना’ सँग सम्बन्धित रहेको बताए। आजको युगमा सूचनाको बाढी भए पनि प्रमाणित र विश्वसनीय सूचना अत्यन्त महत्वपूर्ण भएको उनको भनाइ थियो।उनले खसोखासले आफ्नो नामअनुसार नै सत्य र प्रमाणित सूचना समुदायसम्म पुर्‍याउने प्रतिबद्धता कायम राख्नुपर्ने सुझाव दिए। नेपालका केही क्षेत्रमा “खसोखास” शब्द कुनै कुरा पुष्टि गर्न प्रयोग हुने सन्दर्भ पनि उल्लेख गर्दै उनले नामको सान्दर्भिकताप्रति प्रशंसा व्यक्त गरे।

भण्डारीले रिपोर्टर्स विदाउट बोर्डर्सको सन् २०२६ को प्रतिवेदन उद्धृत गर्दै नेपाल दक्षिण एसियामा नागरिक स्पेस र प्रेस स्वतन्त्रताको दृष्टिले अग्रणी मुलुकहरूमध्ये एक भएको बताए। संविधानले नै प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गरेको उल्लेख गर्दै उनले यस उपलब्धिलाई सबैले गर्व गर्नुपर्ने बताए। नेपालमा नागरिक स्पेस र मिडिया स्वतन्त्रता राम्रो रहेको अन्तर्राष्ट्रिय रूपमा पनि स्वीकार गरिएको उल्लेख गर्दै उनले यसलाई अझ विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए।

महावाणिज्यदूत भण्डारीले सामुदायिक सञ्चारमाध्यमले समुदायलाई सशक्त बनाउने, वकालत गर्ने र निरन्तर अपडेट दिने महत्वपूर्ण भूमिका खेलिरहेको बताए। खसोखासले “जहाँ नेपाली, त्यहाँ खसोखास” भन्ने भावनासहित डायस्पोरालाई जोड्ने काम गरिरहेको उनले उल्लेख गरे। अमेरिकामा बसोबास गर्ने नेपाली समुदायलाई सूचना, अधिकार र अवसरबारे जानकारी दिन खसोखासको योगदान महत्वपूर्ण रहेको उनको भनाइ थियो। नेपाल र अमेरिकाबीचको सम्बन्ध, एनआरएन मुद्दा, मतदान अधिकार तथा अन्य नीतिगत विषयमा डायस्पोराका आवाजलाई समेट्नुपर्ने सुझाव पनि उनले दिए।

भण्डारीले सूचना धेरै भए पनि स्पष्ट र संक्षिप्त प्रस्तुति आवश्यक भएको बताउँदै एआई जस्ता प्रविधिको प्रयोग गरी लेखका मुख्य बुँदा अघि सार्न सकिने सुझाव दिए। यसले पाठकलाई छिटो जानकारी लिन मद्दत गर्ने उनको भनाइ थियो। उनले खसोखासको सामग्री नेपाल र अमेरिका दुवैतर्फका पाठकसम्म पुग्ने भएकाले दुवै देशबीचको सम्बन्धलाई अझ गहिरो बनाउने अवसर रहेको बताए।

उनले आप्रवासन, मानसिक स्वास्थ्य, शिक्षा र स्थानीय कानुनबारे समुदायलाई सचेत गराउनुपर्ने आवश्यकता औंल्याए। अमेरिकामा बस्दा यहाँका कानुन, नीति र संस्कृतिको बुझाइ आवश्यक हुने र यसमा खसोखासले महत्वपूर्ण भूमिका खेल्न सक्ने उनको भनाइ थियो। कोभिड–१९ महामारीको समयमा पेनसिल्भेनियामा नेपाली समुदायले गरेको सेवा उदाहरणीय भएको उल्लेख गर्दै उनले त्यस्ता सकारात्मक कथाहरूलाई उजागर गर्नुपर्ने बताए, जसले समुदायलाई मान्यता र अवसर दिलाएको छ।

भण्डारीले नेपाल सरकार, दूतावास, महावाणिज्यदूतावास र खसोखासजस्ता सामुदायिक मिडियाबीच सहकार्य अझ सुदृढ बनाउन सकिने बताए। प्रविधिका कारण समन्वय सहज भएको उल्लेख गर्दै उनले निरन्तर सुझाव र सहकार्यको अपेक्षा व्यक्त गरे। उनका अनुसार सामुदायिक मिडियाले सरकारलाई पहुँच नपुगेका समुदायसम्म सूचना पुर्‍याउन र सेवा सुधारमा महत्वपूर्ण भूमिका खेल्न सक्छ। उनले विश्व प्रेस स्वतन्त्रता दिवस र खसोखासको १४औँ वार्षिकोत्सवको अवसरमा शुभकामना दिँदै खसोखासले समुदायप्रति आफ्नो प्रतिबद्धता अझ सुदृढ गर्दै अघि बढोस् भन्ने कामना व्यक्त गरे।

वैश्विक संकटबीच सामुदायिक सञ्चारमाध्यमको सान्दर्भिकता

पत्रकार, मिडिया नेता, लेखक तथा सिटी युनिभर्सिटी अफ न्यूयोर्क अन्तर्गत क्रेग न्युमार्क ग्राजुएट स्कुल अफ जर्नालिज्मको सेन्टर फर कम्युनिटी मिडियाकी रिसर्च एन्ड एनालाइसिस निर्देशक तथा विश्वव्यापी प्रवास र एसियन डायस्पोरा विज्ञ कविता राजगोपालनले कार्यक्रममा बोल्दै सामुदायिक पत्रकारिताको ऐतिहासिक, सामाजिक र वैश्विक महत्वबारे प्रकाश पारिन्।

उनले खसोखास र नेपयोर्कजस्ता सञ्चारमाध्यमले आप्रवासी समुदायद्वारा सञ्चालित स्वतन्त्र पत्रकारिताको लामो परम्परालाई निरन्तरता दिइरहेको बताइन्। उनले अमेरिकामा एसियन आप्रवासीमाथि ऐतिहासिक रूपमा लगाइएका प्रतिबन्धहरूदेखि सुरु भएको संघर्ष र प्रतिरोधको इतिहास स्मरण गर्दै, समुदाय–आधारित पत्रकारिता त्यसै परम्पराको निरन्तरता भएको उल्लेख गरिन्।

