२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

अमेरिकाबाट फर्काइएका नेपालीमा माओवादी सशस्त्र युद्ध प्रभावित दाङ-रुकुमको वर्चस्व

सन् २०२५ मा अमेरिकाबाट देश निकाला भएका नेपालीहरू मध्ये सबैभन्दा बढी माओवादी सशस्त्र युद्धबाट प्रभावित जिल्लाहरूका भएको पाइएको छ । हालै सार्वजनिक भएको राष्ट्रिय मानवअधिकार आयोगको मानव बेचबिखनविरुद्धको अधिकारसम्बन्धी राष्ट्रिय प्रतिवेदन २०८२ अनुसार अमेरिकाबाट देश निकाला भएकाहरूमा सबैभन्दा धेरै दाङ, रुकुम पश्चिम र रुकुम पूर्वका रहेको पाइएको हो । रुकुम माओवादी युद्धको आधार इलाका थियो भने रुकुम र रोल्पाका कैयौँ व्यक्ति दाङ बसाइँसराइ गरेका थिए ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको तथ्याङ्क अनुसार सन् २०२५ को १० महिना (जनवरीदेखि सेप्टेम्बर)सम्म अमेरिकाबाट ३९६ जना नेपाली देश निकाला भई स्वदेश फर्किएका थिए । जसमा ३ सय ६८ पुरुष र २२ जना महिला रहेको ब्युरोको तथ्याङ्कमा उल्लेख गरिएको छ । 

प्रतिवेदनका अनुसार सन् २०२५ को जनवरीदेखि सेप्टेम्बरसम्ममा अमेरिकाबाट देश निकाला गरिएका व्यक्तिहरूमा सबै भन्दा धेरै दाङ जिल्लाका रहेका छन् । सो अवधिमा दाङका मात्रै एक सय ४ जना देश निकाला भई स्वदेश फर्किएका हुन् ।

यस्तै, देश निकाला हुनेहरूमा रुकुम पश्चिमका ६७ जना, रुकुम पूर्वका ३६ जना, पर्वतका २१ र सिन्धुपाल्चोकका १६ जना रहेका छन् । त्यस्तै, म्याग्दीका १५, बागलुङ र काठमाडौंका १६/१६ जना, रोल्पाका ११ र सल्यानका १० जना रहेका छन् । अन्य जिल्लाहरूका भने ८८ जना रहेका छन् । देश निकाला भएका कुल व्यक्तिहरूमध्ये झन्डै ७८% यी १० जिल्लाका मात्रै रहेका छन् । 

यीमध्ये पनि ५२% देश निकाला भएका व्यक्तिहरू सुरुका तीन जिल्ला अर्थात् दाङ, रुकुम पश्चिम र रुकुम पूर्वका रहेका छन् । यी तीन जिल्लाका साथै पश्चिमी नेपालका रोल्पा र सल्यान जिल्लाहरू माओवादी सशस्त्र द्वन्द्व (सन् १९९६–२००५) बाट नराम्ररी प्रभावित भएका क्षेत्रहरू हुन् ।

आयोगका प्रतिवेदन अनुसार सन् २०२२ मा ६ जना नेपाली नागरिक अमेरिकाबाट डिपार्ट भएका थिए । जसमा ६ जना नै पुरुष थिए । त्यस्तै, सन् २०२३ मा १९ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका थिए । जसमा पनि १९ जना नै पुरुष रहेका थिए । 

सन् २०२४ मा भने एक सय ३९ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका थिए । जसमा एक सय २९ जना पुरुष र १० जना नेपाली रहेका थिए । 

ट्रम्पको कार्यकालपछि बढ्यो देश निकाला हुने नेपालीको सङ्ख्या 

अमेरिकी राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सम्हालेपछि अमेरिकामा गैर कानुनी रूपमा बसेका नेपालीहरू देश निकाला हुनेको सङ्ख्या ह्वात्तै बढेको हो । खसोखासलाई प्राप्त तथ्याङ्क अनुसार ट्रम्पले कार्यकाल सम्हालेदेखि हालसम्म कुल ७ सय १८ जना नेपाली अमेरिकाबाट डिपोर्ट भइसकेका छन् । 

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

अध्यागमन विभागका अनुसार सन् २०२६ को दुई महिनामा मात्रै दुई सय ३१ जना डिपोर्ट भएका छन् । विभागका अनुसार सन् २०२६ को फेब्रुअरीमा मात्रै १३० जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका थिए । फेब्रुअरीमा डिपोर्ट हुनेमा १२४ जना पुरुष र ६ महिला थिए । फेब्रुअरीमा चार्टर विमानमार्फत मात्रै ९५ जना फर्काइएका थिए, जसमध्ये ३ जना मात्र महिला रहेका थिए ।

त्यस्तै, जनवरीमा १०१ जना डिपोर्ट भएका थिए । जसमा ४ जना मात्र महिला थिए भने बाँकी सबै पुरुष थिए । जनवरीमा एकै पटक ८० जना नेपाली (७९ पुरुष, १ महिला) चार्टर्ड उडानमार्फत काठमाडौं ल्याइएका थिए ।  

अमेरिकाले हालै ४८ जना नेपाली नागरिकलाई देश निकाला गरेको छ । अमेरिकाले यहीँ अप्रिल ७ मा चार्टर्ड उडानमार्फत ४८ जना नेपाली नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर छाडेको हो । डिपोर्ट हुनेहरूमा सबै पुरुषहरू रहेका छन् ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।