नेटो महासचिवद्वारा अमेरिकाको प्रशंसा, ट्रम्पले भने: नेटो असफल प्रमाणित


प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार

ह्वाइट हाउसकी प्रवक्ता करोलिन लेभिट , फोटो : एएफपी/रासस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका क्रममा सहयोग नगरेको भन्दै नेटोको कडा आलोचना गरेका छन्।

नेटोका महासचिव मार्क रुट्टेसँग ह्वाइट हाउसमा भएको भेटपछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेख्दै टिप्पणी गरेका छन्, “हामीलाई आवश्यक पर्दा नेटो साथमा थिएन र भविष्यमा पनि हुने छैन।”

दुवै नेताबीचको भेट करिब दुई घण्टाभन्दा बढी चलेको बताइए पनि विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन। यद्यपि रुट्टेले उक्त भेटलाई “खुला र स्पष्ट” संवाद भएको बताएका छन्। भेटमा मतभेदहरू भने प्रस्ट रूपमा उठाइएको थियो।

भेटअघि ट्रम्पले नेटोबाट अलग हुने सम्भावनेसमेत संकेत गरेका थिए। इरानसँगको तनावका क्रममा हर्मुज जलमार्ग पुनः खोल्न अमेरिकी आग्रहमा केही नेटो सदस्य राष्ट्रहरूले समर्थन नगरेपछि उनी असन्तुष्ट बनेका हुन्।

ह्वाइट हाउसकी प्रवक्ता करोलिन लेभिटले नेटोलाई परीक्षण गरिएको भन्दै उनीहरू असफल भएको बताएकी छन्। उनका अनुसार नेटो देशहरूले अमेरिकी जनताको साथ नदिएको आरोप ट्रम्पले लगाएका छन्।

यद्यपि नेटो महासचिव रुट्टेले भने युरोपेली देशहरूको भूमिकाबारे फरक धारणा राखेका छन्। उनले धेरैजसो युरोपेली राष्ट्रहरूले सैन्य आधार, खाद्य व्यवस्थापन तथा हवाई मार्ग प्रयोगमा सहयोग गरेको बताएका छन्।

रुट्टेले इरानसँगको द्वन्द्वपछि विश्व अझ सुरक्षित भएको दाबी गर्दै ट्रम्पको नेतृत्वको प्रशंसासमेत गरेका छन्। उनले नेटो सदस्य राष्ट्रहरू इरानको आणविक क्षमतामा कमी ल्याउनु आवश्यक रहेकोमा सहमत भएको पनि उल्लेख गरेका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com