अमेरिकाद्वारा बेलायतको कडा आलोचना, किन रिसाए ट्रम्प ?


प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार

फोटो : एपी/रासस

अमेरिकाले बेलायतमाथि कडा टिप्पणी गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायत मध्यपूर्वको युद्धमा ढिलो गरी सहभागी हुन खोजेको भन्दै आलोचना गरेका हुन्।

उनले बेलायती प्रधानमन्त्री किर स्टार्मरलाई लक्षित गर्दै “हामीले जितिसकेपछि मात्र युद्धमा सामेल हुन खोज्ने” भनी आरोप लगाएका छन्।

सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेख्दै ट्रम्पले बेलायतले मध्यपूर्वमा आफ्ना दुईवटा विमानवाहक जहाज पठाउनेबारे गम्भीर रूपमा सोचिरहेको दाबी गरे। तर, उनले अमेरिकालाई अब त्यस्तो सहयोगको आवश्यकता नभएको पनि स्पष्ट पारे।

“बेलायत, जो पहिलेदेखि हाम्रो महान् सहयोगी थियो, अहिले मध्यपूर्वमा दुईवटा विमानवाहक जहाज पठाउने सोचमा छ। तर अब हामीलाई त्यसको आवश्यकता छैन। सहयोग गर्न खोज्नेलाई भने हामीले सम्झिरहनेछौँ,” ट्रम्पले लेखेका छन्। उनले थप्दै भने, “हामीलाई त्यस्ता देशहरूको आवश्यकता छैन, जो हामीले युद्ध जितिसकेपछि मात्र सहभागी हुन आउँछन्।”

ट्रम्पको टिप्पणीबारे बेलायती सरकारको तर्फबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन। यद्यपि, बेलायतको रक्षा मन्त्रालयले भने आफ्ना दुईमध्ये एक विमानवाहक जहाज उच्च सतर्क अवस्थामा राखिएको पुष्टि गरेको छ।

यसअघि इरान–इजरायल तनाव चर्किएपछि अमेरिकाले बेलायतका सैन्य अड्डा प्रयोग गरेर इरानमाथि आक्रमण गर्न अनुमति मागेको थियो। सुरुमा बेलायतले यसलाई अस्वीकार गरेको थियो। बेलायतको असहयोगका कारण अमेरिकी विमानहरूले धेरै टाढाबाट उडान भर्नुपरेको ट्रम्पले गुनासो गरेका थिए।

पछि परिस्थितिमा परिवर्तन आएपछि बेलायतले “रक्षात्मक कारबाही” का लागि अमेरिकालाई ‘आरएएफ फेयरफोर्ड’ (ग्लोसेस्टरशायर) र ‘डिएगो गार्सिया’ अड्डा प्रयोग गर्न अनुमति दिएको थियो। प्रधानमन्त्री स्टार्मरले भने बेलायतले “आकाशबाट शासन परिवर्तन गराउने” नीति नमान्ने स्पष्ट पार्दै आफ्नो निर्णय राष्ट्रिय हितमा आधारित रहेको बताएका छन्।

यसबीच अमेरिकाका बी–१ बमवर्षक विमानहरू बेलायतको आरएएफ फेयरफोर्डमा अवतरण गरेको पनि देखिएको छ। अमेरिका र बेलायतबीचको “विशेष सम्बन्ध” कमजोर भएको हो कि भन्ने प्रश्न उठिरहेका बेला स्टार्मरले भने दुवै देशबीचको सहकार्य अझै कायम रहेको बताएका छन्। उनले दुवै देशबीच २४सै घण्टा खुफिया जानकारी आदान–प्रदान भइरहेको उल्लेख गरेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्प र स्टार्मरबीचको पछिल्लो विवादले दुवै देशबीच कूटनीतिक तनाव बढेको सङ्केत गरेको विश्लेषकहरू बताउँछन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com