न्युयोर्क निवासी राम खत्रीको संस्मरण ‘जीवन एक यात्रा अनेक’ सार्वजनिक
प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार
न्युयोर्क निवासी सर्जक राम खत्रीको संस्मरण ‘जीवन एक यात्रा अनेक’ सार्वजनिक भएको छ। काठमाडौँमा शनिबार साहित्यकार इल्या भट्टराईको अध्यक्षतामा आयोजित एक विशेष समारोहका बीच उक्त कृति सार्वजनिक गरिएको हो।
कार्यक्रमको प्रारम्भमा अशेष मल्लको निर्देशनमा सर्वनाम नाट्य समूहका कलाकारहरूले विमोचित कृतिको एक अंशमा आधारित छोटो नाटक प्रस्तुत गरेका थिए।
कृतिमाथि विवेचनात्मक मन्तव्य राख्दै लेखक तथा पूर्वसचिव गोपी मैनालीले खत्रीको पुस्तक मूलतः सरकारी सेवामा रहँदाका तीता–मीठा अनुभवहरूको इमानदार दस्तावेजीकरण भएको बताए। सरल भाषामा लेखिएको उक्त कृतिले सरकारी सेवाभित्रको ऊहापोह, विदेश बसाइका भोगाइ र कतिपय निजी तथा पारिवारिक विषयलाई सार्विक चासोका रूपमा प्रस्तुत गरेकाले पुस्तक पठनीय रहेको उनले उल्लेख गरे।
अर्का वक्ता युवराज मैनालीले खत्रीको कृतिले अतीतका मिहिन अनुभूतिहरूलाई रोमाञ्चक शैलीमा प्रस्तुत गर्दै पाठकको अभिरुचिलाई ध्यान दिएको टिप्पणी गरे। यस्तै, समालोचक प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल तथा पूर्वराजदूत मधुसूदन पौडेलले सर्जक खत्रीलाई कृतिको सफलताका लागि शुभकामना व्यक्त गरे।
कृतिको रचनागर्भबारे चर्चा गर्दै सर्जक राम खत्रीले आफ्नो आधा जीवन सरकारी सेवामै बितेकाले पुस्तकको अधिकांश हिस्सा सोही अनुभवले ओगटेको बताए। आफ्नै निजी कथाभित्र पनि सार्वजनिक महत्त्वका विषय समेटिन सक्छन् भन्ने विश्वासका साथ पुस्तक सिर्जना गरेको उनले स्पष्ट पारे।
सभाध्यक्ष इल्या भट्टराईले आफू राम खत्रीको कार्यकुशलता र दायित्वबोधबाट लामो समयदेखि प्रभावित रहेको बताइन्। उनले भनिन्— “जसको जीवन र व्यवहार सरल र जिम्मेवार छ, उनको कृति स्वाभाविक रूपमै पठनीय हुन्छ।”
रामगीता वाङ्मय मन्दिरले बजारमा ल्याएको यस कृतिका लेखक खत्री परराष्ट्र सेवाका सेवानिवृत्त कर्मचारी हुन्। उनी हाल न्युयोर्कमा बसोबास गर्दै आएका छन्।
पाँच स्रष्टा पुरस्कृत
यसैबीच रामगीता वाङ्मय मन्दिर नेपाल–अमेरिकाले पाँच सर्जक तथा कलाकर्मीलाई विभिन्न सम्मान तथा पुरस्कार प्रदान गरेको छ। शनिबार काठमाडौँमा वरिष्ठ साहित्यकार दुबसु क्षेत्रीको सभापतित्व तथा वरिष्ठ कवि एवं गीतकार नवराज लम्सालको प्रमुख आतिथ्यमा आयोजित विशेष समारोहका बीच ती पुरस्कार अर्पण गरिएको हो।