राजगोपालनले हालको विश्व अवस्था चुनौतीपूर्ण भए पनि त्यही चुनौतीभित्र नवप्रवर्तन, सृजनशीलता र लचिलोपनका उदाहरणहरू पनि देखिने बताइन्। आप्रवासी समुदायहरूलाई एकताबद्ध राख्ने, पहिचान निर्माण गर्ने र विविधताबीच साझा आवाज बनाउने काम सामुदायिक मिडियाले गरिरहेको उनको भनाइ थियो।

उनले खसोखास र नेपयोर्कले अमेरिकाभर फैलिँदै गएको आप्रवासी समुदायलाई जोड्ने, उनीहरूको आवाजलाई संरक्षण गर्ने र कठिन वातावरणमा पनि उनीहरूलाई सूचना र अधिकारसँग जोड्ने महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गरिन्।

राजगोपालनले विश्वभर समुदाय–आधारित मिडियामाथि बढ्दो चुनौतीबारे पनि चर्चा गरिन्। उनले झुटा सूचना, राज्य–प्रेरित प्रचार, साइबर आक्रमण, आर्थिक दबाब र ट्रान्सन्याशनल रेप्रेसनजस्ता समस्याले स्वतन्त्र पत्रकारितालाई प्रभावित गरिरहेको बताइन्।

विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा उनले संयुक्त राज्य अमेरिका प्रेस स्वतन्त्रताको सूचकाङ्कमा ६४औँ स्थानमा झरेको उल्लेख गर्दै लोकतान्त्रिक मुलुकहरूमा समेत प्रेस स्वतन्त्रता कमजोर हुँदै गएकोप्रति चिन्ता व्यक्त गरिन्। नेपाल र भारतजस्ता देशहरूमा पनि प्रेस स्वतन्त्रता, आप्रवासी अधिकार र अल्पसंख्यक अधिकारमा गिरावट देखिनु साझा चुनौती भएको उनको भनाइ थियो।

उनका अनुसार आजको समयमा इन–लैंग्वेज मिडिया विशेष रूपमा महत्वपूर्ण छ, किनभने धेरैजसो आप्रवासी समुदाय आफ्नो भाषामा प्रकाशित समाचारमा निर्भर छन्। तर त्यही क्षेत्र झुटा सूचना र बाह्य प्रभावको जोखिममा पनि रहेको उनले उल्लेख गरिन्।

राजगोपालनले खसोखास र नेपयोर्कजस्ता सञ्चारमाध्यमले समुदायको पहिचान, प्रतिरोध र सशक्तीकरणको ऐतिहासिक परम्परालाई निरन्तरता दिइरहेको बताइन्। उनका अनुसार यी मिडियाहरू केवल सूचना दिने माध्यम मात्र नभई समुदायको अस्तित्व, अधिकार र प्रतिनिधित्वको आवाज हुन्। उनले खसोखास परिवारलाई धन्यवाद दिँदै समुदायसँग निरन्तर जोडिइरहने प्रतिबद्धता व्यक्त गरिन्।

समुदाय सशक्तीकरण, सूचना प्रवाह र आशा जगाउने माध्यम खसोखास

मेरील्यान्ड राज्यका डेलिगेट ह्यारी भण्डारीले कार्यक्रममा बोल्दै नेपाली समुदाय, सामुदायिक पत्रकारिता र आप्रवासी जीवनका अनुभवबारे भावनात्मक र विस्तृत मन्तव्य राखे।

भण्डारीले विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भ जोड्दै प्रेस स्वतन्त्रता लोकतन्त्र र मौलिक अधिकारसँग प्रत्यक्ष सम्बन्धित रहेको उल्लेख गरे। उनले खसोखासको १४ वर्षे यात्रामा किशोर पन्थी, सुरेश शाही, राजन, दीपक परियार र सम्पूर्ण टिमको योगदानको प्रशंसा गर्दै यो दिनलाई “शान्ति, आत्मचिन्तन र समुदाय जोड्ने दिन” का रूपमा व्याख्या गरे।

नेपाल र डायस्पोरामा बढ्दो मानसिक स्वास्थ्य समस्या, आत्महत्या दर र सामाजिक विचलनप्रति चिन्ता व्यक्त गर्दै उनले “शान्ति र आपसी प्रेम” आजको सबैभन्दा ठूलो आवश्यकता भएको बताए।

उनले पत्रकारिता र सूचना प्रवाहको ऐतिहासिक विकासबारे चर्चा गर्दै प्राचीन रोमदेखि आधुनिक डिजिटल युगसम्म पत्रकारिताको रूपान्तरण उल्लेख गरे। आजको डिजिटल युगमा प्रत्येक व्यक्ति सम्भावित पत्रकार बनेको तर प्रमाणित सूचनाको अभाव ठूलो चुनौती भएको उनको भनाइ थियो। खसोखासले यही चुनौतीबीच प्रमाणित सूचना, समुदायको आवाज र जिम्मेवार पत्रकारिताको भूमिका निर्वाह गरिरहेको भन्दै उनले प्रशंसा गरे।

डेलिगेट भण्डारीले अमेरिकामा एशियाली समुदायले भोगिरहेको चुनौती, आप्रवासी डर, मानसिक दबाब र कानुनी जटिलताबारे पनि चर्चा गरे। उनले पत्रकारिताको भूमिका शक्तिको निगरानी गर्ने, सरकारलाई जवाफदेही बनाउने र समुदायको आवाज उठाउने रहेको स्पष्ट पारे।

उनले मेरील्यान्डमा आफैंले बनाएका २९ वटा कानुनहरू उल्लेख गर्दै पत्रकारिताले ती सबै प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेको बताए। विशेषगरी भेदभावविरुद्धका कानुन, बालबालिकासम्बन्धी सुरक्षा तथा सामुदायिक संरक्षणका नीतिहरूमा मिडियाको योगदान उल्लेखनीय रहेको उनको भनाइ थियो।

उनले खसोखासलाई समुदाय सशक्तीकरण, सूचना प्रवाह र आशा जगाउने माध्यमका रूपमा प्रशंसा गर्दै खसोखास टिमलाई विशेष धन्यवाद दिए। उनले पत्रकारितालाई केवल समाचार नभई “समुदाय निर्माणको आधार” भन्दै आगामी दिनमा अझ मजबुत भूमिका खेल्न शुभकामना व्यक्त गरे।

