वैदेशिक रोजगार विभागबाट तीन बिचौलिया पक्राउ,ठगी अभियोगमा अन्य चार जना पनि समातिए
वैदेशिक रोजगार विभाग
वैदेशिक रोजगार विभाग, ताहाचलमा सेवाग्राहीलाई दुःख दिने तीन जना बिचौलिया पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ घर भई हाल सामाखुसी बस्ने ५३ वर्षीय किशोरप्रसाद श्रेष्ठ, सिन्धुपाल्चोक घर भई हाल बालाजु बस्ने ३४ वर्षीय विजय लामा र नुवाकोट घर भई हाल कलङ्की बस्ने ३८ वर्षीय सागर लामा छन्।
प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–१३ स्थित विभागमा सेवाग्राहीलाई अभद्र व्यवहार गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको छ।
यसैबिच, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा प्रहरीले थप चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा रौतहट, बौधीमाई नगरपालिका–७ का २५ वर्षीय मिथिलेश कुशवाहा, भोजपुर नगरपालिका–७ का ४४ वर्षीय केदारबहादुर भण्डारी, सप्तरी, सुरुङ्गा नगरपालिका–५ का ५३ वर्षीय रामतुला मियाँ र भक्तपुर, सूर्यविनायक नगरपालिका–७ की ५५ वर्षीया सुनिता खत्री छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले उनीहरूको गिरफ्तारीबारे जानकारी दिए।
मिथिलेशले कुवेत पठाइदिन्छु भन्दै ३ लाख ५० हजार रुपैयाँ, केदारबहादुरले पोर्चुगलका लागि १ लाख २५ हजार तथा रामतुला र सुनिताले अल्बानिया पठाइदिन्छु भन्दै ३ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको पीडितहरूको उजुरी छ। सोही उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रवक्ता कार्कीले बताए।





