२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

इजिप्टेली परिवारको नाटकीय घटना : १० महिना हिरासतपछि अदालतले छाड्यो, आइसले फेरि समात्यो

अमेरिकामा अदालतको आदेशपछि रिहा गरिएको एक इजिप्टेली परिवारलाई संघीय अधिकारीहरूले पुनः नियन्त्रणमा लिएको घटना सार्वजनिक भएको छ। परिवारका कानुनी प्रतिनिधिहरूका अनुसार १० महिनाभन्दा बढी समय आप्रवासन हिरासतमा बिताएको उक्त परिवारलाई शनिबार केही घण्टाका लागि फेरि पक्राउ गरिएको हो।

हायाम एल गामाल र उनका ५ देखि १८ वर्ष उमेर समूहका पाँच सन्तानलाई संघीय न्यायाधीशले रिहा गर्न आदेश दिएको ४८ घण्टा नपुग्दै पुनः नियन्त्रणमा लिइएको परिवारका वकिलहरूले बताएका छन्।

कोलोराडो राज्यमा बसोबास गर्दै आएको उक्त परिवार नियमित प्रक्रिया अनुसार डेनभरस्थित इमिग्रेसन एण्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)को कार्यालयमा हाजिर हुन पुगेका बेला पक्राउ परेको द कोलोराडो सनले जनाएको छ।

कानुनी टोलीका अनुसार पक्राउपछि आइसले उनीहरूलाई मिशिगन हुँदै अमेरिकाबाहिर अज्ञात स्थानमा पठाउने तयारीसहित विमानमा राखेको थियो। तर परिवारका वकिल एरिक लीले संघीय अदालतमा आपतकालीन निवेदन दर्ता गरेपछि अदालतले निष्कासन प्रक्रिया तत्काल रोक्न आदेश दिएको थियो।

वकिल लीले आइतबार बिहान सामाजिक सञ्जालमार्फत आइसले एल गामाल परिवारलाई रिहा गरिसकेको जानकारी दिँदै उनीहरूको पुन: हिरासत अदालतको आदेशविपरीत रहेको बताएका छन्।

यसैबीच, डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिचएएस)ले शनिबार जारी गरेको वक्तव्यमा भने परिवारले पूर्ण कानुनी प्रक्रिया पाइरहेको दाबी गरेको छ। डिएचएसले परिवारलाई रिहा गर्न आदेश दिने न्यायाधीशलाई ‘सक्रियतावादी न्यायाधीश’ भन्दै आलोचना गर्दै उक्त परिवारलाई ‘आतंककारीको परिवार’ भनेर सम्बोधन गरेको छ।

यसअघि अमेरिकी जिल्ला न्यायाधीश फ्रेड बियरीले बिहीबार एल गामाल र उनका सन्तानलाई रिहा गर्न आदेश दिएका थिए। यो निर्णय यसै साताको सुरुमा आएको समान प्रकृतिको अर्को आदेशपछि आएको थियो।

उक्त परिवारलाई पहिलोपटक गत वर्ष जुन महिनामा संघीय नियन्त्रणमा लिइएको थियो। राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनअन्तर्गत परिवारका रूपमा सबैभन्दा लामो समयसम्म हिरासतमा राखिएको यो घटना मानिन्छ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

एल गामालका पूर्वपति मोहम्मद साब्री सोलिमानमाथि कोलोराडोको बोल्डरमा गत वर्ष भएको आगजनी आक्रमणपछि हत्या प्रयास, आक्रमण तथा संघीय घृणा अपराधसम्बन्धी मुद्दा दायर भएपछि परिवारलाई नियन्त्रणमा लिइएको थियो।

अमेरिकी सरकारले उक्त आक्रमणबारे परिवारलाई कति जानकारी थियो भन्ने विषयमा अनुसन्धान गरिरहेको जनाएको थियो। तर सोलिमान पक्राउ परेपछि सम्बन्ध विच्छेद गरिसकेकी एल गामालले उक्त आक्रमणको कडा निन्दा गर्दै आफ्नो परिवारलाई कुनै जानकारी नभएको दाबी गर्दै आएकी छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी आप्रवासन नियन्त्रण र अपराध न्यूनीकरणका लागि कडा नीति आवश्यक रहेको बताउँदै आएका छन्। तर, आलोचकहरू तथा मानवअधिकारकर्मीहरूले डिएचएसको यस्तो कदमले कानुनी प्रक्रिया, मानवअधिकार र अभिव्यक्ति स्वतन्त्रताको उल्लङ्घन गरेको आरोप लगाएका छन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।