अमेरिकामा सटडाउन लम्बिँदै: टीएसए एजेन्ट घटेपछि साना विमानस्थलहरू ठप्प हुन सक्ने


प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार

(आधिकारिक होमल्याण्ड सेक्युरिटी तस्बिर/ ब्यारी बहलर)

अमेरिकामा जारी आंशिक सरकारी ‘सटडाउन’  लम्बिँदै जाँदा यसको प्रत्यक्ष असर अब हवाई यातायात क्षेत्रमा गम्भीर रूपमा देखिन थालेको छ। यातायात सचिव सन डफीले चेतावनी दिँदै भनेका छन् कि तलब नपाएका कारण ट्रान्सपोर्टेसन सेक्युरिटी एडमिनिस्ट्रेट एजेन्टहरू काममा आउन छाडेपछि साना विमानस्थलहरू पूर्ण रूपमा बन्द हुन सक्ने अवस्था सिर्जना भएको छ।

सीएनबीसी सँगको अन्तर्वार्तामा डफीले भने, “अर्को हप्तादेखि कर्मचारीहरूले दोस्रो पटकको पारिश्रमिक पनि नपाउने अवस्था छ। अहिले जे देखिरहनुभएको छ, त्यो त केही पनि होइन, अबको अवस्था निकै भयावह हुन सक्छ।” उनले साना विमानस्थलहरू बन्द हुने र ठूला विमानस्थलमा यात्रुहरूले निकै लामो लाइन बस्नुपर्ने र ‘ग्रिडलक’ को स्थिति आउन सक्ने बताएका छन्।

यसअघि टिएसएको कार्यवाहक उप-प्रमुख एडम स्टाहलले पनि फक्स न्यूजमार्फत यस्तै चेतावनी दिएका थिए। उनले विमानस्थलहरू बन्द हुनु कुनै अतिशयोक्ति नभई यथार्थपरक सम्भावना रहेको उल्लेख गरेका थिए। होमल्याण्ड सेक्युरिटी विभाग अन्तर्गत पर्ने टिएसए एजेन्टहरूले विगत एक महिनादेखि पारिश्रमिक पाउन सकेका छैनन्।

पछिल्लो तथ्याङ्कअनुसार, गत सोमबार मात्रै १० प्रतिशतभन्दा बढी चेकपोइन्ट एजेन्टहरू बिदामा बसेका थिए, जुन सटडाउन सुरु भएपछिको सबैभन्दा उच्च दर हो। कर्मचारीहरूले तलब नपाउँदा घरायसी खर्च चलाउन समस्या भएपछि काममा अनुपस्थित हुने क्रम बढ्दो छ, जसले सुरक्षा जाँच र हवाई यात्रालाई अस्तव्यस्त बनाउँदै लगेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com