डुङ्गाबाट खसेर अमेरिकी महिला बेपत्ता: पति भन्छन् ‘बचाउन सकिएन’, छोरीद्वारा अनुसन्धानको माग


प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार

फोटो: फर्नान्डो जर्ज / अनस्प्ल्यास

बहामासमा बिदा मनाउन गएकी एक अमेरिकी महिला डुङ्गाबाट समुद्रमा खसेर बेपत्ता भएपछि अमेरिकी कोस्ट गार्डले यस घटनाबारे आपराधिक अनुसन्धान सुरु गरेको छ।

लिनेट हुक्कर नामकी ती महिला गत शनिबार ८ फिट लामो सानो डुङ्गाबाट खसेर शक्तिशाली समुद्री लहरमा परी बेपत्ता भएकी हुन्। उनका पति ब्रायन हुक्करले अधिकारीहरूलाई दिएको जानकारीअनुसार यो घटना बहामासको एल्बो के नजिकै भएको हो।

उत्तर एटलान्टिक महासागरमा अवस्थित बहामास क्यारिबियन क्षेत्रको एक सुन्दर द्वीप राष्ट्र हो। साना-ठूला टापुहरू मिलेर बनेको यो देश प्राकृतिक सौन्दर्य, निलो समुद्र र पर्यटनका लागि विश्वभर प्रसिद्ध छ। यो अमेरिकाको फ्लोरिडा राज्यको दक्षिण-पूर्वमा पर्दछ।

अमेरिकी कोस्ट गार्डका अधिकारीले घटनाको अनुसन्धान सुरु गरिएको पुष्टि गरे तापनि सम्भावित संलग्न व्यक्तिहरूका बारेमा विवरण दिन अस्वीकार गरेका छन्। यता, रोयल बहामास प्रहरी बलले यस विषयमा औपचारिक प्रतिक्रिया नदिए पनि सामाजिक सञ्जालमार्फत विभिन्न निकायसँग समन्वय गरी खोजी कार्य जारी रहेको जनाएको छ।

घटनाबारे बताउँदै पति ब्रायन हुक्करले भने, “अचानक आएको खराब मौसम र तीव्र हावाहुरीका कारण मेरी पत्नी लिनेट डुङ्गाबाट खसेकी थिइन्। उनलाई बचाउने हरसम्भव प्रयास गर्दागर्दै पनि समुद्री लहरले हामीलाई टाढा पुर्‍यायो।” उनले अहिले आफ्नो सम्पूर्ण ध्यान खोजी कार्यमा केन्द्रित रहेको बताएका छन्।

तर, लिनेटकी छोरी कार्ली आयल्सवर्थले घटनाप्रति आशङ्का व्यक्त गरेकी छन्। उनका अनुसार उनकी आमा १० वर्षभन्दा बढी समयदेखि जलयात्रा गर्दै आएकी एक अनुभवी र दक्ष पौडीबाज थिइन्। “यति अनुभवी व्यक्ति कसरी अचानक बेपत्ता भइन् भन्ने कुरा रहस्यमय छ,” भन्दै उनले घटनाको गम्भीर अनुसन्धान गर्न माग गरेकी छन्।

प्रहरीका अनुसार ब्रायन हुक्करले शनिबार साँझ होप टाउनबाट एल्बो केतर्फ जाँदै गर्दा श्रीमती डुङ्गाबाट खसेको बयान दिएका छन्। घटनाका क्रममा डुङ्गाको साँचो समेत उनीसँगै हराएको बताइएको छ।

त्यसपछि उनले डुङ्गा खियाउँदै (खेलेर) आइतबार बिहान करिब ४ बजे मार्श हार्बर बोट यार्ड पुगेर श्रीमती हराएको जानकारी दिएका थिए। सोही जानकारीका आधारमा खोजी कार्य सुरु गरिएको हो। हालसम्म ती महिलाको अवस्था अज्ञात रहेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com