अमेरिकी ‘गोल्ड कार्ड’ भिसा कार्यक्रम : अहिलेसम्म १ जनालाई मात्रै स्वीकृति, सयौँ आवेदन प्रक्रियामा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सुरु गरेको बहुचर्चित ‘गोल्ड कार्ड’ भिसा कार्यक्रमअन्तर्गत अहिलेसम्म केवल एक जना आवेदकलाई मात्रै भिसा स्वीकृत गरिएको छ। अमेरिकी कमर्श सेक्रेटरी हावार्ड लुटनिकले बिहीबार कांग्रेसमा भएको सुनुवाइका क्रममा यो जानकारी दिएका हुन्।
उनका अनुसार हाल सयौँ अन्य आवेदकहरू प्रक्रिया (स्क्रिनिङ र जाँच) अन्तर्गत रहेका छन् भने क्रमशः जाँचबुझ भइरहेको छ।
गत वर्ष डिसेम्बरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रम्प गोल्ड कार्ड’ भिसा कार्यक्रम घोषणा गरेका थिए। यो कार्यक्रम अन्तर्गत गैर-नागरिकहरूले विशेष शुल्क तिरेर अमेरिका स्थायी बसोबासको सुविधा प्राप्त गर्न सक्छन्।
कार्यक्रमका केही प्रावधानहरू छन् । जसमा आवेदकले प्रारम्भिक रूपमा अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीलाई १५ हजार अमेरिकी डलर शुल्क तिर्नुपर्ने हुन्छ । त्यसपछि विस्तृत पृष्ठभूमि जाँच गरिन्छ । सफल जाँचपछि आवेदकले एक मिलियन अमेरिकी डलर योगदान गर्नुपर्ने हुन्छ । त्यसपछि ग्रीन कार्ड सरहको सुविधा प्राप्त हुन्छ, जसले अमेरिकामा बस्न र काम गर्न अनुमति दिन्छ ।
कंग्रेस सुनुवाइमा बोल्दै कमर्श सेक्रेटरी लुटनिकले भने, ‘हालै एक जनालाई स्वीकृति दिइएको छ । सयौँ आवेदकहरू अहिले प्रक्रियामा छन्।’
उनले यो कार्यक्रम नयाँ भएकाले सरकारले यसलाई पूर्ण रूपमा सही र सुरक्षित बनाउन विशेष सावधानी अपनाइरहेको बताए। उनका अनुसार सम्पूर्ण प्रक्रिया कडा सुरक्षा जाँचबाट गुज्रिरहेको छ।
लुटनिकले यसअघि प्रि–रजिस्ट्रेसन अवधिमा करिब १० हजार जनाले नाम दर्ता गरिसकेको बताएका थिए । भविष्यमा अझै धेरै आवेदक आउने अपेक्षा गरिएको छ । यस कार्यक्रममार्फत हजारौँ भिसा बिक्री हुने र त्यसबाट अर्बौँ डलर राजस्व संकलन हुने अनुमान गरिएको छ ।