न्यूयोर्क सहरका मेयर मामदानीद्वारा शुभकामना सन्देश

न्यूयोर्क सहरको मेयर कार्यालयले खसोखासको १४औँ वार्षिकोत्सवका अवसरमा मेयर जहरान मामदानीको तर्फबाट औपचारिक शुभकामना सन्देश पठाएको थियो। कार्यक्रममा उक्त सन्देश सार्वजनिक रूपमा वाचन गरिएको थियो।

सन्देशमा मेयर मामदानीले खसोखासको १४ वर्षे यात्रामा समुदायलाई सूचित गर्ने, सशक्त बनाउने र जोड्ने भूमिकाको प्रशंसा गरेका छन्। उनले न्यूयोर्कका पाँचै बरोहरू दक्षिण एसियाली मूलका समुदायको घर भएको उल्लेख गर्दै, विशेषगरी नेपाली समुदायले सहरको सामाजिक, सांस्कृतिक र आर्थिक जीवनमा पुर्‍याएको योगदानप्रति गर्व व्यक्त गरेका छन्।

उनले खसोखासलाई नेपालीभाषी आप्रवासी समुदायलाई सूचना, सशक्तीकरण र आपसी सम्बन्धमा जोड्ने महत्वपूर्ण सञ्चारमाध्यमका रूपमा वर्णन गर्दै यसले स्थानीय समाचार, सांस्कृतिक जानकारी, सार्वजनिक कार्यक्रम तथा वकालत अभियानहरूलाई प्रवर्द्धन गर्दै आएको उल्लेख गरेका छन्।

मेयरको सन्देशमा खसोखासले नेपाली न्यूयोर्कवासीलाई प्रेरित गर्दै आप्रवासी समुदायलाई सशक्त बनाउन खेलेको भूमिकाको प्रशंसा गरिएको छ। साथै, न्यूयोर्क सहरलाई सबैका लागि समावेशी र स्वागतयोग्य बनाउन प्रशासन प्रतिबद्ध रहेको पनि उल्लेख गरिएको छ।अन्त्यमा, न्यूयोर्क सहरको तर्फबाट खसोखासलाई वार्षिकोत्सवको अवसरमा शुभकामना दिँदै आगामी दिनमा अझ सफलताको कामना गरिएको छ।

डिजिटल युगका चुनौती र स्वतन्त्र प्रेसको भूमिका

पत्रकार, इन्डिया करेन्टस म्यागजिनकी प्रबन्ध सम्पादक तथा देसी कलेक्टिभ मिडियाकी संस्थापक/निर्माता मीरा क्यामलले कार्यक्रममा बोल्दै सामुदायिक पत्रकारिताको महत्व, डिजिटल मिडियाका चुनौती र स्वतन्त्र प्रेसको आवश्यकताबारे विस्तृत चर्चा गरिन्।

उनले खसोखास टिमलाई १४ वर्षे यात्राका लागि बधाई दिँदै प्रेस स्वतन्त्रता दिवसको अवसरमा यसलाई मनाउनु विशेष र अर्थपूर्ण भएको बताइन्। उनका अनुसार दक्षिण एसियाली समुदाय विश्वभर करिब पाँच मिलियनभन्दा बढी छ र यस समुदायलाई जोड्ने, सूचना दिने र आवाज उठाउने काम सामुदायिक मिडियाले गर्दै आएको छ। उनले नेपाली, भारतीय, सोमाली, अफगानी, पञ्जाबी लगायत विविध समुदायका कथाहरूलाई सांस्कृतिक संवेदनशील दृष्टिकोणबाट प्रस्तुत गर्नु सामुदायिक पत्रकारिताको विशेषता भएको बताइन्।

क्यामलले सामुदायिक मिडियाले केवल समाचार मात्र नभई सार्वजनिक सेवा पत्रकारिता मार्फत समुदायलाई प्रत्यक्ष सहयोग पुर्‍याइरहेको बताइन्। उनले निर्वाचनसम्बन्धी सचेतना कार्यक्रम, मतपत्र सम्बन्धी जानकारी कार्यशाला, स्वास्थ्य स्रोत मेला तथा वृद्ध समुदायका लागि सहायता कार्यक्रमजस्ता पहलहरूको उदाहरण दिइन्।

क्यामलले वर्तमान डिजिटल मिडिया वातावरणमा गलत सूचना , भ्रामक सूचना ) र एआई–आधारित दुरुपयोग बढिरहेकोप्रति चिन्ता व्यक्त गरिन्। उनका अनुसार मोबाइल फोन र सामाजिक सञ्जालमार्फत आउने समाचारहरूमा सत्य र असत्य छुट्याउन कठिन हुँदै गएको छ।

उनले भ्रामक सूचनाले आप्रवासी समुदायमा डर फैलाउने, विशेष समुदायलाई लक्षित गर्ने र सामाजिक विभाजन बढाउने खतरा रहेको बताइन्। यस्तो अवस्थामा खसोखास जस्ता सामुदायिक मिडियाले वास्तविक पत्रकार, सम्पादक र रिपोर्टरहरूद्वारा प्रमाणमा आधारित समाचार प्रदान गरेर विश्वासयोग्य सूचना स्रोतको भूमिका निभाइरहेको उनको भनाइ थियो।

क्यामलले स्वतन्त्र प्रेसलाई लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै यसले शक्तिशाली समूहलाई जवाफदेही बनाउने र आम नागरिकलाई सशक्त बनाउने काम गर्ने बताइन्। उनले समाचारको स्रोत जाँच गर्न र प्रमाणमा आधारित जानकारी मात्र साझा गर्न समुदायलाई आग्रह गरिन्। उनका अनुसार खसोखासजस्ता मिडियाले समुदायको वास्तविक कथा प्रस्तुत गर्दै विश्वसनीयता कायम राखेका छन्, जसका कारण पाठकहरूले यस्ता माध्यमप्रति विश्वास राख्दै आएका छन्।

नेपाली समुदायसँग सूचना, आप्रवासन र विश्वासको सेतु

न्यूयोर्क राज्य सिनेटर जेसिका रामोस (डिस्ट्रिक्ट १३) की चीफ अफ स्टाफ मिरना एल. भेलास्केजले कार्यक्रममा बोल्दै सामुदायिक पत्रकारिताको भूमिका, आप्रवासनसम्बन्धी सूचना प्रवाह र समुदायसँगको संचारको महत्वबारे प्रकाश पारेकी छन्।

