इरानविरुद्ध अमेरिकी सैन्य कदमको समर्थनमा ह्वाइट हाउस बाहिर प्रदर्शन


प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गरेको सैन्य आक्रमणको समर्थनमा ह्वाइट हाउसअगाडि प्रदर्शन भएको छ। इरान सरकारको विरोध गरिरहेका प्रदर्शनकारीहरू भेला भएर ट्रम्पको कदमको समर्थनमा र्‍याली निकालेका हुन्।

प्रदर्शनमा सहभागी केही व्यक्तिहरू पहिले इरानमा बसोबास गर्दै आएका इरानी मूलका नागरिक थिए। उनीहरूले ट्रम्पको यो कदमलाई सन् १९७९ देखि कायम रहेको इस्लामिक शासन अन्त्य गर्ने अवसरका रूपमा लिएको बताएका छन्।

प्रदर्शनमा सहभागी सायरस कियान नामका एक व्यक्तिले आफ्नो जीवनको पहिलो २५ वर्ष इरानमा बिताएको बताउँदै, ट्रम्पले आकाशबाट दबाब कायम राखिरहे इरानी जनताले नै यो शासन अन्त्य गर्ने विश्वास व्यक्त गरे।

प्रदर्शनमा सहभागी धेरैले ट्रम्पप्रति कृतज्ञता व्यक्त गरेका थिए। केही प्रदर्शनकारीहरूले ‘मेक इरान ग्रेट अगेन’ (इरानलाई पुनः महान् बनाऔँ) लेखिएको रातो टोपी समेत लगाएका थिए।

प्रदर्शनकारीहरूले वर्तमान इरानी शासन अन्त्यको माग गर्दै इरानका अन्तिम शाहका निर्वासित छोरा रेजा पहलभीलाई भविष्यमा देशको नेतृत्व गर्न समर्थन गरेका छन्। सन् २००७ मा इरान छाडेकी स्वयंसेवक मरजिएह मिर्जासालेहीले भनिन्, “हामी हाम्रा शाह इरान फर्किएको देख्न चाहन्छौँ, किनकि उहाँले मात्र इरानलाई पुनः महान् बनाउन सहयोग गर्न सक्नुहुन्छ।”

प्रदर्शनका क्रममा धेरैले अमेरिकी र इरानी झण्डा मिश्रित झण्डाहरू बोकेका थिए भने केहीले ट्रम्प र पहलवी सँगै देखिएका पोस्टरहरू समेत प्रदर्शन गरेका थिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com