ट्रम्पको गृहनगर फ्लोरिडाको उपचुनावमा डेमोक्र्याटको जित


प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गृहनगरमा भएको उपचुनावमा डेमोक्र्याटिक उम्मेदवार विजयी भएका छन्।

ट्रम्पको मार-ए-लागो निवास पर्ने फ्लोरिडाको एउटा विशेष क्षेत्रमा भएको चुनावमा डेमोक्र्याटिक उम्मेदवारले जित हासिल गरेकी हुन्। यो नतिजालाई राष्ट्रपति पक्ष (रिपब्लिकन) का लागि अर्को अप्रत्याशित हारको रूपमा हेरिएको छ।

पहिलोपटक चुनाव लडेकी डेमोक्र्याट उम्मेदवार एमिली ग्रेगरीले ट्रम्प समर्थित रिपब्लिकन उम्मेदवार जोन म्यापल्सलाई पराजित गर्दै फ्लोरिडा जिल्ला ८७ को राज्य प्रतिनिधि सभा सिट जितेकी हुन्। यो नतिजा सन् २०२४ को परिणामभन्दा ठ्याक्कै उल्टो छ। यसअघि उक्त जिल्लामा रिपब्लिकन उम्मेदवारले १९ प्रतिशत मतान्तरले चुनाव जितेका थिए।

ट्रम्पको दोस्रो कार्यकालमा भएका विशेष चुनावहरूमा डेमोक्र्याटहरूले राम्रो प्रदर्शन गरिरहेका छन्। ग्रेगरीको जितले आउँदो मध्यावधि (मिडटर्म) चुनावतर्फ पार्टीको बढ्दो प्रभावको संकेत गरेको छ।

जितपछि ग्रेगरीले भनिन्, “मैले नौ महिनाअघि अभियान सुरु गर्दा यो सम्भव छ भन्ने लागेको थियो। सायद मैले केही असम्भव जस्तो आँकलन गरेर यो क्षेत्र आफ्नो पक्षमा पार्ने अवसरका रूपमा सोचेकी थिएँ, र अन्ततः हामीले त्यसलाई सम्भव बनायौं। मेरो हिसाब मिल्यो।”

डेमोक्र्याटिक नेशनल कमिटीका अध्यक्ष केन मार्टिनले ‘एक्स’ मार्फत यो जितको स्वागत गर्दै मतदाताहरूले “स्पष्ट सन्देश दिएको” बताएका छन्। उनले लेखेका छन्, “यदि डेमोक्र्याटहरूले ट्रम्पको आफ्नै क्षेत्रमा जित्न सक्छन् भने, हामी देशभर जहाँसुकै जित्न सक्छौं। अब नोभेम्बरतर्फ अघि बढौं।”

ट्रम्पले स्वयं म्यापल्सलाई समर्थन गर्दै आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत “देशभक्तहरूलाई” उनलाई भोट दिन आग्रह गरेका थिए। त्यस्तै, फ्लोरिडाका गभर्नरका दाबेदार एवं रिपब्लिकन कंग्रेस सदस्य बायरन डोनाल्ड्सले पनि म्यापल्सको समर्थनमा भिडियो सन्देश जारी गरेका थिए।

सन् २०२५ को सुरुवातदेखि नै भएका विशेष चुनावहरूमा डेमोक्र्याटहरूले केही राज्य प्रतिनिधि सभाका सिटहरू आफ्नो पक्षमा पार्न सफल भएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आगामी नोभेम्बरमा हुने मध्यावधि चुनावमा अमेरिकी प्रतिनिधि सभा, सिनेटको एक तिहाइ सिट, साथै विभिन्न राज्यका गभर्नर र विधायिका पदका लागि प्रतिस्पर्धा हुनेछ। यी चुनावहरूलाई सामान्यतया राष्ट्रपतिको लोकप्रियता र पार्टीको अवस्था मापन गर्ने ‘जनमत परीक्षण’का रूपमा हेरिने गरिन्छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com