संघीय अधिकारीहरूले मास्क लगाउन नपाउने क्यालिफोर्नियाको कानुनलाई न्यायाधीशद्वारा अस्वीकार
प्रकाशित मिति : माघ २७, २०८२ मंगलबार
फोटो : एपी/रासस
अमेरिकाको लस एन्जलसका एक संघीय न्यायाधीशले ड्युटीमा रहेका संघीय अधिकारीहरूले मास्क लगाउन नपाउने क्यालिफोर्निया राज्यको कानुनलाई प्रारम्भिक रूपमा खारेज गरेका छन्।
अमेरिकी जिल्ला न्यायाधीश क्रिस्टिना स्नाइडरले उक्त कानुन अमेरिकी संविधानसँग मेल नखाने सम्भावना रहेको ठहर गर्दै यसको कार्यान्वयन रोक्न आदेश दिएकी हुन्। तर, उनले संघीय अधिकारीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा अनिवार्य रूपमा पहिचान खुलाउनुपर्ने अर्को कानुनलाई भने कायम राखेकी छन्।
क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमले पहिचानसम्बन्धी कानुनलाई अदालतले समर्थन गर्नु कानूनको शासनका लागि सकारात्मक निर्णय भएको बताएका छन्। उनले “पहिचान र नाम बिना जिम्मेवारी सम्भव हुँदैन” भन्दै प्रतिक्रिया दिएका छन्।
उता, अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले मास्कसम्बन्धी कानुन खारेज हुनु अदालतको महत्वपूर्ण विजय भएको बताएकी छन्। उनले संघीय अधिकारीहरूले आफ्नो काम गर्दा बारम्बार उत्पीडन र आक्रमणको सामना गर्नुपरेको उल्लेख गरेकी छन्।
रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन कार्यान्वयनविरुद्ध भएका प्रदर्शनका क्रममा लस एन्जलसमा नेशनल गार्ड परिचालन गरेपछि गभर्नर न्युसमले उक्त कानुनी प्रावधानमा हस्ताक्षर गरेका थिए। त्यसपछि अमेरिकी डिपार्टमेन्ट अफ जस्टिसले उक्त कानुनविरुद्ध मुद्दा दायर गरेको थियो।
न्यायाधीश स्नाइडरले क्यालिफोर्नियाको मास्कसम्बन्धी कानुनले अमेरिकी संविधानको सुप्रेमेसी क्लज उल्लङ्घन गरेको ठहर गर्दै राज्यले संघीय कामकाजमा हस्तक्षेप गर्न नपाउने स्पष्ट पारेकी छन्।






