२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

अमेरिकामा एक महिनामा घटे नेपाली विद्यार्थी; कुल संख्या ३४,६८० कायम

अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीहरूको संख्यामा पछिल्लो एक महिनामा गिरावट आएको छ। सेभिजद्वारा सार्वजनिक गरिएको ताजा तथ्याङ्क अनुसार मार्च महिनाको तुलनामा अप्रिलमा १७३ जना नेपाली विद्यार्थी घटेका छन्।

मार्चमा कुल विद्यार्थी संख्या ३४ हजार ८ सय ५३ रहेकोमा अप्रिलमा यो संख्या घटेर ३४ हजार ६ सय ८० कायम भएको छ। यसअघि फेब्रुअरी महिनामा यो संख्या ३४ हजार ८ सय ५० रहेको थियो, जसले पछिल्लो समय विद्यार्थीहरूको संख्यामा केही उतारचढाव भइरहेको देखाउँछ।

राज्यगत आधारमा हेर्दा नेपाली विद्यार्थीहरूको सबैभन्दा ठूलो रोजाइ टेक्सस राज्य बनेको छ। तथ्याङ्क अनुसार टेक्ससमा मात्रै ८ हजार ३ सय १० जना नेपाली विद्यार्थीहरू अध्ययनरत छन्।

टेक्ससपछि ओहायो दोस्रो स्थानमा छ, जहाँ २ हजार ४ सय २०नेपाली विद्यार्थी छन् भने न्यूयोर्क २ हजार ३ सय ४१ विद्यार्थीसहित तेस्रो स्थानमा रहेको छ। यी तीन राज्यहरू नेपाली विद्यार्थीहरूको मुख्य शैक्षिक गन्तव्यका रूपमा देखिएका छन्।

शैक्षिक स्तरका आधारमा विश्लेषण गर्दा कुल ३४ हजार ६ सय ८० विद्यार्थीमध्ये पुरुषको संख्या १९ हजार २ सय ६६ र महिलाको संख्या १५ हजार ४ सय १४ रहेको छ।

अधिकांश नेपालीहरू उच्च शिक्षाका लागि अमेरिका पुगेका छन्, जसमा ब्याचलर्स तहमा १२ हजार १ सय १७ र मास्टर्स तहमा ९ हजार ८ सय ३२ विद्यार्थीहरू संलग्न छन्।

यस्तै, ७ हजार ८ सय २५ जना एसोसिएट डिग्री र ४ हजार २ सय ७३ जना डक्टरेट तहमा अध्ययन गरिरहेका छन्। यो तथ्याङ्कले अमेरिकामा नेपाली विद्यार्थीहरूको शैक्षिक उपस्थिति मजबुत रहेको भए तापनि पछिल्लो महिनामा केही संख्यामा कमि आएको पुष्टि गर्दछ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।