बेलायत र ईयू सम्बन्ध: कामदारको स्वतन्त्र आवागमन नियमावली पुनरावलोकन गर्न बेलायती प्रधानमन्त्रीको प्रस्ताव


प्रकाशित मिति : ८ कार्तिक २०८३, आइतबार

Photo: Christian Lue/ Unsplash

बेलायती प्रधानमन्त्री एन्डी बर्नहामले युरोपेली सङ्घसँगको कामदारहरूको ‘स्वतन्त्र आवागमन नियमावलीमा फर्कने विषयमा छलफल गर्न इच्छुक रहेको बताएका छन्। यो विषय सन् २०१६ को ब्रेक्सिट जनमतसंग्रहको प्रमुख मुद्दा बनेको थियो, जसका कारण बेलायत ईयूबाट बाहिरिएको थियो।

सन्डे टाइम्ससँगको अन्तर्वार्तामा बर्नहामले ब्रेक्सिटअघि ईयूबाट बेलायत भित्रिने कामदारहरूको सङ्ख्याले धेरै चुनौतीहरू सिर्जना गरेको स्वीकार गरे। तर उनले थपे, त्यतिबेला मानिसहरू आउने र पछि आफ्नै देश फर्किने ‘घुम्ने ढोका’खालको बसाइँसराइ थियो, जुन अहिलेको जस्तो कठिन थिएन। अहिले बसाइँसराइको सन्तुलन परिवर्तन भएको छ, त्यसैले हामीले यी विषयहरूमा इमानदार छलफल गर्नुपर्छ।

आधिकारिक तथ्यांकअनुसार सन् २०२५ मा बेलायतको दीर्घकालीन शुद्ध बसाइँसराइदर सन् २०२१ मा लागू गरिएको ब्रेक्सिटपछिको नयाँ प्रणालीअघिकै स्तरमा झरेको छ।

किर स्टारमरको ठाउँमा लेबर पार्टीको नेता र प्रधानमन्त्री बनेका बर्नहामले गत सेप्टेम्बरमा पनि बेलायतले ईयूसँगको सम्बन्ध पुनरावलोकन गर्नुपर्ने र भविष्यमा पुन: जोडिने विकल्पहरूबारे सोच्नुपर्ने बताएका थिए।

नोभेम्बर २० मा ईयूका शीर्ष अधिकारीहरूसँगको बैठकअघि बर्नहामले भने, स्वतन्त्र आवागमनलाई मात्र छुट्टै हेर्नुको सट्टा तथ्यांक आदानप्रदान र समग्र बसाइँसराइ सम्बन्धको पुनरावलोकनका रूपमा हेर्नुपर्छ। यद्यपि, उनले बेलायतले ‘युरो’ मुद्रा वा सीमाविहीन भ्रमण व्यवस्था अपनाउने सिफारिस भने नगर्ने स्पष्ट पारे। उनका अनुसार ईयूमा पुन: पूर्ण रूपमा सहभागी हुन नयाँ जनमतसंग्रह आवश्यक परे पनि एकल बजार वा भन्सार सङ्घमा सामेल हुन जनमतसंग्रह अनिवार्य नहुन सक्छ।

अर्कोतर्फ, कन्जर्भेटिभ पार्टीका पूर्व अर्थमन्त्री जेरेमी हन्टले यस कदमको आलोचना गरेका छन्। उनले स्काई न्युजसँग कुरा गर्दै भने,इमिग्रेसन नियमहरूमा छुट दिँदा बेलायती नागरिकहरूलाई असर पर्नेछ र मानिसहरूलाई कल्याणकारी भत्ताबाट हटाएर काममा फर्काउने प्रयासमा ठूलो धक्का लाग्नेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com