ग्रेटर न्युयोर्क नेपाली च्याम्बरद्वारा दोस्रो वार्षिकोत्सव सम्पन्न, बिजनेस समिट गर्ने घोषणा


प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार

ग्रेटर न्युयोर्क नेपाली च्याम्बर अफ कमर्सले आफ्नो स्थापनाको दोस्रो वार्षिकोत्सव र नेपाली नयाँ वर्ष २०८३ को अवसरमा शनिबार म्यानहाटनस्थित ‘होराइजन एज’ याटमा ‘क्रुज डिनर’ आयोजना गरी विशेष उत्सव मनाएको छ। उक्त समारोहमा कूटनीतिज्ञ, व्यवसायी, समुदायका अगुवा र नेपाली डायस्पोराका समर्थकहरूको बाक्लो उपस्थिति थियो।

कार्यक्रममा च्याम्बरका अध्यक्ष प्रदीप श्रेष्ठ, संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, महावाणिज्यदूत दधिराम भण्डारी, डिस्ट्रिक्ट ३० की काउन्सिल मेम्बर जुली वन, च्याम्बरका सल्लाहकार एवं वरिष्ठ अधिवक्ता खगेन्द्र जिसी र फ्युजमसिन्सका संस्थापक एवं सिइओ डा. समीर मास्केले सम्बोधन गर्नुभएको थियो।

सो अवसरमा नेटवर्किङ, सांस्कृतिक प्रस्तुति र आगामी ठूलो बिजनेस समिटको घोषणा समेत गरिएको थियो।

च्याम्बरको वार्षिकोत्सवलाई नेपाली नयाँ वर्षको उत्सवसँग जोडेर समुदायको एउटा महत्वपूर्ण कोशेढुङ्गा र सांस्कृतिक कार्यक्रमको रूपमा मनाइएको थियो। कार्यक्रममा बोल्दै च्याम्बरका अध्यक्ष प्रदीप श्रेष्ठले न्युयोर्कका नेपाली उद्यमीहरूलाई जोड्न, सहयोग गर्न र उनीहरूलाई सशक्त बनाउन च्याम्बरको स्थापना गरिएको बताउनुभयो। विगत दुई वर्षमा संस्थाले नगरका विभिन्न निकाय, स्थानीय संघसंस्था र व्यावसायिक समूहहरूसँग सहकार्य गर्दै समुदायको विकासका लागि बलियो जग बसालेको उहाँले उल्लेख गर्नुभयो।

अध्यक्ष श्रेष्ठले पहिलो पुस्ताका आप्रवासीहरूलाई अमेरिकाको नियम, कर प्रणाली र स्रोतसाधनमा पहुँच पुर्‍याउन च्याम्बरले सहजकर्ताको भूमिका खेलिरहेको स्पष्ट पार्नुभयो। न्युयोर्कमा १ लाखभन्दा बढी नेपाली र ५०० भन्दा बढी नेपाली स्वामित्वका व्यवसायहरू रहेको जानकारी दिँदै उहाँले एकजुट भएर अघि बढ्दा समुदायको क्षमता अझ बलियो हुने बताउनुभयो।

कार्यक्रमको प्रमुख घोषणा ‘नेपाली अमेरिकन बिजनेस एन्ड इन्भेस्टमेन्ट समिट २०२६’ थियो। न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको सहयोगमा यो समिट सन् २०२६ सेप्टेम्बर २६ र २७ मा न्युयोर्क सहरमा आयोजना हुनेछ।

अध्यक्ष श्रेष्ठका अनुसार संयुक्त राष्ट्र संघको महासभा चल्ने सातामा यो समिट आयोजना गरिने भएकाले यसले नेपालबाट उच्चस्तरीय प्रतिनिधिमण्डल, कूटनीतिज्ञ र अमेरिकाभरका नेपाली व्यवसायीहरूलाई आकर्षित गर्नेछ। यसले नेपाल र विश्वभरका नेपाली व्यवसायीहरूबीच लगानी र आर्थिक वृद्धिका नयाँ अवसरहरू सिर्जना गर्ने विश्वास लिइएको छ।

संयुक्त राष्ट्र संघका लागि स्थायी प्रतिनिधि लोकबहादुर थापाले दुई वर्षअघि आफूले नै उद्घाटन गरेको संस्थाले छोटो समयमै गरेको प्रगतिप्रति प्रशंसा गर्नुभयो। उहाँले नेपाली समुदायलाई आफ्नो पुर्ख्यौली पहिचान र संस्कृति जोगाउँदै विश्वमञ्चमा आफ्नो आर्थिक उपस्थिति बलियो बनाउन आग्रह गर्नुभयो। थापाले संयुक्त राष्ट्र संघमा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा मनाउने प्रस्ताव पारित भएको जानकारी दिँदै यसले नेपाली नयाँ वर्षको समयसँग मेल खाने र नेपालको ‘वेलनेस’ सन्देशलाई विश्वभर फैलाउने बताउनुभयो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसैगरी महावाणिज्यदूत दधिराम भण्डारीले न्युयोर्क जस्तो विश्वकै व्यावसायिक केन्द्रमा नेपाली समुदायले देखाएको साहस र दक्षताको प्रशंसा गर्नुभयो। उहाँले २०२६ को बिजनेस समिटलाई महावाणिज्य दूतावासको पूर्ण समर्थन रहने प्रतिबद्धता जनाउनुभयो। भण्डारीले दोस्रो पुस्ताका युवाहरूलाई नेपालको प्रविधि र डिजिटल रूपान्तरणमा जोड्नुपर्नेमा जोड दिनुभयो। साथै एनआरएन लगानी, एनआरएन कार्ड र नागरिकताका समस्याहरूलाई सरकारले चाँडै सम्बोधन गर्ने विश्वास दिलाउँदै आफूले लगानीको वातावरण सहज बनाउन सरकारलाई निरन्तर सुझाव दिइरहेको बताउनुभयो।

सागरिका श्रेष्ठले सञ्चालन गरेको उक्त कार्यक्रममा चर्चित नेपाली गायक एड्रियन प्रधान र गायिका नलिना चित्रकारले आफ्ना लोकप्रिय गीतहरूमार्फत पाहुनाहरूलाई मनोरञ्जन दिलाएका थिए।

कार्यक्रममा विभिन्न प्रायोजक, मिडिया पार्टनर, सल्लाहकार र बोर्ड सदस्यहरूलाई उनीहरूको सहयोगका लागि धन्यवाद ज्ञापन गरिएको थियो।

सबै फोटो: राजन काफ्ले
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com