उनले आफू सिनेटर जेसिका रामोसको प्रतिनिधिका रूपमा उपस्थित भएको बताउँदै खसोखास टिमलाई १४ वर्षे यात्राका लागि बधाई दिइन्। भेलास्केजले लामो समयदेखि नेपाली समुदायसँग काम गर्दै आएको उल्लेख गर्दै, भर्खरै मात्र आफ्नो कार्यालयमा नेपाली समुदायका पत्रकार र डिस्ट्रीक्ट लिडरहरूसँग बैठक भएको जानकारी दिइन्। उनका अनुसार यस्तो संवादले समुदायसम्म सही सूचना पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्छ।

उनले विशेषगरी अंग्रेजीमा कमजोर पहुँच भएका समुदायका लागि नेपाली भाषामा सञ्चालित मिडियाहरू अत्यन्त आवश्यक रहेको बताइन्। आप्रवासनसम्बन्धी जानकारी धेरैका लागि जटिल हुने भएकाले खसोखासजस्ता सञ्चारमाध्यममार्फत सही र स्पष्ट सूचना पुग्नु आवश्यक भएको उनको भनाइ थियो।

भेलास्केजले वर्तमान समयमा केही समूहहरूले आप्रवासी समुदायको अवस्थाको दुरुपयोग गर्ने र गलत सेवा प्रदान गर्ने समस्या रहेको उल्लेख गर्दै, विश्वसनीय मिडियाको भूमिकालाई अझ महत्वपूर्ण बताइन्। उनका अनुसार सामुदायिक मिडियाले केवल समाचार मात्र होइन, समुदायलाई सरकारी सेवा, नीति र अधिकारबारे शिक्षित गर्ने सेतुको काम गरिरहेको छ।

उनले सिनेटर जेसिका रामोसको तर्फबाट पनि खसोखासलाई शुभकामना दिँदै रामोसले पूर्व न्यूयोर्क मेयर बिल डि ब्लाजियोको कार्यकालमा ल्याटिनो मिडियासँग काम गरेको अनुभवका कारण सामुदायिक मिडियाप्रति विशेष संवेदनशीलता रहेको उल्लेख गरिन्।

समुदाय सशक्तीकरणबारे सोमनाथ घिमिरे

न्युयोर्क राज्य एसेम्बली (डिस्ट्रिक्ट ३०, क्वीन्स) का डेमोक्रेटिक प्राइमरी उम्मेदवार तथा नेपाली-अमेरिकी समुदायका नेता सोमनाथ घिमिरेले खसोखासको १४औँ वार्षिकोत्सवमा बोल्दै आफ्नो राजनीतिक अभियान, समुदाय सेवा र आप्रवासी नेतृत्वबारे विस्तृत धारणा प्रस्तुत गरे ।

कार्यक्रममा बोल्दै उनले खसोखासलाई १४ वर्ष पूरा गरेकोमा बधाई दिँदै आगामी दिनमा अझ सफलताको शुभकामना व्यक्त गरे।घिमिरेले २८ वर्षदेखि समुदाय सेवा गर्दै आएको उल्लेख गर्दै आफूले तल्लो तहदेखि माथिसम्म समुदायलाई एकताबद्ध गर्दै काम गरिरहेको बताए। उनले आफूलाई “ग्रासरुटदेखि एपीआई र दक्षिण एसियाली समुदायलाई जोड्ने एक मात्र उम्मेदवार” भएको दाबी गर्दै जनताको वास्तविक आवश्यकतामा केन्द्रित रहेको उल्लेख गरे।

उनले समुदायलाई एकजुट भएर चुनावी अभियानमा साथ दिन आग्रह गर्दै “यो जित्ने वास्तविक समय हो” भन्दै आफ्नो अभियान सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताए।

प्रेस स्वतन्त्रता, आप्रवासी समुदाय र लोकतान्त्रिक सशक्तीकरणबारे मेलिसा ओर्लान्डो

न्युयोर्क राज्य एसेम्बली (डिस्ट्रिक्ट ३७) की डेमोक्रेटिक उम्मेदवार, सामुदायिक अभियन्ता तथा साना व्यवसाय प्रवर्द्धक मेलिसा ओर्लान्डोले कार्यक्रममा बोल्दै स्वतन्त्र पत्रकारिता, आप्रवासी अधिकार र समुदाय सशक्तीकरणबारे विचार व्यक्त गरिन्।

उनले खसोखासलाई १४ वर्षे यात्राका लागि बधाई व्यक्त गरिन्। उनले खसोखासलाई नेपाली समुदायका लागि केवल समाचारपत्र नभई “लाइफलाइन” का रूपमा वर्णन गरिन्। ओर्लान्डोका अनुसार खसोखासले भ्रामक सूचनालाई खण्डन गर्ने, आप्रवासन, आवास र स्वास्थ्यसम्बन्धी अत्यावश्यक जानकारी प्रदान गर्ने र समुदायलाई सशक्त बनाउने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

उनले वर्तमान समयमा विश्वभर प्रेस स्वतन्त्रता २५ वर्षयताकै न्यून स्तरमा पुगेको उल्लेख गर्दै स्वतन्त्र मिडिया लोकतन्त्रको रक्षक भएको बताइन्। खसोखास र यस्तै समुदाय–केन्द्रित मिडियाहरू सत्य सूचना र स्थानीय पहिचानको रक्षा गर्ने महत्वपूर्ण आधार भएको उनको भनाइ थियो।

उनले खसोखासले प्राप्त गरेको प्रेस फर्वार्ड ग्रान्ट को प्रशंसा गर्दै यसले नेपाली समुदाय पत्रकारितालाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिन्। ओर्लान्डोले नेपालसँग आफ्नो व्यक्तिगत सम्बन्ध उल्लेख गर्दै विश्वविद्यालय अध्ययनका क्रममा नेपालमा अनुसन्धान गरेको अनुभव स्मरण गरिन्। उनले नेपाली समुदायबाट पाएको स्वागतप्रति आभार व्यक्त गरिन्।