समारोहमा वरिष्ठ कवि मनप्रसाद सुब्बाको कविता–सङ्ग्रह ‘पञ्चतत्त्वको पालाम’ लाई ५० हजार रुपैयाँ राशिको ‘प्रतीक–ढकाल लक्ष्मी सर्वोत्तम कृति पुरस्कार’ प्रदान गरियो। यस्तै, नाट्यकर्मी आकांक्षा कार्कीलाई ५० हजार रुपैयाँ राशिकै ‘अशेष मल्ल–सावित्री नाट्यकर्म पुरस्कार’ बाट पुरस्कृत गरियो। पत्रकार किशोर पन्थीलाई ‘रामगीता सञ्चार सेवा पुरस्कार’ प्रदान गरियो भने वरिष्ठ गीतकार प्रा.डा. कृष्णहरि बराल र वरिष्ठ अभिनेत्री सुषमा शाहीलाई उनीहरूको दीर्घ साधनाको कदर गर्दै ‘रामगीता लाइफटाइम एचिभ्मेन्ट अवार्ड’ बाट सम्मानित गरियो।

पुरस्कृत तथा सम्मानित स्रष्टाहरूले आफ्नो साधनाको कदर भएकोमा खुसी व्यक्त गरे। वरिष्ठ कवि मनप्रसाद सुब्बाले पाठकबाट सिर्जना अनुमोदित हुनु नै वास्तविक पुरस्कार भएको बताए। नाट्यकर्मी कार्कीले नारीका दबेका आवाजलाई बाहिर ल्याउने आफ्नो अभियानमा यस पुरस्कारले थप आत्मविश्वास जगाएको उल्लेख गरिन्। कलाकार सुषमा शाहीले नेपथ्यमा रहेर काम गर्ने कलाकारलाई सम्मान गरेर संस्थाले प्रशंसनीय कार्य गरेको बताइन्। यस्तै, प्रा.डा. कृष्णहरि बरालले गीतकारको मूल्याङ्कन गर्ने संस्थाको फरक सोचको सराहना गरे।
समालोचक महेश पौड्यालले पुरस्कृत र सम्मानित व्यक्तित्वहरूको योगदानमाथि प्रकाश पार्दै ‘कीनोट’ मन्तव्य व्यक्त गरे। उनले पुरस्कार स्थापनाको उद्देश्य र प्रतिभा छनोट प्रक्रियाबारे जानकारी गराएका थिए। कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसस) नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसी, सर्जकहरू प्रतीक ढकाल, सावित्री कक्षपति तथा अशेष मल्लले बधाई ज्ञापन गरेका थिए।
संस्थाकी अध्यक्ष एवं संस्थापक गीता खत्रीले सर्जकहरूलाई उनीहरूकै जीवनकालमा सम्मान गर्ने उद्देश्यले अग्रज व्यक्तित्वहरूको नाममा पुरस्कार स्थापना गरी नयाँ परिपाटीको थालनी गरेको बताइन्। उनले भनिन्— “तपाईंहरू साथ दिनुहोस्, म नयाँ–नयाँ योजनाका साथ अघि बढ्नेछु।”
प्रमुख अतिथि नवराज लम्सालले योग्य पात्रहरूको छनोट भएकोमा बधाई दिँदै आफू स्वयं कवि, गीतकार र पूर्वपत्रकार भएकाले यी क्षेत्रका मर्म र पीडासँग नजिक रहेको बताए। सभाध्यक्ष दुबसु क्षेत्रीले सिर्जनाको क्षेत्र कालजयी हुने चर्चा गर्दै भने— “अन्य जिम्मेवारीको म्याद सकिन सक्छ, तर सर्जकको साधना कहिल्यै सकिँदैन।”
कवि तथा नियात्राकार भवानी खतिवडाले सञ्चालन गरेको उक्त कार्यक्रममा मन्दिरले प्रत्येक जोर वर्षमा यी पुरस्कार तथा सम्मान प्रदान गर्ने जानकारी दिइयो।





