अमेरिकामा ६ महिनादेखि सम्पर्कविहीन छन् केशव, परिवार भन्छ – ‘दशैंपछि कुनै खबर छैन’
प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार
झापाको दमक ठेगाना भई अमेरिकाको न्युयोर्कमा बस्दै आएका नेपाली युवा केशव कार्की ६ महिनादेखि सम्पर्कविहीन छन् । ६ महिनादेखि सम्पर्कविहीन भएपछि उनको खोजीका लागि अमेरिकास्थित नेपाली राजदूतावास, नेपाली समुदाय र परिवारले सार्वजनिक अपिल गरेको छ ।
२०७२ सालको भूकम्पपछि स्नातक अध्ययनको लागि विद्यार्थी भिसामा अमेरिका गएका उनी परिवारसँग कमै सम्पर्कमा थिए । उनी सामान्यतया एक-एक महिनाको अन्तरालमा मात्रै आफ्नी आमासँग फोनमा कुरा गर्थे । उनकी दिदी अनु कार्कीका अनुसार पछिल्लो पटक उनले अगस्ट महिनातिर पठाइएको म्यासेज ‘सिन’ गरे पनि त्यसपछि केशवसँग प्रत्यक्ष कुराकानी भएको छैन ।
“दशैंको समयमा, अक्टोबरतिर, उसले मेरो बच्चाको अकाउन्टमा केही रकम (१३ हजार नेपाली) पठाएको थियो,” खसोखाससँग दिदी अनुले भनिन्, “त्यसपछि तिहारतिर अमेरिकामै रहेका मामासँग कुरा गरेर आफू ठिक रहेको बताएका रहेछ । तर, त्यसपछि सम्पर्कमा छैन ।”
परिवारले बैङ्कमार्फत गरिएको कारोबार जाँच गर्दा उनको ठेगाना न्युयोर्ककै देखिएको जानकारी पाएको छ । तर, त्यसबाहेक उनको अवस्थाबारे परिवारले जानकारी पाएको छैन ।
उमेरले २८ वर्ष नाघेका कार्की कम्प्युटर साइन्स विषयमा अध्ययन गर्दै पार्ट-टाइम काम गर्दै आएका थिए । दिदी अनुका अनुसार कार्की स्वभावले आफ्ना समस्या परिवारसँग खुलाउन नचाहने खालका थिए ।
“उ सधैँ ‘म ठिक छु’ भन्ने मात्र गर्थ्यो । गाह्रो भए पनि हामीलाई चिन्ता नहोस् भनेर कुरा लुकाउने उसको बानी थियो,” उनले भनिन् ।
नेपालमै हुँदा उनलाई पढाइसम्बन्धी तनावका कारण ‘डिप्रेसन’ र ‘एन्जाइटी’ जस्ता समस्या देखिएको थियो । त्यति बेला उनलाई काउन्सेलिङसमेत गरिएको दिदी अनुले बताइन् । “उ धेरै संवेदनशील थियो । सानो कुराले पनि धेरै तनाव लिने गर्थ्यो ।” दिदी अनुले खसोखाससँगको कुराकानीमा भनिन् ।
अहिलेसम्म उनका कुनै नजिकका साथीभाइसँग पनि परिवारको सम्पर्क हुन सकेको छैन । एक जना साथी नेपाल फर्किसकेका छन् भने अरूसँग उनले धेरै घुलमिल नगर्ने स्वभाव रहेको परिवारले जनाएको छ।
यता, केशवकी आमाको आइसियुमा उपचाररत छिन् । स्वास्थ्यमा समस्या (हार्ट अट्याक) आएपछि उनको उपचार भइरहेको छ । छोराको अवस्थाबारे थाहा पाएमा झन् गाह्रो हुन सक्ने भन्दै आमासँग ‘छोरा सम्पर्कमै छ’ भन्ने बताइरहेको दिदी अनुले बताइन् ।

यसैबीच, अन्य दुई नेपाली युवा पनि अमेरिकामा सम्पर्कविहीन छन् । वासिङ्टन डी.सी.स्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार २९ वर्षीय पवन गैरे मार्च २०२६ देखि नेब्रास्काबाट फ्लोरिडा यात्रा गर्ने क्रममा सम्पर्कविहीन भएका छन्। उनले मे २०२५ मा युनिभर्सिटी अफ नेब्रास्का–लिन्कनबाट इलेक्ट्रिकल इन्जिनियरिङमा पिएचडी पूरा गरेका थिए। उनको गाडी मार्च २७, २०२६ मा फ्लोरिडाको पेन्साकोला बीचमा फेला परेको थियो।
२६ वर्षीय विकास न्यौपाने टेक्सासको आर्लिङ्टन क्षेत्रमा अन्तिम पटक देखिएका थिए। उनी अगस्ट ४, २०२१ देखि युनिभर्सिटी अफ टेक्सास एट आर्लिङ्टनमा अध्ययनरत थिए । उनी करिब दुई वर्षदेखि परिवारसँग सम्पर्कविहीन छन्।