उनका अनुसार उनी साना व्यवसाय, सस्तो आवास, भाडादार अधिकार, वातावरण संरक्षण र आप्रवासी समुदायको सुरक्षाका लागि प्रतिबद्ध छिन्। उनले आफ्नो परिवार एलेस आइल्यान्डमार्फत करिब १०० वर्षअघि न्यूयोर्क आएको उल्लेख गर्दै सबै आप्रवासी—पुराना होस् वा नयाँ—समान रूपमा सुरक्षित, सम्मानित र समावेशी समाजका हिस्सा हुनुपर्ने बताइन्। ओर्लान्डोले खसोखाससँग सहकार्य र समुदायको समर्थनको अपेक्षा व्यक्त गर्दै स्वतन्त्र पत्रकारितासँगै लोकतन्त्र बलियो बनाउने अभियानमा साथ रहने प्रतिबद्धता जनाइन्।

भ्रामक सूचना र समुदाय अधिकारबारे

एशियन अमेरिकन तथा हिमालयन समुदायकी नेता र अधिकारकर्मी त्सेयाँग तेन्जिनले महामारीका अनुभव, समुदाय प्रतिनिधित्व, भ्रामक सूचना र सामुदायिक मिडियाको भूमिकाबारे महत्वपूर्ण धारणा प्रस्तुत गरिन्।

उनले कोभिड अवधिमा सरकारका सूचना शीर्ष १० भाषामा मात्र उपलब्ध भए पनि नेपाली र तिब्बती भाषालाई समेटिएको स्मरण गर्दै सबै न्यूयोर्कवासी—जुनसुकै समय यहाँ आएका भए पनि—समान सूचना अधिकारका हकदार भएको बताइन् । तेन्जिनले सन् २०२१ मा तिब्बती र नेपाली समुदायसँग मिलेर सहरस्तरमा प्रतिनिधित्व सुनिश्चित गर्न काम गरेको बताइन्। सन् २०२२ मा उनले सिटी काउन्सिल डिस्ट्रीक्ट २६ मा पहिलो पटक तिब्बती र नेपाली भाषामा सूचना उपलब्ध गराउन सफल भएको उल्लेख गरिन्।

उनका अनुसार सोही वर्ष सिटी हलमा पहिलो ल्होसार औपचारिक रूपमा मनाउन पनि पहल गरिएको थियो। उनले वुडसाइड र ज्याक्सन हाइट्सबीचको पुनः सीमांकन प्रक्रियामा नेपाली समुदायलाई जानकारी गराउन खसोखासले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै सामुदायिक मिडियाको योगदान अत्यन्त आवश्यक भएको बताइन्।

तेन्जिनले भ्रामक सूचना र एआई–जनित गलत सामग्रीले समुदायलाई ठूलो असर पारिरहेको बताइन्। तेन्जिनका अनुसार यस्तो परिस्थितिमा खसोखासजस्ता सामुदायिक मिडियाले सत्य सूचना, सांस्कृतिक संरक्षण र समुदाय अधिकारको रक्षा गर्ने महत्वपूर्ण काम गरिरहेका छन्। उनले एआई, भ्रामक सूचना र गलत प्रतिनिधित्वको चुनौतीका बीच सामुदायिक पत्रकारिता अझ सशक्त हुनुपर्ने बताइन्।

प्रेस स्वतन्त्रता र एशियाली–अमेरिकी पहिचानबारे अमित शाह

कम्युनिटी बोर्ड ६ सदस्य तथा मिथिला सेन्टर युएसएका संस्थापक/अध्यक्ष अमित शाहले सामुदायिक पत्रकारिता, सांस्कृतिक पहिचान, अन्तर्राष्ट्रिय सहकार्य र एशियाली–अमेरिकी समुदायको एकीकरणबारे महत्वपूर्ण धारणा व्यक्त गरे।

कार्यक्रममा बोल्दै उनले कम्युनिटी बोर्ड र मिथिला सेन्टर युएसए दुवैको तर्फबाट खसोखास टिमलाई १४ वर्षे सफल यात्राका लागि बधाई तथा शुभकामना दिए। उनले खसोखासले समुदायलाई सूचित गर्ने, सशक्त बनाउने र शिक्षित गर्ने भूमिकामा निरन्तर योगदान दिँदै आएको उल्लेख गरे।

शाहले आजको दिनलाई विशेष “तेहेरो सेलिब्रेसन” का रूपमा व्याख्या गरे—खसोखासको १४औँ वार्षिकोत्सव, विश्व प्रेस स्वतन्त्रता दिवस र एशियन अमेरिकन एन्ड प्यासिफिक आइल्यान्डर हेरिटेज महिनाको संयुक्त अवसर। उनका अनुसार यी तीनै अवसरहरूले एशियाली–अमेरिकी समुदायको पहिचान, योगदान र लोकतान्त्रिक सहभागितालाई अझ सशक्त बनाउँछन्।

शाहले सामुदायिक पत्रकारिता केवल समाचार प्रकाशन मात्र नभई समुदायको पहिचान निर्माण, संसाधन पहुँच र सशक्तीकरणको माध्यम भएको उल्लेख गरे। खसोखासजस्ता मिडियाले नेपाली–अमेरिकी समुदायलाई मूलधार समाजसँग जोड्ने महत्वपूर्ण पुलको भूमिका खेलेको उनको भनाइ थियो।

“खसोखास आवाजविहीनहरूको आवाज हो” : डा. विष्णुमाया परियार

नेपाली-अमेरिकी सामाजिक अभियन्ता, सामाजिक उद्यमी तथा दलित महिला अधिकार, लैंगिक समानता र मानवअधिकारकी अभियन्ता, एड्वानकीकी संस्थापक, न्यु जर्सी एएपीआई कमिस्नर तथा जर्सी सिटी मेयरका सल्लाहकार डा. विष्णुमाया परियारले कार्यक्रममा बोल्दै पत्रकारिता पेशामा आफ्नो ज्यान गुमाउने पत्रकारहरूको स्मरण र सम्मान गर्दै प्रेस स्वतन्त्रता दिवस केवल उत्सव मात्र नभई बलिदानको सम्झनाको दिन पनि भएको बताइन्।

उनले भनिन्, “हामी आज यो दिनलाई केवल उत्सवका रूपमा होइन, आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा ज्यान गुमाएका पत्रकारहरूलाई सम्मान गर्ने अवसरका रूपमा पनि मनाउँछौं।”

डा. परियारले खसोखासलाई केवल मिडिया नभई “आवाजविहीनहरूको आवाज” भएको उल्लेख गरिन्। उनले आफू न्यु जर्सीमा आप्रवासी महिलाका लागि अंग्रेजी कक्षा सञ्चालन गरेको बताउँदै खसोखासले तयार पारेका आप्रवासनसम्बन्धी सामग्री अत्यन्त उपयोगी रहेको उल्लेख गरिन्।

