अमेरिकी अध्यागमन हिरासतमा मृत्यु हुनेको संख्या उच्च,आईसको हिरासतमा झन्डै ७० हजार


प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार

आइस अधिकारी । फाइल तस्वीर । स्रोत : अमेरिकी इमिग्रेशन एण्ड कस्टम्स इन्फोर्समेन्ट

अमेरिकाको आप्रवासन तथा भन्सार प्रवर्तनको हिरासतमा रहेका व्यक्तिहरूको मृत्युदर पछिल्लो दुई दशकयताकै उच्च विन्दुमा पुगेको छ। प्राप्त तथ्याङ्क अनुसार गत अक्टोबरदेखि यता मात्रै २३ जनाको हिरासतमा मृत्यु भइसकेको छ, जुन संख्या अघिल्लो पूरा आर्थिक वर्षको तुलनामा निकै बढी हो। पछिल्लो पटक एरिजोनाको हिरासतमा रहेका ५६ वर्षीय हाइटियन नागरिकको अस्पतालमा उपचारका क्रममा ‘सेप्टिक शक’ का कारण मृत्यु भएको थीयो।

हाल आईसको हिरासतमा झन्डै ७० हजार मानिसहरू रहेका छन्, जुन विगत केही वर्षयताकै उच्च संख्या हो। पूर्व अधिकारीहरू र अधिकारवादीहरूले हिरासतमा मानिसहरूको संख्या ह्वात्तै बढाउने तर रेखदेख र निगरानीमा कटौती गर्ने सरकारी नीतिका कारण यस्ता दुःखद घटनाहरू बढेको चेतावनी दिएका छन्। नेशनल इमिग्रेसन ल सेन्टरकी सिनियर पोलिसी काउन्सिल जेनिफर इबानेज ह्विटलकले हिरासतको अवस्थालाई ‘भयावह’ भन्दै यसलाई अमेरिकी अध्यागमन नीतिको गम्भीर विफलता बताएकी छिन्।

 हिरासत केन्द्रहरूमा भीडभाड र अस्वस्थकर वातावरणका कारण स्वास्थ्य सुविधाहरूमा गम्भीर असर परेको रिपोर्टहरूले देखाएका छन्। जनवरी महिनामा एरिजोना र टेक्सासका हिरासत केन्द्रहरूमा दादुराको संक्रमण देखिएको थियो। यद्यपि, होमल्याण्ड सेक्युरिटी विभागले हिरासतमा रहेकाहरूलाई २४ घण्टा आकस्मिक सेवा र नियमित स्वास्थ्य परीक्षण उपलब्ध गराउने दाबी गर्दै आएको छ। तर, त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरूले भने औषधी र उपचारमा ज्यान नै जोखिममा पर्ने गरी ढिलासुस्ती हुने गरेको खुलासा गरेका छन्।

कंग्रेसले अध्यागमन विभागलाई कर्मचारी भर्ना र हिरासत विस्तारका लागि करिब ७० बिलियन डलर उपलब्ध गराएको भए तापनि, निगरानी गर्ने निकायहरूमा भने कर्मचारी कटौती गरिएको छ। नागरिक अधिकार र स्वतन्त्रता सम्बन्धी कार्यालय लगायतका निगरानी संयन्त्रहरू कमजोर पारिँदा हिरासतभित्र हुने घटनाहरूको निष्पक्ष छानबिन हुन सकेको छैन। डेमोक्र्याट सांसदहरूले यी मृत्युहरू रोक्न सकिने खालका रहेको भन्दै प्रशासनको आलोचना गरिरहेका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com