इरानसँगको युद्धविरामको अवधि लम्ब्याउने पक्षमा हामी छैनौं : अमेरिकी राष्ट्रपति ट्रम्प
प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वर्तमान युद्ध विरामको अवधि लम्ब्याउने पक्षमा आफू नरहेको स्पष्ट पारेका छन्। उनले अमेरिका हाल बलियो वार्ता स्थितिमा रहेको दाबी गर्दै अन्ततः ‘उत्कृष्ट सम्झौता’ हासिल हुने विश्वास व्यक्त गरेका छन्।
ट्रम्पले युद्ध विराम विस्तारबारे सोधिएको प्रश्नमा भने, “म त्यसो गर्न चाहन्नँ, हामीसँग त्यति धेरै समय छैन।” उनको भनाइले अमेरिका कूटनीतिक भन्दा पनि दबाबपूर्ण रणनीतितर्फ झुकिरहेको सङ्केत दिएको विश्लेषकहरूले बताएका छन्।
यसैबीच, वासिङ्टनले इरानसँगको आगामी वार्ता पाकिस्तानमा हुने सम्भावनाप्रति आशावादी रहेको जनाएको छ। स्रोतका अनुसार, उक्त वार्ता क्षेत्रीय स्थायित्व कायम गर्ने प्रयासअन्तर्गत महत्वपूर्ण हुन सक्ने बताइएको छ।
इरानतर्फबाट पनि सकारात्मक सङ्केत देखिएको छ। एक वरिष्ठ इरानी अधिकारीले तेहरान वार्तामा सहभागी हुने विषयमा गम्भीर रूपमा विचार गरिरहेको जानकारी दिएका छन्। यद्यपि, अन्तिम निर्णय अझै सार्वजनिक भइसकेको छैन।
तर, शान्ति वार्ताको सम्भावना अझै अनिश्चित अवस्थामा रहँदा ट्रम्पले कडा चेतावनी दिएका छन्। उनले यदि छिट्टै तेहरानसँग सम्झौता हुन नसकेमा अमेरिका पुनः सैन्य आक्रमणमा उत्रिने स्पष्ट पारे।
उनले भने, “मलाई लाग्छ हामी बमबारीतर्फ जान सक्छौँ, किनकि त्यस प्रकारको कडा अडान लिएर वार्तामा जानु राम्रो हुन्छ। तर हामी पूर्ण रूपमा तयार छौँ, अमेरिकी सेना कारबाहीका लागि उत्साहित र तयार अवस्थामा छ।”
ट्रम्पको यो अभिव्यक्तिले मध्यपूर्वमा तनाव थप चर्किने सङ्केत गरेको छ। कूटनीतिक प्रयास जारी रहे पनि सम्भावित सैन्य विकल्प खुला राखिएको अमेरिकी धारणा स्पष्ट देखिएको छ, जसले अन्तर्राष्ट्रिय समुदायमा चिन्ता बढाएको छ।