डा. परियारले खसोखासको मूल सन्देश “सूचना, सशक्तीकरण र वकालत” भएको भन्दै यसले विशेषगरी महिला, ग्रामीण समुदाय र आप्रवासीहरूलाई सही सूचना प्रदान गर्दै आएको बताइन्। उनका अनुसार, कोभिड महामारीपछि र अहिलेको आप्रवासन संकटका समयमा समुदायमा डर, भ्रम र आर्थिक चुनौती बढिरहेको छ, जहाँ खसोखासले महत्वपूर्ण भूमिका खेलेको छ। “यो समयमा खसोखास मात्र यस्तो माध्यम हो जसले समुदायलाई आवश्यक र विश्वासिलो जानकारी दिइरहेको छ,” उनले भनिन्।

उनले मानसिक स्वास्थ्य, घरेलु हिंसा तथा लैंगिक हिंसासम्बन्धी कार्यक्रमहरूमा खसोखाससँगको सहकार्य स्मरण गर्दै समुदायका पीडितहरूलाई जानकारी र सहयोग पुर्‍याउन मिडियाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरिन्। डा. परियारले खसोखास टिमलाई १४ वर्षको यात्राको सफलतामा बधाई दिँदै आगामी दिनहरूमा अझ सशक्त रूपमा अघि बढ्न शुभकामना व्यक्त गरिन्।

नेपाली डायस्पोराको विश्वासिलो आवाज

नेपाली-अमेरिकी आप्रवासन कानुन व्यवसायी खगेन्द्र क्षेत्रीले शुभकामना मन्तव्य व्यक्त गर्दै खसोखासलाई नेपाली डायस्पोराको विश्वासिलो आवाजको रूपमा वर्णन गरे।

क्षेत्रीले खसोखासले नेपाली आप्रवासी समुदायलाई सूचना, सम्बन्ध र वकालतमार्फत जोड्ने काम गर्दै आएको उल्लेख गरे। उनले भने, “खसोखास केवल समाचार माध्यम मात्र होइन, यो नेपाली आप्रवासी समुदायको जीवनरेखा बनेको छ।”

उनका अनुसार, १४ वर्षअघि सानो प्रयासका रूपमा सुरु भएको खसोखास आज नेपाली समुदायको सबैभन्दा विश्वसनीय मिडिया प्लेटफर्ममध्ये एक बनेको छ। “यो स्तरमा पुग्नु सजिलो थिएन, तर आज यो विश्वासको केन्द्र बनेको छ,” उनले भने।

क्षेत्रीले आप्रवासीहरूको जीवन अनिश्चितता, अधिकारबारे अस्पष्टता र भविष्यको चिन्ताबीच अघि बढ्ने कठिन यात्रासँग जोड्दै खसोखासले त्यस्ता परिस्थितिमा सही र भरपर्दो सूचना दिएको उल्लेख गरे। उनले थपे, “हामी जहाँ भए पनि नेपाल वा यहाँको समाचार जान्नुपर्दा खसोखास नै हेर्छौं। यहाँबाट प्राप्त जानकारी हामी समुदायबीच साझा गर्छौं।”

उनले खसोखासको १४ वर्षको यात्रालाई नेपाली परम्पराअनुसार “वयस्कता”सँग तुलना गर्दै भने, “१४ वर्षपछि समुदायमा वयस्कता मानिन्छ। अब खसोखास पनि परिपक्व भएको छ।” उनका अनुसार, अहिलेको डिजिटल युग, कृत्रिम बुद्धिमत्ता र तीव्र परिवर्तनका बीच पनि खसोखासजस्ता समुदायमूलक मिडियाको भूमिका अझ महत्वपूर्ण हुँदै जानेछ।

खसोखास टिमलाई बधाई दिँदै भने, “खसोखासले केवल यहाँको नेपाली समुदायलाई मात्र होइन, नेपालसम्म पनि ठूलो योगदान दिएको छ। यसको निरन्तरता आवश्यक छ।”

समुदायको विश्वसनीय पत्रकारिताको आधारस्तम्भ

नेपाली-अमेरिकी आप्रवासन कानुन व्यवसायी तथा २८ वर्षभन्दा बढी अनुभव भएका अधिवक्ता रमेश श्रेष्ठले खसोखासलाई समुदायको विश्वसनीय पत्रकारिताको आधारस्तम्भका रूपमा वर्णन गरे।

श्रेष्ठले करिब १४ वर्षदेखि सहकार्य सुरु भएको स्मरण गर्दै खसोखासको यात्राप्रति गर्व व्यक्त गरे। “म खसोखास टिमको हिस्सा हुन पाउँदा अत्यन्तै गर्व महसुस गर्छु,” उनले भने।

उनले पत्रकारितालाई लोकतन्त्रको मेरुदण्डसँग जोड्दै विभिन्न उद्धरणहरू उल्लेख गर्नुका साथै पत्रकारिता समाज परिवर्तन र लोकतान्त्रिक सुरक्षा दुवैका लागि अपरिहार्य भएको बताए। श्रेष्ठले पत्रकारिताको आचारसंहिताबारे पनि चर्चा गर्दै “सत्य खोज्ने, क्षति न्यून गर्ने, स्वतन्त्र रहने, पारदर्शी र उत्तरदायी हुने” जस्ता मूल सिद्धान्तहरू खसोखासले व्यवहारमा उतारिरहेको उल्लेख गरे। उनका अनुसार डिजिटल युगमा सूचना, गलत सूचना र एआई-आधारित कन्टेन्टको भीडबीच सत्य छुट्याउनु चुनौतीपूर्ण भएको छ।

“म नजिकबाट हेर्दा भन्न सक्छु—खसोखास यी सबै पत्रकारिताका मूल मूल्यहरूमा खरो उत्रिएको छ,” उनले भने। उनले खसोखासले नेपाली मात्र नभई दक्षिण एसियाली समुदायसम्म सूचना पुर्‍याएको बताए। उनले आफूले पनि प्रकाशित सामग्रीहरू समय–समयमा जाँच गर्ने गरेको र ती विश्वसनीय रहेको उल्लेख गरे।

“मेरो क्लाइन्टहरूले पनि ‘हामीले यो कुरा खसोखासमा पढ्यौं’ भन्छन्, र म उनीहरूलाई त्यो सही हो भनेर पुष्टि गर्छु,” उनले भने। श्रेष्ठले टीपीएस लगायत आप्रवासन नीतिबारे समयमै सूचना प्रवाह गरेर खसोखासले समुदायलाई महत्वपूर्ण सहयोग पुर्‍याएको उल्लेख गरे। उनले खसोखासलाई अब किशोरावस्थाबाट वयस्क चरणमा प्रवेश गरिसकेको उल्लेख गर्दै निरन्तरता, स्थायित्व र सत्यनिष्ठा कायम राख्न आग्रह गरे। “हामी सबै यसको यात्रामा सँगै छौं,” उनले टिमलाई बधाई तथा शुभकामना व्यक्त गरे।

खसोखासको योगदान “गतिशील र प्रशंसनीय”

नेपाली-अमेरिकी आप्रवासन कानुन व्यवसायी तथा टाइम्स स्क्वायर स्थित बासु डी फुलारा पी.सी. का संस्थापक बासु फुलाराले खसोखाससँगको लामो सहकार्य र समुदाय पत्रकारिताको भूमिकाबारे विस्तृत धारणा व्यक्त गरे।

फुलाराले सन् २०११ मा आफ्नो कानुनी अभ्यास सुरु गर्दाको प्रारम्भिक सहकार्य सम्झिँदै खसोखाससँगको यात्राको सुरुवात त्यही समयदेखि भएको बताए। “हामी यो यात्रामा सँगै जन्मिएका जस्तै हौं—खसोखास र हाम्रो पेशागत यात्रा सँगसँगै अघि बढ्यो,” उनले भने।

उनले खसोखासको विकासलाई “सानो कोठाबाट सुरु भएर आज समुदाय पत्रकारिताको शक्तिशाली आवाज बन्ने यात्रा” भनेर वर्णन गरे। फुलाराले पत्रकारिता र कानुनी पेशाबीचको आचारसंहितागत भिन्नता र समानता पनि उल्लेख गरे। उनका अनुसार कानुनी पेशा सीमित सल्लाह र कानुनी दायरामा आधारित हुन्छ भने पत्रकारिताले समुदायका कथा, पीडा र आवाजलाई सार्वजनिक बनाउँदै विश्वास निर्माण गर्छ।

“स्वतन्त्र प्रेस स्वतन्त्रता पत्रकारितामा सबैभन्दा बलियो रूपमा देखिन्छ, र खसोखासले त्यो भूमिका उत्कृष्ट रूपमा निभाएको छ,” उनले भने। उनले खसोखास टिमको योगदानलाई “गतिशील र प्रशंसनीय” बताए। साथै उनले खसोखासलाई “नेपाली डायस्पोराको न्यूयोर्क टाइम्स र वाल स्ट्रिट जर्नल” सँग तुलना गर्दै यसको प्रभावलाई ऐतिहासिक बताए।

अधिवक्ता फुलाराका अनुसार, जटिल आप्रवासन कानुनका विषयलाई सरल नेपाली भाषामा समुदायसम्म पुर्‍याउने काम खसोखासले गर्दै आएको छ, जसले पाँचदेखि छ लाख नेपालीलाई प्रत्यक्ष लाभ पुर्‍याएको छ। “कानुन व्यवसायी र पत्रकारिता अलग-अलग भूमिका भए पनि, समुदायलाई सशक्त बनाउन हामी सँगै काम गरिरहेका छौं,” उनले भने।

कठिन यात्रादेखि समुदायमा विश्वाससम्म

नेपाली-अमेरिकी उद्यमी, सामाजिक अभियन्ता तथा मेरिल्याण्डस्थित वेलनेस एड्भोकेट लोक तिवारीले खसोखासको खसोखासको कठिन यात्रादेखि समुदायमा यसको विश्वाससम्मको भूमिकाबारे चर्चा गरे।

कार्यक्रममा बोल्दै तिवारीले खसोखासलाई “अझै पनि किशोर अवस्थामै रहेको तर अत्यन्त महत्वपूर्ण यात्रा तय गरिसकेको माध्यम” भन्दै बधाई दिए। उनले खसोखासको यात्राको पछाडिको कठिन परिश्रम धेरैले नदेखेको बताए। उनले प्रारम्भिक दिनहरू सम्झिँदै वर्षामा छाता ओढेर, पत्रिका बोकेर घर–घर पुग्ने र मन्दिरसम्म वितरण गर्ने कठिन समय स्मरण गरे।

तिवारीका अनुसार, त्यही संघर्षले आज खसोखासलाई समुदायको भरोसिलो सूचना स्रोत बनाएको हो। उनले वर्तमान राजनीतिक र आप्रवासन चुनौतीपूर्ण समयमा पनि खसोखासको भूमिका अझ महत्वपूर्ण भएको उल्लेख गर्दै भने, “ट्रम्प युग होस् वा अहिलेको अवस्था, समुदायमा भ्रम र अन्योल छ। यस्तो समयमा खसोखासले सत्य र तथ्यमा आधारित सूचना दिनु अत्यन्त आवश्यक छ।”

उनले विशेषगरी आप्रवासन, भिसा र बालबालिकाको कानुनी अवस्थाबारे नेपाली समुदायले खसोखासमा निर्भर गर्ने गरेको बताए।

तिवारीले खसोखासलाई आगामी वर्षहरूमा अझ बलियो अनुसन्धानात्मक पत्रकारिता गर्न आग्रह गर्दै समुदायका लागि सत्य उजागर गर्ने भूमिकालाई निरन्तरता दिन शुभकामना दिए। “तपाईंहरूले इमानदारीपूर्वक धेरै लामो यात्रा तय गर्नुभएको छ, अब यसलाई अझ अगाडि बढाउनुहोस्,” भन्दै उनले बधाई र शुभकामना व्यक्त गरे।

नेपाली उद्यमीहरूलाई खसोखासजस्ता मिडियालाई सहयोग गर्न आग्रह

नेपाली-अमेरिकी समुदाय नेता तथा उद्यमी (मिशिगन) धर्म भट्टराईले समुदाय मिडियाको भूमिका, व्यवसायिक समर्थन र आप्रवासी समुदायका चुनौतीहरूबारे धारणा व्यक्त गरे।

भट्टराईले समुदाय मिडियाका तीन आधारभूत सिद्धान्त—सूचना दिनु, सशक्त बनाउनु र वकालत गर्नु—लाई स्मरण गर्दै खसोखासले यही भूमिकालाई निरन्तर अघि बढाइरहेको बताए। भट्टराईका अनुसार, “मिडियाको सत्य एउटै हुन्छ” र पत्रकारिताले आजको दिनमा वकालतकर्ता जस्तै भूमिका निभाइरहेको छ। उनले मिडियालाई पनि दीगो बनाउन व्यवसायिक समर्थन आवश्यक रहेको बताए।

उनले सबै नेपाली उद्यमीहरूलाई खसोखासजस्ता मिडियालाई सहयोग गर्न आग्रह गरे। भट्टराईले सामाजिक सञ्जालमा फैलिने गलत सूचनाले समुदायमा डर र भ्रम सिर्जना गरिरहेको उल्लेख गर्दै खसोखासले त्यस्ता गलत सूचनालाई सच्याउने महत्वपूर्ण काम गरिरहेको बताए।

“सत्यलाई कहिल्यै झुक्न दिनु हुँदैन,” भन्दै उनले खसोखासलाई आफ्नो यात्रा निरन्तर अघि बढाउन शुभकामना दिए। उनले खसोखास टिमप्रति धन्यवाद दिँदै नेपाली डायस्पोराका लागि यसको योगदान अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे र दीर्घकालीन सफलताको कामना व्यक्त गरे।

“सामूहिक प्रयासले नै यो यात्रा सम्भव”

खसोखास सम्पादक दीपक परियारले खसोखासको यात्रालाई स्मरण गर्दै उपस्थित सबै अतिथि, पाठक तथा विभिन्न क्षेत्रका साथीहरूलाई स्वागत गरेका थिए। उनले खसोखासले सूचना अधिकारको संरक्षण गर्दै नेपाली डायस्पोराको हक–हितका लागि निरन्तर काम गर्दै आएको उल्लेख गरे।

परियारले सामाजिक न्याय, विभेद र अन्यायका विरुद्ध आवाज उठाउने तथा सामान्य मानिसका मुद्दालाई केन्द्रमा राख्ने पत्रकारिताको प्रतिबद्धता दोहोर्याए।

उनले भने, “खसोखासले केवल सूचना मात्र नभई नेपाली समाजमा सकारात्मक परिवर्तन, प्रेम, सद्भाव र विचार आदान–प्रदानलाई पनि प्रवर्द्धन गर्दै आएको छ।” उनले प्रधान सम्पादक किशोर पन्थीको नेतृत्वको प्रशंसा गर्दै सम्पूर्ण टिमको साझा प्रयासले नै संस्था यहाँसम्म आइपुगेको बताए।

कार्यक्रमका सञ्चालक तथा सम्पादक सुरेश शाहीले खसोखासको प्रारम्भिक छापामाध्यमदेखि डिजिटल यात्रासम्मको रूपान्तरण स्मरण गरे। उनले भने, “यो १४ वर्षको यात्रा हो, तर अझै धेरै गर्न बाँकी छ। हामीले लामो बाटो तय गर्नुपर्नेछ।”

शाहीले यो वार्षिकोत्सवलाई समुदायको सहयोग र निरन्तर समर्थनले सम्भव भएको ऐतिहासिक क्षणका रूपमा वर्णन गरे।

सम्पादक डा. राजन थपालियाले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिँदै खसोखासको यात्रामा साथ दिने पाठक, शुभेच्छुक, समुदायका सदस्य र सहयोगीहरू प्रति आभार व्यक्त गरे। उनले भने, “खसोखासको वृद्धि र सफलता व्यक्तिगत होइन, सामूहिक प्रयास र साझा प्रतिबद्धताको परिणाम हो।”

थपालियाले स्वतन्त्र नेपाली डायस्पोरा मिडियालाई बलियो बनाउन समुदायको एकता र सक्रिय सहभागिताको आवश्यकता औँल्याउँदै आगामी दिनहरूमा अझ व्यापक सहकार्य आवश्यक रहेको बताए।

कम्युनिटी एक्सिलेन्स अवार्ड, केक काटेर कार्यक्रम सम्पन्न

कार्यक्रममा समुदायका विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा सामुदायिक सदस्य, व्यवसायी, कानुनी पेशाकर्मी, स्वास्थ्यकर्मी र उद्यमीहरूलाई स्टेजमा बोलाएर ‘कम्युनिटी एक्सिलेन्स अवार्ड’ प्रदान गरिएको थियो। खसोखासले कुल ३६ जना व्यक्तित्वहरूलाई सामुदायिक पत्रकारिता र समुदाय सेवामा पुर्‍याएको योगदानका लागि ‘कम्युनिटी एक्सिलेन्स अवार्ड’ प्रदान गरेको हो।

अवार्ड प्रदान गर्दाका थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

त्यसमध्ये १५ जना उपस्थित भएर अवार्ड ग्रहण गरेका थिए । केही व्यक्तित्वहरूलाई कार्यक्रमपछिको रात्रिभोजमा अवार्ड प्रदान गरिएको थियो। खसोखासले अमेरिकाको नेपाली समुदायमा योगदान पुर्‍याउने सबै सम्मानित व्यक्तिहरूप्रति विशेष धन्यवाद व्यक्त गरेको छ।

कार्यक्रममा संस्थापन कालदेखिकै सहयोगीहरू धर्म भट्टराई र लोक तिवारीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। साथै वर्ल्ड रेकर्ड ब्रेकर दिनेश सुनारलाई पनि दोसल्ला ओढाएर सम्मान प्रदान गरिएको थियो। उक्त सम्मान कार्यक्रममा महावाणिज्यदूत दधिराम भण्डारी र मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारीले दोसल्ला ओढाएर सम्मान प्रदान गर्नुभएको थियो।

वार्षिकोत्सवको अन्त्यमा केक काटेर उत्सव मनाइएको थियो, जस क्रममा पण्डित उद्धव शास्त्रीले स्वस्ती शान्ति वाचन गर्नुभएको थियो।

कार्यक्रममा मिथिला सेन्टर युएसएद्वारा मिथिला कलाको प्रदर्शन समेत गरिएको थियो।

औपचारिक कार्यक्रमपछि ज्याक्सन हाइट्सकै नमस्ते टाशी देलेक रेष्टुरेन्टमा रात्रीभोजको आयोजना गरिएको थियो।

सबै फोटोः राजन काफ्ले

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com